सरकारको प्रथामिकतामा परेन नाग्म-गमगढी सडक

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । आन्तरिक तथा बाह्य पर्यटनको रोजाईमा परेको मुगु स्थित रारा ताल जाने नाग्म-गमगढी सडक सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को नयाँ बजेटमा प्रथामिकतामा परेको छैन । संघ सरकारले ल्याएको नयाँ आर्थिक वर्षको बजेटमा रारा ताल जाने नाग्म-गमगढी सडक समेटिएन।

यो सडक स्तरोन्नति नहुँदा सवारी दुर्घटना हुने गरेको छ । वर्षौँदेखि स्थानीय र पर्यटकले समेत सास्ती पाउँदा पनि दुर्गम जिल्लाको सडकले बजेटमा स्थान नपाएकोमा यहाँका स्थानीयवासि असन्तुष्टि बढेको सिंजा गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयाे,-'नयाँ बजेटमा नाग्म सिंजा गमगढी सडकमा रकम बिनियोजन नहुनु दुखको कुरा हो । जुम्ला र मुगु बाट प्रतिनिधित्व गर्नु हुने माननीय ज्युहरुले तत्काल यस बिषयमा अर्थमन्त्री को ध्यानाकर्षण गरेर सँसोधन हाल्नु पर्ने देखिन्छ । सँसदमा बोलेर मात्र हुदैन प्रभावकारी समन्वयको आवश्यकता छ । यो बाटोमा प्रदेशले रकम हाल्दैन । रारा जाने बाटो कालोपत्र गर्न सरकारको ध्यान गएको छैन ।'

पर्यटन भित्र्याउनमा निकै सकस हुने गाउँपालिका अध्यक्ष धितालको भनाइ छ । कर्णाली राजमार्ग हुँदै नाग्म-गमगढी सडक भएर नेपालकै सबैभन्दा गहिरो रारा ताल पुगिन्छ। यो सडकले जुम्लाका हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिका भएर जाने गरेको छ । यो सडक खुलेको लामो समय भइसक्दा पनि कालोपत्रे नहुँदा हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य हुने गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लाको कनकासुन्दरी गाउँपालिका-१ का वडाध्यक्ष भीम भण्डारीले नाग्म-गमगढी सडक स्तरोन्नति नहुँदा रारा ताल पुग्ने पर्यटकलाई सास्ती हुने गरेको बताउनुभयाे । रारा जाने नाग्म-गमगढी सडक कालोपत्र नहुदा रारा पुग्ने पर्यटकलाई सास्ती भएको छ । यो याममा विशेषगरी आन्तरिक पर्यटक रारा पुग्ने गरेका छन् ।

नाग्म गमगढी सडक कालोपत्र नभएको कारण पर्यटकलाई निकै सास्ती हुने गरेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख विश्वबाबु श्रेष्ठले जानकारी दिनुभयो । अहिले रारा घुम्न आउने पर्यटनको संख्यामा वृद्धि भएको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ । कालोपत्रको लागि बजेट विनियोजित नभएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?