नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह

Read Time = 11 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी बढाउन भारतीय उद्योगी-व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले बिहीबार साँझ नयाँदिल्लीमा आयोजना गरेको ‘नेपाल-भारत बिजनेस समिट’लाई सम्बोधन गर्दै उहाँले नेपालमा लगानीमैत्री वातावरण भएकाले खुला हृदयसाथ लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘नेपाल सरकारले नीतिगत, कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको छ । लगानीमैत्री वातावरण बनाउन र लगानी भित्र्याउन सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार छ ।’ भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलले दुर्ई देशबीचको सम्बन्ध राजनीतिक वा भूराजनीतिक वा आर्थिक मामिलामा मात्र सीमित नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग साझा इतिहास छ । गहिरो सांस्कृतिक आत्मीयता र बलियो मित्रता छ, यो साझेदारी र मित्रता होइन, यो एक परिवार हो । हामी भारतबाट नेपाल र नेपालबाट भारतमा धेरै व्यापार र लगानी प्रवाह भएको देख्न चाहन्छौँ । म विश्वस्त छु कि हामी दुवै देशका बालबालिकाको साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर काम गर्न सक्छौँ ।’

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीमैत्री नीति, नियम तथा कानुनी सुधारमा भइरहेका प्रयासले अहिले नेपालमा लगानी गर्ने उपयुक्त समय रहेको बताउनुभयो । उहाँले नेपालमा रहेका भारतीय कम्पनीहरूले राम्रो नाफा आर्जन गरिरहेको दृष्टान्त प्रस्तुत गर्नुभयो । ढकालले नेपालका ऊर्जा, जलस्रोत, कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार विकासमा लगानी गर्न सकिने जानकारी दिनुभयो । भारतीय उद्योग परिसंघका अध्यक्ष आर दिनेशले दुई देशबीचको भौगोलिक निकटताको लाभ उठाउन र पारस्परिक विकासका लागि एकअर्काको बजारका अवसर छोप्नसमेत उद्योगी-व्यवसायीहरूलाई आग्रह गर्नुभयो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण तेस्रोजस्तो ठूलो आयोजनाको सफल कार्यान्वयनले नै नेपाल लगानीका लागि सहज छ भन्ने स्पष्ट सन्देश दिएकोे बताउनुभयो ।

दर्जन क्षेत्रमा सहकार्यको घोषणा
नेपाल र भारतका व्यावसायिक संघसंस्थाका विशिष्ट प्रतिनिधिहरू सम्मिलित भारत-नेपाल संयुक्त व्यापार मञ्चको पहिलो बैठकले एक दर्जन क्षेत्रमा सहकार्य गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण दलमा सहभागी नेपाली व्यवसायी र भारतीय समकक्षी व्यवसायीबीच बिहीबारको पहिलो औपचारिक बैठकपछि यस्तो सहकार्यको घोषणा गरिएको हो । दुई देशीय संयुक्त व्यापार मञ्चले कृषि उत्पादन, औषधि, अटोमोबाइल, औद्योगिक मेसिनरी, पेट्रोलियम र पेट्रोकेमिकल्स, ऊर्जा, सेवा, उत्पादन तथा यातायात र पूर्वाधार विकासजस्ता आपसी हितका क्षेत्रमा सहयोग प्रवद्र्धनको काम गर्ने जनाएको छ ।

‘नेपाल सरकारले नीतिगत, कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको छ । लगानीमैत्री वातावरण बनाउन र लगानी भित्र्याउन सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार छ ।’

मञ्चमा नेपालतर्फबाट उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका पूर्वअध्यक्षलगायतका व्यवसायी र भारततर्फबाट भारतीय उद्योग परिसंघलगायतका संघसंस्थाबाट प्रतिनिधित्व रहेको छ । भारत-नेपाल संयुक्त व्यापार मञ्चले दुर्ई देशबीचको व्यापारिक सहयोग अभिवृद्धि र सहकार्यको सम्बन्ध र साझेदारी निर्माणका लागि सामूहिकरूपमा रोडम्याप विकास गर्ने प्रयास गरेको छ । भारतीय उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघलाई क्रमशः फोरमको आधिकारिक सचिवालय नियुक्त गरिएको छ । नवीकरणीय ऊर्जा, कार्बन उत्सर्जन, यातायात पूर्वाधार (सडक र रेलवे), इञ्जिनियरिङ, उच्च शिक्षालगायतका क्षेत्रमा सीप विकास दुवै मुलुकका व्यवसायीको प्राथमिकतामा रहेको छ ।

वातावरणीय सेवा, खाद्य तथा पेयपदार्थ, निर्माण तथा कृषि मेसिनरी, शहरी विकास, सूचना प्रविधि सेवा, चिकित्सा तथा स्वास्थ्य प्रविधि र समग्र पर्यटन पूर्वाधार विकासलाई दुई देशका लागि आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसरका क्षेत्रका रूपमा पहिचान गरिएको छ । बैठकले सातबुँदे घोषणापत्रसमेत जारी गरेको छ । बैठकपछि सहअध्यक्षका रूपमा नेपालतर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा र भारतीय उद्योग परिसंघतर्फबाट श्रीकान्त माधव वैद्यले जारी गरेको अवलोकन र सिफारिसपत्रमा दुर्ई पक्षबीचको द्विपक्षीय व्यापारलाई दिगो सुनिश्चित गर्न विविधीकरण गर्न आवश्यक रहेको उल्लेख छ ।

दुर्ई देशबीचको अधिक व्यापार र लगानी प्रवद्र्धनको आवश्यकता औंल्याउँदै नेपालमा भारतीय लगानीलाई प्रवद्र्धन गर्न भारतका प्रमुख शहरमा लगानीको रोड शो गरेर प्रोत्साहन गर्न सकिने बताइएको छ । विस्तारित लगानी प्रवद्र्धन पहललाई स्वागत गर्न र सम्बन्धित देशमा निजी क्षेत्रको लगानीका अवसरबारे थप सचेतना सुनिश्चित गर्न प्रयास गरिने पनि सम्झौतामा उल्लेख छ । भारतले सन् २०७० सम्ममा आफ्नो उत्सर्जनलाई शून्यमा झार्ने वाचा गरेकाले प्रतिबद्धताका कारण नवीकरणीय ऊर्जा क्षेत्रले नयाँ गति हासिल गरेको जनाइएको छ ।

जलविद्युत् क्षेत्रमा नेपालको प्रचुर सम्भावना रहेको र नेपालसँगको सहकार्यले भारतलाई आफ्नो शुद्ध शून्य उत्सर्जन लक्ष्य छिटो हासिल गर्न मद्दत गर्न सक्ने संयुक्त बैठकको निष्कर्ष छ । दुर्ई मुलुकबीच सबैभन्दा आकर्षक क्षेत्रमध्ये रहेको पर्यटनलाई प्राथमिकतामा राखिएको छ । बैठकले दुई देशबीचको व्यापार अघि बढाउन मापदण्ड र नियम थप सुव्यवस्थित हुनुपर्ने निष्कर्ष निकालेको छ ।

इण्डियन आयलले लुब्रिकेन्ट उद्योग खोल्ने
गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले इण्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इण्डियन आयल माउरिसस लिमिटेडसँगको संयुक्त लगानीमा नेपालमा सर्भो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त ल्युब ब्लेन्डिङ प्लान्ट २०२४ को अन्त्यसम्ममा तयार हुने अपेक्षा गरिएको छ । जसका लागि दुवै कम्पनीले ५०/५० प्रतिशत संयुक्त लगानी गर्ने सम्झौता भएको छ । संयुक्त लगानीको पहिलो चरणअन्तर्गत आधिकारिक पुँजी लगानी करिब ६० करोड बराबर हुनेछ ।

आरम्भिक उद्योग स्थापनामात्र नभई संयुक्त लगानीले नेपालको बढ्दो अर्थतन्त्रको विकासका आवश्यकता पूरा गर्न भविष्यमा विस्तार, रणनीतिक साझेदारी र उत्पादन लाइन विविधीकरणको परिकल्पनासमेत गरेको छ । सो अवसरमा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले भन्नुभयो, ‘भारतकै सबैभन्दा ठूलो कम्पनी इण्डियन आयलसँगको हाम्रो लामो सहयात्रा शुभारम्भ भएको छ । यो पहिलो खुड्किला हो र भविष्यमा अन्य थप उद्योग स्थापना गर्ने बृहत् योजना छ । यो सहकार्यले नेपाली उद्योगी र उद्योगको इतिहासमा एउटा महत्वपूर्ण कोसेढुंगा थपेको छ । हामी यो साझेदारी र यसले नेपालको औद्योगिक क्षेत्रमा ल्याउने परिवर्तनलाई लिएर अत्यन्तै उत्साहित छौँ ।’ ‘मेड इन नेपाल’को परिकल्पना साकार पार्न र लुब्रिकेन्ट उद्योगमा प्रविधिको विकास गर्न ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना महत्वपूर्ण कोसेढुंगा मानिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?