काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट फर्केपछि चीन भ्रमणमा जानुहुने भएको छ । हाल भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँले आगामी जुलाई अन्तिम वा अगष्ट (असार) पहिलो साता चीन भ्रमणको सम्भावना रहेको सन्देश पठाउनुभएको छ । चीन भ्रमणमा गएको नेकपा (माओवादी केन्द्र)का नेताहरूको टोलीमार्फत प्रधानमन्त्री प्रचण्डले आगामी महिना चीन भ्रमण हुने सम्भावना रहेको सन्देश पठाउनुभएको हो । माओवादीका नेताहरू जेठ ५ गते चीन भ्रमणमा गएका थिए । उनीहरू बिहीबार स्वदेश फर्किएका छन् ।
माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वमा २० सदस्यीय टोली चीन गएको थियो । भ्रमण दलमा माओवादी केन्द्रका उपाध्यक्ष सापकोटासहित पार्टी सचिवहरू हितमान शाक्य, गणेश साह र डिलाराम आचार्य प्रदेश अध्यक्षहरू तथा केन्द्रीय नेताहरू रहेका थिए । भ्रमणका क्रममा टोलीले प्रधानमन्त्री प्रचण्डको भ्रमणबारे सन्देश चीनसमक्ष पुर्याएको हो । आफूहरूले जुलाई अन्तिम वा अगष्ट पहिलो साता प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण हुनसक्ने सम्भावना रहेको सन्देश पुर्याएको सापकोटाले बताउनुभयो । ‘भ्रमणअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेको थिएँ । तपाईंको सन्देश के छ ? भनेर सोध्दा उहाँले जुलाईको अन्तिम वा अगष्टको फस्टमा चीनको भ्रमण सम्भावना छ भन्नुभएको थियो,’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘त्यही सन्देश हामीले उता (चीन) पुर्याएका छौँ ।’
शान्ति प्रक्रिया टुंग्याउने विषयमा चीनको चासो
शान्ति प्रक्रियाको बाँकी रहेका काम टुंग्याउने विषयमा चीन सरकारले चासो देखाएको छ । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने कुरामा चीनको चासो रहेको माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले बताउनुभयो । चीन भ्रमणबाट फर्किनुभएका उहाँले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने कुरामा चीन सरकार आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता भ्रमणका क्रममा गरेको बताउनुभयो । ‘विश्व शान्तिका लागि चीनले जो पहल गरिरहेको छ, यसमा हाम्रो पनि स्वाभाविक पहल कदमी हुनुपर्नेछ,’ उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रियालगायत कुराहरू पनि महत्वपूर्ण विषयका विस्तृत छलफल भएको छ । उहाँहरूले नेपालको शान्ति प्रक्रियाबारे पनि चासो राख्नुभएको थियो । हामीले तपाईंहरूले सहज गर्नुपर्छ भनेका छौँ । उहाँहरूले हामीले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन जस्तोसुकै सहयोग गर्न पनि तयार छौँ भन्नुभएको छ ।’ चीन र नेपाल सम्बन्धलाई मैत्रीपूर्ण, सौहाद्र र घनिष्ठ बनाउँदा विश्व राजनीतिमा महत्वपूर्ण भूमिका खेल्नसक्ने उहाँको भनाइ छ ।
चीनले नेपालका कम्युनिष्टहरू मिलून् भन्ने चाहन्छ : सापकोटा
माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले चीनले नेपालका कम्युनिष्टहरू मिलून् भनेर सद्भाव र सन्देश पठाएको बताउनुभएको छ । चीनको भ्रमणबाट फर्केपछि उहाँले नेपालका कम्युनिष्टहरू मिलून् भन्ने चीनको चाहना रहेको बताउनुभयो । एउटा कम्युनिष्ट पार्टीले छिमेकी देशको अर्को कम्युनिष्ट पार्टीलाई सद्भाव राख्नु स्वाभाविक भएको उहाँको भनाइ छ ।
‘चीनले नेपालका कम्युनिष्टहरू मिलून् भन्ने चाहन्छ, त्यही सन्देश छ,’ उहाँले भन्नुभयो, ‘तर, उहाँहरूले पटक-पटक निर्णय लिनेचाहिँ तपाईंहरूले नै हो है भनेर भन्नुभएको छ । त्यसमा कुनैखाले हस्तक्षेप नगर्ने उहाँहरूको प्रतिबद्धता छ ।’ उहाँले अस्थिर राजनीतिका कारण नेपाल कमजोर बनेको बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका