कविता : राहु

Read Time = 1 min

✍️ पदम दाहाल

सुवासनामा किन रम्रमाएँ ?
रवाफ रोजी अझ जम्जमाएँ
म तिर्सनाले हद छट्पटाएँ
हराउँदै मानवता गुमाएँ ।

म कल्पना भै अति फुर्फुराएँ
म वेदना बोक्न परै उदाएँ
म वन्चना वेष्टनमा रमाएँ
कथा-व्यथा जोड्न खुबै सघाएँ ।

म यातना दी सुखमा हराएँ
धराप धक्का धित धाक लाएँ
प्रपञ्चना बुन्न ऋचा रचाएँ
बिलाउँदा मानव ज्ञान पाएँ ।

विभेदना बल्झन सुम्सुम्याएँ
अनाथका क्रन्दन गीत गाएँ,
कला गलाको करुणा मिसाएँ
जगार गैह्रो असमेल पाएँ ।

चरक्क घाचोट थिए सताएँ
विनाशको सागरमा डुबाएँ
विरक्तिका दुर्दिन कृत्य ल्याएँ
विडम्बना मानवता दबाएँ ।

नबिर्सिने बर्वरता सजाएँ
नबर्सियो बादल बाढ ल्याएँ
म राहु भै साहु जुनी कटाएँ
हताहती आहत हात लाएँ ।

मादी, सखुवासभा
हालः लोकन्थली,भक्तपुर ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?