आमाहरू बारेको फरक पुस्तक

सुशीला घिमिरे
Read Time = 6 mins

मेरो हातमा एउटा फरक शैलीको पुस्तक छ ‘पर्दाभित्र लुकेका अर्घाखाँचीका आमाहरू’ । यो संस्मरण ग्रन्थ हो भनिएको छ । त्यसकारण यहाँ विभिन्न लेखकले आ-आफ्ना परिवारका अग्रज आमा हजुरआमासन्बन्धी संस्मरण लेख्नुभएको छ भन्ने थाहा हुन्छ । यो अत्यन्त अनुकरणीय काम हो । अर्घाखाँचीका अग्रणी व्यक्तिहरूबाट यस प्रकारको जुन काम भएको छ यो सबैतिरका लेखक सम्पादकबाट पनि हुनुपर्ने आवश्यकता देखिन्छ । आमा भनेकै संसारका स्रष्टा, द्रष्टा र परिपालक हुन्, माया, ममता र स्नेहका अजस्र स्रोत हुन् । यो पुस्तक विभिन्न लेखकहरूको संस्मरण सङ्ग्रह हो । यसलाई सङ्गृहीत गरेर सम्पादनको काम नारायण भट्टराई, डा.युवराज पाण्डे, इ.चन्द्रकान्त आचार्य र हेमराज पाण्डेले गर्नुभएको छ ।

नारायण भट्टराई सम्पादन समूहको संयोजक र अरू तीनजना सदस्य रहनुभएको छ । यो पुस्तक प्रथम संस्करणका रूपमा-२०७८ सालमा प्रकाशित भएको छ र यस संस्करणमा १३०० प्रति छापिएको उल्लेख छ । सर्वाधिकार सम्पादक समूहमा सुरक्षित छ । भूमिका खण्डका १२ र पाठ्य खण्डका ४५२ गरी पुस्तकमा जम्मा ४६४ पृष्ठ रहेका छन् । पुस्तकको मूल्य संस्थागत रूपमा ५५० रुपैयाँ भनिएको हुँदा व्यक्तिगत रूपमा निःशुल्क वितरण हो कि भन्ने अनुमान गर्न सकिन्छ । पुस्तकको लेआउट र मुद्रण लुम्बिनी प्रिन्टिङ सर्भिसेज प्रा.लि.शङ्खमूल, काठमाडौंमा भएको छ । पुस्तक डिएमआई साइजमा छ र स्तरीय तौलयुक्त पहेंलो कागजको प्रयोग गरिएको छ । छपाइ स्तरीय छ, तर अशुद्धिहरू भने कतै-कतै पाइन्छन् ।

आमाप्रतिको श्रद्धा, सम्मान र आस्था प्रकट गरेर लेखिएको यस ग्रन्थको ठूलो महत्व छ । यो अत्यन्तै सराहनीय काम हो । यस्तो अनुकरणीय काम अरूले पनि गर्ने हो भने आफ्नो परिवार, समाज तथा आफ्नो भेगका आमा हजुरआमाहरूप्रति सम्मान प्रकट हुन सक्छ ।

आवरणमा पुस्तकको शीर्षकसँग मेल खाने गरी खोलेको पर्दा र त्यसभित्र ३९ जना आमाहरूका तस्वीरहरू छन् । माथि मन्दिरको फोटो छ सम्भवतः अर्घाखाँची जिल्लामा पर्ने प्रसिद्ध देवी सुपादेउराली मताको मन्दिर हुनुपर्छ यो । बीचमा पहेंलो पृष्ठभूमिमा राता ठूला अक्षरमा पुस्तकको शीर्षक ‘पर्दाभित्र लुकेका आर्घाखाँचीका आमाहरू’ लेखिएको छ र त्यससँगै साना काला अक्षरमा ‘संस्मरण ग्रन्थ’ २०७८ लेखिएको छ । आवराण पृष्ठको भित्र प्रसिद्ध कवि जो अर्घाखाँचीकै हुनुहुन्छ हेमराज पाण्डे उहाँको चार श्लोकको ‘आस्थाका पूmलका गुच्छा’ शीर्षकको कविता ।

पुस्तकको पृष्ठ आवरण पनि आकर्षक छ । माथि आकाश, त्यसमुनि हिमाल र त्यसमुनि अर्घाखाँचीमै रहेको महाभारतकालीन बर्बरिकको शीर समाधिस्थ मन्दिरको फोटो रहेको छ । भूमिका खण्डमा सम्पादकीय र प्रकाशकीय छन् । त्यसपछि विषयसूची रहेको छ । विषयसूची अनुसार यस पुस्तकमा विभिन्न ४१ जनाका लेखहरू समावेश भएको जानकारी पाइन्छ र विभिन्न ४१ जनाकै बारेमा यी लेख कन्द्रित छन् । तर, बाहिर आवरणमा ३९ जनाका मात्रै फोटा राखिनुले दुईजनाका फोटा उपलब्ध हुन नसकेको भन्ने अन्दाज गर्न सकिन्छ । जुन विषयको जानकारी सम्पादक समूहले द्रष्टव्यमा गराउनु भएको पनि छ ।

यहाँ शान्ता मानवी, इ.चन्द्रकान्त आचार्य, डा.मुक्ति रिजाल, डा.युवराज भुसाल, डा.युवराज पोखरेल, प्रा.डा.होमनाथ भट्टराई, नारयण भट्टराई, इ.विष्णुबहादुर सिंह, हेमराज पाण्डे, डा.युवराज पाण्डेलगायत व्यक्तिहरूका लेख समावेश गरिएको छ । आमा बालकका लागि विद्यालय र महाविद्यालयसमेत हुन् । यसरी हेर्दा आमा नै सबैथोक हुन् आमा नहुनेभए संसार पनि हुने थिएन ।

त्यसैले आमाप्रतिको यो श्रद्धा, सम्मान र आस्था प्रकट गरेर लेखिएको यस ग्रन्थको ठूलो महत्व छ । यो अत्यन्तै सराहनीय काम हो । यस्तो अनुकरणीय काम अरूले पनि गर्ने हो भने आफ्नो परिवार, समाज, तथा आफ्नो भेगका आमा हजुरआमा तथा अन्य अनुकरणीय काम गर्ने महिलाहरूप्रति सम्मान प्रकट हुनसक्छ । अर्घाखाँचीका अग्रजहरूले यस्तो कल्पना गर्नुभएको र त्यसलाई साकार पार्नुसमेत भएका कारण सम्पादक, लेखक तथा यसमा संबद्ध सबैलाई हार्दिक बधाई, धन्यवाद तथा आगामी दिनमा यस्ता अन्य प्रेरक सिर्जनाका लागि शुभकामना ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
भट्टराई बन्धु
भट्टराई बन्धु
2023-06-03 11:00 am

सुशीला घिमिरेज्यूले हाम्रो प्रकाशन पढेर आफ्नो धारणा राखी दिनु भएकोमा आभार व्यक्त गर्दछु |

रिलेटेड न्युज

छुटाउनुभयो कि ?