एमालेले प्रधानमन्त्रीले भारत भ्रमणमा दिएको अभिव्यक्तिप्रति संसदमा जवाफ माग गर्ने

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा गैर जिम्मेवार र राष्ट्रहीत विपरित अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने भएको छ ।

शनिवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीले पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा सञ्चारकर्मीहरुसँग फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्ने अभिव्यक्ति दिनुभएको थियो । अहिले प्रधानमन्त्रीको सो अभिव्यक्तिको बिरोध भइरहेको छ । पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भरत भ्रमणका क्रममा देशहीतका कुनै विषय उठान गर्न नसकेको बताउनु भयो ।

उहाँले प्रधानमन्त्रीले भारत भ्रमणअघि संसदमा उठान गर्ने भनेका विषयहरु किन उठाउन नसकेको भन्ने प्रश्न गने बताउनु भयो । उहाँले प्रधानमन्त्रीको भारत भ्रमण निराशाजनक भएको र भारत भ्रमण तीर्थाटन जस्तो भएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको गरिमामा आँच भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बजेटका बारेमा भोलिबाट छलफल शुरु हुँदैछ । हाम्रो माननीय सांसदहरुको भुमिका कसरी प्रभावकारी बनाउने ? भन्ने र बजेटमा के कमी छन्, कहाँ कमजोरी छन् भन्ने बारेमा अहिले मुलुकको अवस्थालाई बजेटले सम्बोधन हुन सकेको छ, छैन भन्ने बारेमा विज्ञहरुबाट धेरै प्रस्ट पार्नुभएको छ । त्यसमा हामीले अन्तरक्रियात्मक ढंगले छलफल पनि गरेका छौँ । पार्टीको अध्यक्ष, संसदीय दलको नेताले समग्र मुलुकको अहिलेको राजनीतिक अवस्था, बजेट वक्तव्य, अर्थतन्त्र, जनताको अपेक्षाका सन्दर्भमा बजेटले पार्न नसकेका विभिन्न पक्षहरुको बारेमा आफ्ना धारणा राख्नुभयो । प्रधानमन्त्रीले भारत भ्रमणमा देशको हीतको पक्षमा बोल्न सक्नुभएन । हाम्रा मुलुकका सीमा समस्या, त्यस विषयलाई पनि उठाउन सक्नुभएन । इपीजी जुन थियो, त्यसका प्रतिवेदन बुझ्ने सवालमा जुन ढंगले विषय उठाउन सक्नुपर्दथ्यो, यी विषयहरु पनि उहाँले उठाउनु भएन । देशको हीतको पक्षमा बोल्ने काम भएन । देशको स्वार्थको बारेमा बोल्नुपर्नेमा तीर्थाटनमा गएको हो की जस्तो देखियो । भ्रमण निराशाजनक छ । यहाँ जसरी प्रतिवद्धता जनाउनुभएको थियो, त्यसलाई ध्यान दिनुभएन । संसदमा हामी अब सीमा समस्या, इपीजीका बारेमा किन बोल्न सक्नुभएन । इपीजीको प्रतिवेदन बुझ्ने सवालमा किन उहाँले बोल्न सक्नुभएन ? हाम्रो सीमा समस्याका बारेमा किन बोल्न सक्नुभएन ? फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा त्यो बाटो दिए नेपालको भूमीसम्म दिन तयार छौँ भन्ने प्रकारको यस्तो गैर जिम्मेवार, राष्ट्रहीत विपरित, राष्ट्रघातका कुराहरु किन त्यस्ता अभिव्यक्ति दिनुभयो । त्यसले देशको गरिमामा आँच आएको छ । सिंगो नेपाली जनताको शिर निहुरिएको छ । यी सबै विषय हामीले सघन ढंगले सदनमा उठाउँछौँ । प्रधानमन्त्रीसँग जवाफ माग्छौँ ।’
प्रमुख सचेतक गिरीले प्रमुख सचेतक गिरीले धरातलीय यथार्थलाई नबुझीकन बजेट ल्याइएको दाबी गर्नुभयो । बजेट गन्तव्यहीन र प्रतिगमनतिर फर्काएर लैजाने किसिमको रहेको बताउनु भयो ।

त्यस्तै उहाँले नागरिकता विधेयक प्रमाणिकरण गर्नु असंवैधानिक कदम भएको र राष्ट्रपतिलाई असंवैधानिक काम गर्न मन्त्रीपरिषद्ले बाध्य पारेको भन्दै राष्ट्रपतिले ख्याल नगरी संसद छलेर नागरिकता विधेयक ल्याएकोप्रति बिरोध गर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?