नेपाल पराजित भएसँगै रोमाञ्चक मोडमा सिरिज

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । मलेसियासँग जारी टी-२० अन्तर्राष्ट्रिय सिरिजको चौथो खेलमा नेपाल पराजित भएसँगै सिरिज रोमाञ्चक मोडमा पुगेको छ । शनिबार भएको सिरिजको चौथो खेलमा मलेसियासँग चार विकेटले पराजित भएसँगै पाँच खेलको सिरिज दुई-दुईको बराबरी अवस्थामा पुगेको हो ।

अब अन्तिम खेलमा जुन टोलीले जित हात पार्‍यो, सिरिज उसैको पोल्टामा हुनेछ । जितका लागि ९७ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । मलेसियाको जितमा ओपनर विनिफ्रेड आनी दुराईसिंघमले ५२ बलमा दुई चौकासहित सर्वाधिक ३८ रनको योगदान दिनुभयो ।

त्यसबाहेक मलेसियाका कप्तान मास एलिसाले १८ बलमा एक चौकासहित १३ रन जोड्नुभयो । महिराह इजाती इस्माली २६ बलमा दुई चौकासहित १६ रनमा आउट हुनुभयो ।

अन्तिम दुई बलमा जितका लागि मलेसियालाई दुई रन आवश्यक परेका बेला अन्तिम बलमा आरियानाले चौका प्रहार गर्दै मलेसियालाई जित दिलाउनुभएको थियो । अरियाना १५ बलमा एक चौकासहित १२ रनमा नटआउट रहनुभयो ।

नेपालकी कविता जोशीले चार ओभरमा १४ रन खर्चेर एक विकेट लिनुभयो । रुविना क्षेत्रीले चार ओभरमा १३ रन खर्चेर एक विकेट लिनुभयो । सीता रानामगरले तीन ओभरमा १५ रन खर्चेर एक विकेट लिनुभयो । कविता कुँवरले चार ओभरमा २३ रन खर्चेर एक विकेट लिनुभयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९६ रन बनाएको थियो । नेपालको मध्यक्रमकी ब्याटर तथा उपकप्तान इन्दु बर्माले ३१ बलमा तीन चौकासहित सर्वाधिक ३२ रन बनाउनुभयो ।

यस्तै, विन्दु रावलले २६ बलमा एक चौकासहित २४ रन बनाउनुभयो । नेपालले १०.४ ओभरमा ३३ रनमात्रै जोडेर पाँच विकेट गुमाइसकेको थियो । त्यहाँबाट विन्दु रावल र इन्दु बर्माले छैटौँ विकेटका लागि ३५ रनको महत्वपूर्ण साझेदारी गर्नुभयो । नेपालकी ओपनर काजोल श्रेष्ठले १३ बलमा ६ रन, ज्योति पाण्डेले ६ बल खेल्दै एक रनमात्रै जोड्न सक्नुभयो ।

नेपालकी फिनिसर कविता जोशी १३ बलमा १२ रनमा नटआउट रहनुभयो । मलेसियाकी विनिफ्रेड आनीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिनुभयो । महिराह इजाती इस्माली र एशया एलिसाले समान एक विकेट लिनुभयो ।

नेपाल पहिलो खेलमा पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल सात विकेट र तेस्रो खेलमा २७ रनले विजयी भएको थियो । पाँचौँ तथा अन्तिम निर्णायक खेल आइतबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?