शहीद स्मारक ‘ए’ डिभिजन लिग : हारबाट जोगियो थ्रीस्टार

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । खेलको अन्त्यतिर गरेको गोलका कारण थ्रीस्टार क्लब हारबाट जोगिएको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार भएको खेलमा थ्रीस्टारले विभागीय नेपाल एपिएफ क्लबसँग एक-एक गोलको बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको २३औँ मिनेटमा मणिकुमार लामाको गोलबाट एपिएफले अग्रता लियो । कप्तान नवीन लामाले दिएको पासमा पेनाल्टी बक्सबाहिरबाट उहाँले गोल गर्नुभएको थियो ।

८६औँ मिनेटमा सुनिल तामाङले गोल गर्दै थ्रीस्टारलाई खेल एक-एक गोलको बराबरीमा ल्याउनुभयो । योगेश गुरुङले दिएको क्रसलाई सुनिलले वान टचमा पोस्टको दिशा दिनुभएको थियो । थ्रीस्टारले पाँच खेलपछि पहिलो गोल गर्न सफल भएको हो । थ्रीस्टार पछिल्लो १३ खेलसम्म जितविहीन बनेको छ । संकटालाई ३-० ले पराजित गरेयता थ्रीस्टारले जित निकाल्न सकेको छैन । जसमा थ्रीस्टारले सात बराबरी र ६ हारको नतिजा निकालेको छ ।

यस बराबरीसँगै थ्रीस्टार २४ खेलबाट २८ अंक जोडेर ११औँ स्थानमा छ । थ्रीस्टार रेलिगेसन क्षेत्रमा रहेको टोलीभन्दा तीन अंकले मात्रै अघि छ । एपिएफ २४ खेलबाट ३० अंक जोडेर सातौँ स्थानमा छ । यस्तै, सातदोबाटो युथ क्लबले विभागीय त्रिभुवन आर्मीलाई पराजित ग¥यो । सातदोबाटोले आर्मीलाई दुई–एक ले हराएको हो । सातदोबाटोको जितमा शिव सुवेदी र दिपेन्कराज सिंह ठकुरीले गोल गर्नुभयो । आर्मीका नवयुग श्रेष्ठले एक गोल फर्काउनुभयो ।

च्यासलस्थित च्यासल मैदानमा शनिबार भएको खेलको दोस्रो मिनेटमा नै शिव सुवेदीले गोल गर्दै सातदोबाटोलाई १-० को अग्रता दिलाउनुभयो । २९औँ मिनेटमा नवयुगले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो । २१औँ मिनेटमा आर्मीले पेनाल्टी पायो । जसमा नवयुग श्रेष्ठको पेनाल्टीलाई सातदोबाटोका गोलरक्षक अभिषेक रिजालले बचाउनुभएको थियो । तर, रिवाउण्डमा नवयुग गोल गर्न सफल हुनुभयो ।

त्यसपछि ६३औँ मिनेटमा दिपेन्कराज सिंह ठकुरीले पेनाल्टीमा गोल गर्दै सातदोबाटोलाई दुई-एक को अग्रता दिलाउनुभयो । पेनाल्टी बक्समा दीपक गुरुङले सुरज गुरुङबाट पाएको पेनाल्टीमा उहाँले गोल गर्नुभएको थियो । यस जितसँगै सातदोबाटो २४ खेलबाट ३२ अंक जोडेर पाँचौँ स्थानमा उक्लिएको छ । पराजित आर्मी ३० अंक जोडेर नवौँ स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?