बाँकेमा दुर्घटनाको अवस्था भयावह

हिमालय टाइम्स
Read Time = 7 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । जेठ १४ गते बाँकेको राप्ती सोनारी-८ स्थित मुगुवाखोलामा दुर्घटना भयो । पूर्व पश्चिम राजमार्गअन्तर्गत ढकेरी सडकको जंगल क्षेत्रमा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई जनाको निधन भयो । नेपालगञ्जदेखि काँकडभिट्टातर्फ जाँदै गरेको भे१ख ३३३५ नम्बरको बस र बुटवलदेखि नेपालगञ्जतर्फ आउँदै गरेको बा१३छ ८२५३ नम्बर जीप एक आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । कार्यालय प्रमुख तिलक सुनारका अनुसार तीव्र गतिका कारण उक्त दुर्घटना भएको थियो । मृत्यु हुनेमध्ये एक हुनुहुन्थ्यो, बुटवलकी ५४ वर्षीया डा. सन्जु खाती खड्का । खड्का पेसाले चिकित्सक हुनुहुन्थ्यो । मृतक खड्का प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत चिकित्सक हुन् । उहाँ प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्मर खड्काका श्रीमती हुनुहुन्छ ।

उहाँ संघीय सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइ बुहारीसमेत रहनुभएको छ । दुर्घटनामा कार चालक गोरखा जिल्लाका ३७ वर्षीय सुवास अधिकारीको पनि मृत्यु भएको थियो ।

तथ्यांक हेर्दा बाँके जिल्लामा बर्सेनि दुर्घटनाका कारण सयौँ जनाको मृत्यु हुने गरेको देखिएको छ । बाँकेमा सवारी दुर्घटनामा परी आर्थिक वर्ष २०६७/०७७ मा ७३ जनाको ज्यान भयो । ८४ जना गम्भीर घाइते भए । १२५ जना सामान्य घाइते भए । उक्त आर्थिक वर्षमा बाँकेमा कुल १९१ सवारी दुर्घटना भएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा ७७ जनाले ज्यान गुमाए । १०५ जना गम्भीर घाइते भएका थिए । सामान्य घाइते हुनेको संख्या ३० जना थियो । १५० वटा सवारी दुर्घटना भएको थियो ।

आर्थिक वर्ष २०७८/०७८ मा मृत्यु हुनेको संख्या ८२ पुग्यो । दुर्घटनामा परी ८२ जना गम्भीर घाइते भएका थिए । सामान्य घाइते हुनेको संख्या १५४ जना थियो । उक्त वर्ष कुल १५४ वटा सवारी दुर्घटनामा परेका थिए । चालु आर्थिक वर्ष २०७९/०८० को वैशाख मसान्तसम्म बाँकेमा सवारी दुर्घटनाका कारण ५८ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले जनाएको छ । कार्यालय प्रमुख तिलक सुनारका अनुसार मृत्यु हुनेमा ४० जना पुरुष, आठजना महिला र दुईजना बालक र तीनजना बालिका रहेका छन् ।

यस्तै, कुल ६२ जना गम्भीर घाइते भएका थिए । यस्तै, सामान्य घाइते हुनेको संख्या २९ जना रहेका थियो । चालु आर्थिक वर्षमा जम्मा १३४ वटा सवारी दुर्घटनामा परेका थिए । कार्यालय प्रमुख सुनारका अनुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा पर्ने गरेका छन् । चालु आवमा मात्रै ७६ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए । कार्यालय प्रमुख सुनार भन्नुहुन्छ, ‘दुर्घटनामा ज्यान गुमाएको संख्या धेरै देखिन्छ । दुर्घटनाको संख्या पनि बढी देखिन्छ । दुर्घटना रोक्ने र अकालमा मृत्युवरण रोक्ने हाम्रो प्रयास रहेको छ । यात्राका लागि सुरक्षित बाँके जिल्ला बनाउने हाम्रो अभियान छ ।’

उच्च जोखिममा पशुचौपाया
विगत चार वर्षको दुर्घटनाको तथ्यांक हेर्दा मानिससँगै पशु चौपायासमेत सवारी दुर्घटनाको उच्च जोखिमा रहेको देखिएको छ । विगत चार वर्षमा दुर्घटनाकै कारण सयौ पशु चौपायाले समेत अकालमा ज्यान गुमाएको देखिन्छ ।

आर्थिक वर्ष २०६७/०७७ देखि आर्थिक वर्ष २०७९/०८० को वैशाख मसान्तसम्म बाँकेमा ८९ वटा पशु चौपायाको मृत्यु भएको छ । कुल २८ वटा पशु चौपाया घाइते भएका छन् । कार्यालयले दिएको जानकारीअनुसार सहरी क्षेत्रमा दुर्घटनाका कारण, कुुकुर, बिरालो र छाडा पशु चौपायाको मृत्यु हुने गरेको छ । छाडा पशु चौपाया पनि दुर्घटनाको प्रमुख कारणमध्ये एक देखिएको कार्यालय प्रमुख सुनारको भनाइ छ ।

सवारी दुर्घटनाका प्रमुख तीन कारण
जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले दिएको जानकारीअनुसार बाँकेमा दुर्घटनाका प्रमुख तीन कारण रहेका छन् । तीमध्ये पहिलो कारण हो, मानवीय लापरबाही । ट्राफिक नियमको पालना नगर्नु, जेब्रा क्रसिङमा समस्या, मापसे, ओभरटेक, तीव्र गति आदी रहेका छन् । दुर्घटनाको दोस्रो कारण हो, सवारीमा देखिने समस्या अर्थात् यान्त्रिक समस्या ।

सुनारका अनुसार यसमा सवारी पुराना हुनु, मेसिनमा गडबढी हुनु, लाइट नबल्नु, इञ्जिनको समयमै मर्मत नहुनु, ब्रेक फेल हुनुजस्ता कारणले पनि दुर्घटना निम्तिने गरेको छ । दुर्घटनाको तेस्रो कारणका रुपमा वातावरणीय अवस्था प्रमुख कारक रहेको छ । खराब मौसम, हुस्सु तथा तुवालो, कच्ची सडक लगायतका कारणले दुर्घटना हुने गरेको छ । कार्यालय प्रमुख तिलक सुनारका अनुसार प्रहरीले सुरक्षित यात्राको जिल्ला बनाउनको लागि प्रयास गरिरहेको छ । सोहीअनुसार सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?