हामी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले गरेनन् : ओली

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको नारा अरू कुनै सरकारले बोक्न नसकेको बताउनुभएको छ । शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले आफ्नो सरकार हटेपछि अरूले समृद्धि नेपाल सुखी नेपालीको नारा कसैले बोक्ने आँट नगरेको बताउनुभएको हो । कुनै व्यक्ति नभई सिंगो समाजलाई माथि उठाउनका लागि समृद्धिको एजेण्डा अघि बढाएको बताउनुभयो । ‘हामी सरकारबाट हटेपछि समृद्ध नेपालः सुखी नेपाली भन्ने शब्द कुनै सरकार, कुनै प्रधानमन्त्री, कुनै नेता हाम्रा विपक्षहरू कसैले पनि समृद्ध नेपाल भन्ने आँट गर्दैन । सुखी नेपाली भन्ने आँट गर्दैनन्,’ उहाँले भन्नुभयो, ‘समृद्ध नेपाल भन्ने जसको आँट छैन ।

समृद्ध नेपाल भनेको मैले भन्ने गरेको छु नि यो एउटा खर्बपति र अर्को चाहिँ मजदुर उनीहरू दुईवटाको सम्पत्ति मिलाउँदा एउटाले वार्षिक ४० अर्ब मुनाफा कमायो भने अर्कोले लसमा छ भने पनि २०/२० अर्ब कमाएको देखियो नि त कमाएको एकजनाले मात्रै हो । एभरेजमा त्यस्तो देखिए पनि बढी त गरिब छ नि । त्यसकारण त्यो रियल डेटा होइन । हामीले गर्न खोजेको मानव विकास हो । समाजको विकास हो । र, सिंगै समाजलाई माथि उठाउने हो । र, मानव समाजलाई मानव बस्न लायकको उत्तरदायी, भविष्यप्रति जिम्मेवार, विनाशकारी होइन, जिम्मेवार विकास । ढिलो होइन, छिटो विकास ।’

अध्यक्ष ओलीले गरिबी छिटो अन्त्य हुने गरी विज्ञान र प्रविधिको प्रयोग गर्न जरुरी रहेको समेत बताउनुभयो । विकास, निर्माणको कामलाई अघि बढाउनका लागि पनि गरिबी अन्त्य हुन आवश्यक भएकाले विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले जोड दिएर काम गर्न आवश्यक रहेको पनि उहाँको भनाइ थियो । ‘अब हामीले भोकमरीको अन्त्य गर्नुछ । र, गरिबी निवारण गर्नुछ । सबभन्दा फास्ट डेभलपमेन्ट कसरी हुन्छ त भन्दा हाम्रो १७/१८ प्रतिशत पपुलेसन अझै पनि गरिबीको रेखामुनि छ । त्यसकारण त्यो पपुलेसन अहिले पनि डेभलपमेन्टको बारेमा सोच्दैन । पेटको बारेमा मात्रै सोच्छ । पेटको बारेमा सोच्नुनपर्ने भएपछि ज्ञान, विज्ञान, प्रविधि र विकासको बारेमा सोच्न थाल्दछ,’ उहाँले भन्नुभयो, ‘हामी गरिवीबाट मुक्त हुनु, भोकमरीबाट मुक्त हुनु एकदमै जरुरी छ । सिंगै पपुलेसनलाई गर्न जरुरी छ । हामी यो साइन्स एण्ड टेक्नोलोजीको बारेमा किन चर्चा गरिरहेका छौँ ? सबै खालको विकासका लागि यसको जरुरी छ । यो पनि छिटो गरिबी अन्त्य गरौँ । र, सम्पूर्ण पपुलेसनलाई अगाडि बढाऔँ भनेर ।’ अध्यक्ष ओलीले कृषि उत्पादनलाई स्वस्थ बनाउने कुरामा पनि प्रविधिलाई उपयोग गर्नुपर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?