कांग्रेसभित्रको आन्तरिक द्वन्द्व उत्कर्षमा

सभापति र महामन्त्रीबीच सार्वजनिक रूपमै सवाल जवाफ

अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । ‘उत्साह, एकता र रूपान्तरण’को नारासहित १४औँ महाधिवेशन सम्पन्न भएको १७ महिनामै नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेको छ । १४औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्न सफल सभापति शेरबहादुर देउवा र लोकप्रिय मतसहित महामन्त्रीमा निर्वाचित हुनुभएका गगनकुमार थापाबीचको आन्तरिक संघर्ष र मनमुटाव सार्वजनिक रूपमै प्रकट हुन थालेको छ । स्वभावैले धेरै बोल्न नचाहने पार्टी सभापति देउवा र उत्तेजक भाषण दिएर युवाको रक्तसञ्चारमा तरंग ल्याउने क्षमता हुनुभएका महामन्त्री थापाबीचको अन्तरद्वन्द्व दिनप्रतिदिन छताछुल्ल भइरहेको छ । कांग्रेसमा महाधिवेशन सम्पन्न भएको डेढ वर्ष पुग्दा पार्टीभित्र विवाद र असन्तुष्टिका स्वरहरू बाक्लिन थालेका छन् । राष्ट्रिय राजनीतिमा कतिपय विषयमै संसद्मा सबैभन्दा ठूलो दल कांग्रेसभित्रबाट फरक मत र धारणा प्रकट भइरहेका छन् । पार्टीभित्र शुद्धीकरणका लागि भन्दै पदाधिकारीदेखि केन्द्रीय समितिमा रहेका नेताहरूले छुट्टाछुट्टै अभियान सञ्चालन गर्न थालेका छन् । पटक-पटक भाका सार्दै डेढ वर्षअघि सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व पाए पनि पार्टीभित्र आन्तरिक विवाद र गुटगत राजनीति अन्त्य गर्न सकेको छैन ।

कांग्रेसको पार्टी विधानमा पार्टीको सबै तहमा भ्रातृ संस्था/विभाग/समिति/विभिन्न निकाय महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्ने उल्लेख छ । तर, आन्तरिक गुटगत राजनीतिका कारण महाधिवेशन सम्पन्न भएको डेढ वर्ष पुग्दा पनि कांग्रेसले अझै भ्रातृ तथा शुभेच्छुक संस्थालाई चलायमान बनाउन नसकेपछि विवाद बढ्दै गएको छ । पार्टीभित्रको बढ्दो असन्तुष्टिका बीचमा नेतृत्व परिवर्तनको विषय पनि जोडदार उठिरहेको छ । कांग्रेसभित्र विभिन्न खेमामा विभाजित नेताहरू अन्तिम विकल्प नेतृत्व बदल्ने मिसन नै हो भन्नेमा पुगेका छन् भने, कतिपय नेताहरू नेतृत्व परिवर्तनकै लागि भनेर आन्तरिक गृहकार्यमा जुटिसकेका छन् । सातै प्रदेशमा कांग्रेस शुद्धीकरणको अभियान सुरु गरेको एउटा समूहका नेता जगदीश्वरनरसिंह केसी पार्टीलाई पुनर्जागरण आवश्यक रहेको जिकिर गर्नुहुन्छ ।

पछिल्लोपटक नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिनुभएका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्ने आवाज उठ्दै गर्दा मौन देखिएको नेतृत्वमाथि संस्थापनइतर समूहको चर्को असन्तुष्टि छ भने, महामन्त्री गगन थापा लगायतको अर्को समूह सभापति शेरबहादुर देउवाको कार्यशैलीको विरोधमा संगठित भइरहेको छ । शुक्रबार पार्टीको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठानको प्रथम अधिवेशनको उद्घाटन गर्दै महामन्त्री थापाले सभापति देउवाविरुद्ध लड्ने घोषणा नै गर्नुभयो । महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवासहित नेतृत्वमा रहेका केही व्यक्तिले मुलुक र पार्टी हितविपरीत गरेको गल्ती आफूहरूले सहेर बस्न नसक्ने चेतावनी दिनुभयो । पार्टी सभापतिले महत्वपूर्ण निर्णय गर्दा पनि महामन्त्रीहरूसँग छलफल नगरेको र केन्द्रीय समितिको बैठक पनि महिनौँसम्म नबोलाएकोमा असन्तुष्टि जनाउँदै महामन्त्री थापाले भन्नुभयो, ‘नेपाली कांग्रेस संलग्न भएको सरकारले केही गम्भीर, महत्वपूर्ण, दीर्घकालीन महत्वको र जनचासोको विषयमा निर्णय गर्‍यो । एउटा निर्णय आममाफीको बारेमा, अर्काे निर्णय नागरिकताको विषयमा । यी सबै निर्णय नेपाली कांग्रेसको पार्टी सभापतिले एक्लै गर्नुभएको निर्णय हो । अहिलेसम्म पार्टीभित्र धेरै सहन गरियो अब सहन गर्न सकिँदैन ।’

पार्टीभित्र थुप्रै आन्तरिक मुद्दाहरू अलपत्र परेको अवस्थामा भुटानी शरणार्थी प्रकरणले अर्को विवाद थपेको हो । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको बहानामा भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशनलाई अन्योलमा राखेको कांग्रेसले २०७८ फागुन ३ गते, सबै भ्रातृ संस्थालाई स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी सभापति देउवालाई दिइएको थियो । सोही अग्राधिकार पाउनुभएका सभापति देउवाले आफूनिकट मानिने नेताहरूलाई पाँच भ्रातृ संस्थामा नियुक्त गर्नुभएको थियो । सोही म्याण्डेट पाएका पाँच भ्रातृ संस्थाले अहिलेसम्म अधिवेशन गर्न सकेका छैनन् ।

त्यसो त पार्टी नेतृत्वलाई यसअघि चुनावमा गठबन्धन गरेको विषयमा निकै आलोचना भएको थियो । आफ्नै बलबुतामा स्थानीय, प्रदेश र संघको निर्वाचनमा जानुपर्ने आवाज उठेको समय सभापति देउवाले गरेको निर्णय निकै आलोचित नभएको होइन । तीनै तहको निर्वाचनमा पहिलो पार्टी बनेको कांग्रेसको हातबाट सरकारको बागडोर फुत्किएको विषय अहिले पनि नेतृत्वभित्र आन्तरिक कलहको मुख्य जड बन्ने गरेको छ । संसदीय अंकगणितमा बलियो देखिए पनि पछिल्लो समय कांग्रेस आन्तरिक रूपमा त्यति नै कमजोर बन्दै गएको नेताहरूको टिप्पणी छ ।

कांग्रेस संस्थान पक्षका नेताहरू भने अहिले पार्टी नेतृत्व परिवर्तनको विषय उठाउनुको अर्थ कार्यकर्तामाझ पानी माथिको ओभानो बन्न खोज्ने प्रयास मात्र भएको जिकिर गर्दै आएका छन् । सभापति देउवाले गर्ने सबै निर्णयहरू केन्द्रीय तहबाट हुने भएकाले नेतृत्वलाई दोष लगाउनु गलत हुने उनीहरूको तर्क छ । कांग्रेसभित्रको देखा परेको असन्तुष्टि र आक्रोश नयाँ होइन । विगतमा पनि यस्तै विवादको शृंखला कांग्रेसले पटक-पटक व्यहारेको छ । चुनावबाट पहिलो शक्ति बनेको अहिलेको अवस्थामा कंग्रेसभित्रको विवाद र असन्तुष्टिले राष्ट्रिय राजनीतिमा उसको भूमिका कमजोर बन्दै गएको भन्दै पार्टीभित्रैबाट चिन्ता व्यक्त भइरहेको छ ।

एउटा व्यक्तिलाई गाली गरेर पार्टी ठूलो बन्दैन, युवालाई नेतृत्व दिन तयार छु : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्वलाई गाली गरे संगठन बलियो नबन्ने भन्दै सबै नेता र कार्यकर्तालाई एकजुट भएर काम गर्न निर्देशन दिनुभएको छ । आफ्नो कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सार्वजनिक रूपमै आफूविरुद्ध अभिव्यक्ति दिँदै हिँड्नुभएका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै सभापति देउवाले भन्नुभयो, ‘काम गर्नुहोस् न पार्टी ठूलो बनाउनुहोस्, बलियो बनाउनुहोस् । विरोध गरेर पार्टी बन्नेवाला छैन । एकजनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ । पार्टी बनाउने जनसम्पर्क नै हो । जनतामा जानुपर्छ । आपसी लडाइँले पार्टी दुर्घटनामा जान सक्छ । यसतर्फ पनि सचेत रहनुहोस् ।’
सभापति शेरबहादुर देउवाले अब पार्टीको नेतृत्व गर्ने अवसर युवा पुस्तालाई दिने उद्घोषसमेत गर्नुभएको छ । शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले सभापतिको रूपमा यो आफ्नो अन्तिम कार्यकाल रहेको स्पष्ट पार्दै भन्नुभयो, ‘पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो,पार्टी सभापति हुने होइन । अहिले सबै ठाउँमा नेविसंघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठूलो पार्टी भएको छ ।’

कांग्रेस विधि र नियममा चल्न सकेन : सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको टिप्पणी गर्नुभएको छ । शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सिंहले विधिसम्मत रूपमा पार्टी नचल्दा नै आन्तरिक असन्तोष व्यक्त भइरहेको जिकिर गर्दै भन्नुभयो, ‘मेरो एउटै जोड छ, विधि र नियमबाट पार्टी चलाऔँ । विधि र नियमबाट पार्टी चलेको भए त यति असन्तोष कहीँ पनि सुन्न पर्दैनथ्यो । अब बचेको समयमा पार्टीलाई विधि, नियमसम्मत अघि बढायौँ भने अरू पार्टीको चुनौती सामना गर्नुपर्ने छैन । केन्द्रीय कार्यसमिति, पार्टी सभापतिज्यूले सम्पन्न गर्नुपर्ने, पदाधिकारीले गर्नुपर्ने सबै काम गरेर बाँकी समयलाई नेपाली कांग्रेस आउने दिनको चुनौती सशक्त रूपमा निभाउँछ भन्नेमा हामी लाग्नुपर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?