चारदिने भारत भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

दुई देशबीच विश्वासको वातावरण बन्दै गएको दाबी

डिबी शर्मा
Read Time = 12 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण परिणाममुखी भएको दाबी गर्नुभएको छ । शनिबार साँझ स्वदेश फर्किनुभएका उहाँले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भ्रमण सारभूत रूपमा परिणाममुखी भएको दाबी गर्नुभयो । यसपालिको भारत भ्रमण विगतको भन्दा फरक भएको समेत उहाँले बताउनुभयो । ‘मैले जाँदा जे भनेर गएको थिएँ । त्यो पूरा भएको छ,’ उहाँले भन्नुभयो, ‘महत्वपूर्ण र दूरगामी सहमति र सम्झौता भएका छन् । विगतका भ्रमणभन्दा फरक पाएको छु । सारभूत रूपमा परिणाममुखी रहेको छ ।’ उहाँले नेपाल-भारतबीच देखिएको अविश्वाससमेत हटेको दाबी गर्नुभयो । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीसँग खुलेर छलफल भएको भन्दै अहिले विश्वासको वातावरण बनेको दाबी गर्नुभयो । ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग खुलस्त रूपमा कुरा भएको छ । ‘विगतमा विश्वासको संकटजस्तो देखिन्थ्यो । यसपालि खुलेर छलफल भयो । राम्रो विश्वासको आधार बनेको छ,’ उहाँले भन्नुभयो, ‘अफ्ठ्यारो सम्बन्ध सजिलोतर्फ गएको छ । स्वयं मोदीजीले पनि संयुक्त पत्रकार सम्मेलनमा नेपाल-भारत सम्बन्धन हिमालयको उचाईंमा पुर्‍याउने भन्नुभएको छ । हिटबाट सुपरहिट गर्नुपर्छ भन्नुभएको छ । विश्वासको वातावरण बनेको छ । विश्वासको आधार तयार भएको छ ।’ उहाँले भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको र उहाँले उपयुक्त समयमा आउने बताएको बताउनुभयो । चीन भ्रमणबारे भने अहिले कुनै टुंगो नलागेको उहाँले बताउनुभयो ।

ऊर्जा व्यापारमा लामो अवधिको सम्झौता हुनु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने कुरा गर्नु, पारवहन सम्झौता हुनु, रेलमार्ग, पुल निर्माण सुक्खा बन्दरगाह भारतले अनुदानमा बनाउन तयार हुनुजस्ता कुराले विश्वासको वातावरण बनेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भारतको चारदिने भ्रमणका लागि जेठ १७ गते नयाँ दिल्ली जानुभएको थियो । भ्रमणका क्रममा उहाँले जेठ १९ गते प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मू लगायतसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो । भारतीय समकक्षी मोदीसँगको भेटका क्रममा नेपाल र भारतबीच विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको थियो । भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले हवाई रुट र पञ्चेश्वर परियोजनालाई मुख्य एजेण्डा बनाउनुभएको थियो ।

सीमासम्बन्धी खुलेर छलफल
भ्रमणका क्रममा दुई देशको सीमासम्बन्धी समस्याबारे खुलेर छलफल भएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । सीमा विवाद कूटनीतिक संयन्त्रमार्फत नै समाधान गर्नुपर्नेमा भारतसमेत तयार भएको उहाँले बताउनुभयो । सीमा विवादबारे स्वयं भारतका प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनमै कुरा राखेको उहाँले स्मरण गर्नुभयो । ‘सीमासम्बन्धी विवाद हामी सबैको चिन्ता र चासोको विषय हो । यसबारे पनि खुलेरै कुरा भएको छ । समस्या समाधान गर्नेपर्छ मैले भनेँ । जसमा उहाँहरू पनि सहमत हुनुहुन्छ,’ प्रचण्डले भन्नुभयो, ‘सीमासम्बन्धी विषयलाई कूटनीतिक संयन्त्रमार्फत नै समाधान गर्नुपर्छ भन्ने छ । मोदीजीले पनि सबै समस्या समाधान गरिनेछ भन्नुभएको छ । धेरैपछि मोदीबाट आएको सीमासम्बन्धी सकारात्मक कुरा हो ।’

उहाँले सीमा विवाद समाधानका विषयमा भारत र बंगलादेशको सीमा समस्या समाधान मोडेल पनि एउटा विकल्प हुनसक्ने विषयमा सामान्य छलफल भएको बताउनुभयो । ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो भूभाग हो । भारतले सर्लक्क फिर्ता गरे त राम्रो । तर, भएन भने केके विकल्प हुन सक्छन् भन्नेबारे सामान्य कुराकानी भएको छ,’ उहाँले भन्नुभयो, ‘बंगलादेश मोडेलको कुरा पनि भएको हो । बंगलादेश जाने बाटो दिने पनि एउटा विकल्प हुनसक्छ भन्ने विज्ञहरूको पनि भनाइ हो ।’

इपिजीको कुरा उचालेर वातावरण बिगार्नु उचित थिएन
प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका विषयमा प्रबुद्ध व्यक्ति समूह (इपिजी) प्रतिवेदनको विषयमा कुरा राखेको बताउनुभएको छ । तर, इपिजीकै कुरा धेरै उचालेर आर्थिक र द्विपक्षीय सहयोगका अरू क्षेत्रमा भएको परिणाममुखी वातावरण बिगार्न नचाहेको उहाँले बताउनुभयो । ‘इपिजी हामी सबैको चासोको कुरा हो, मैले आफ्नो ढंगले कुरा नगरेको छैन, आफ्नो ढंगले कुरा गरेको छु, तर यो विषयलाई बढी उचालेर आर्थिक र द्विपक्षीय सहयोगको क्षेत्र विस्तारको जो परिणामुखी वातावरण बनेको बिगार्नु उचित थिएन,’ उहाँले भन्नुभयो । नेपाल र भारतबीच विश्वासको वातावरण बनेको भन्दै यही वातावरण सहज रुपमा अगाडि बढे इपिजीको विषयमा पनि कुरा हुन सक्ने उहाँको भनाय छ । नेपाल र भारतबीचको सन् १९५० को सन्धि लगायतका समस्या समाधानका लागि दुई देशका पबुद्ध व्यक्तिहरू सम्मिलित प्रबुद्ध व्यक्ति समूह (इपिजी) बनेको थियो ।

उक्त समूहले दुवै देशमा छलफल गरेर प्रतिवेदन तयार पारिसकेको छ । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिवेदन बुझ्न मान्नुएको छैन । भारतको नयाँ संसद्मा राखिएको अखण्ड भारतको नक्साबारे पनि भन्नुपर्ने ठाउँमा आफूले भनेको उहाँले बताउनुभयो । तर, उहाँहरू त्यो सांस्कृतिक नक्सा मात्रै भएको बताएको उहाँले बताउनुभयो ।

श्रीमतीलाई ठिक हुन्छ भनेर महाकालेश्वरमा रुद्राक्ष चढाएको होइन
प्रधानमन्त्री प्रचण्डले पत्नी सीता दाहालको स्वास्थ्य ठिक हुन्छ भनेर आफूले महाकालेश्वर मन्दिरमा रुद्राक्ष नचढाएको स्पष्टीकरण दिनुभएको छ । त्यसबारे सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री एनपी साउदको इच्छामा रुद्राक्ष बोकेर गएको स्पष्ट पार्नुभयो । भारत भ्रमणका क्रममा शुक्रबार भारतको मध्यप्रदेश राज्यस्थित उज्जैन सहरमा रहेको प्रसिद्ध महाकालेश्वर मन्दिरमा पूजा गर्नुभएको थियो । ‘मिडियामा आएको देखेँ । रुद्राक्ष लाने इनिसियटिभ्स परराष्ट्रमन्त्रीको हो । उहाँले यो लानुपर्छ भनेपछि हुन्छ राम्रै हुन्छ भनेको हो,’ उहाँले भन्नुभयो, ‘उहाँले लगेकोलाई मैले नछुने अब ? त्यो चढाउँदा श्रीमतीको स्वास्थ्य ठिक हुन्छ भनेर विल्कुल होइन । त्यो मेरो दिमागमा थिएन, अहिले पनि छैन ।’ आफू कम्युनिष्ट मात्रै नभई देशको प्रधानमन्त्री भएकाले मन्दिरमा गेरुवस्त्र धारण गरेको बताउनुभयो । उहाँले नेपालमा हुँदा पनि धार्मिक समुदायका कार्यक्रममा जाँदा त्यस्तै वस्त्र धारण गरेको उहाँले स्मरण गर्नुभयो ।

एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति संसद्मा जवाफ माग्ने
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्रहितविपरीत अभिव्यक्ति दिएको प्रति संसद्मा जवाफ माग गर्ने भएको छ । शनिबार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको प्रति संसद्मा जवाफ माग गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सञ्चारकर्मीहरूसँग फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्ने अभिव्यक्ति दिनुभएको थियो । अहिले प्रधानमन्त्रीको सो अभिव्यक्तिको विरोध भइरहेको छ । पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा देशहितका कुनै विषय उठान गर्न नसकेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले भारत भ्रमणअघि संसद्मा उठान गर्ने भनेका विषयहरू किन उठाउन नसकेको भन्ने प्रश्न गर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीको भारत भ्रमण निराशाजनक भएको र भारत भ्रमण तीर्थाटन जस्तो भएको बताउनुभयो । प्रधानमन्त्रीको अभिव्यक्तिले देशको गरिमामा आँच पुगेको उहाँको जिकिर छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?