तातोपानीको भेरीखोला बस्ती राष्ट्रिय प्रशारण लाईनको पहुँचमा

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाको ग्रामीण भेगमा पर्ने भेरीखोला बस्तीमा पहिलो पटक राष्ट्रिय प्रशारण लाईनको पहुँच पुगेपछि यहाँका स्थानीयवासिमा खुसियाली छाएको छ । गाउँमा बिजुली पुगेपछि स्थानीयवासीलाई निकै राहत पुगेको छ ।

पालिकाको सबैभन्दा दुर्गम वडा मानिने ७ र ८ मा पहिलो पटक राष्ट्रिय प्रसारण लाइन पुगेको नेपाल विद्युत प्राधिरण वितरण केन्द्र जुम्लाका प्रमुख नरदेशदत्त रावलले जानकारी दिनुभयो । लामो समयदेखि अन्धकारमा रहेको भेरीखोला बस्ती राष्ट्रिय विद्युत प्रशारण लाईनसँग जोडिएको छ ।

केही उद्योग गर्न चाहनेहरुलाई पनि विद्युतको समस्याले हैरानी बनाएको थियो । सदरमुकाम र आसपासका गाउँहरुलाई विद्युत सेवा उपलब्ध गराउँदै आएको नेपाल विद्युत प्राधिकरणले पछिल्लो समयमा जिल्लाका ग्रामीण गाउँका बस्तिमा समेत बिजुली सेवा विस्तार गरेको विद्युत प्राधिरण वितरण केन्द्र जुम्लाका प्रमुख रावलले बताउनुभयो ।

गत बर्षको असोज महिनाको अन्तिम साता परेको अविरल वर्षाले प्रभावित भेरीखोलामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइन पुगेपछि यहाँका स्थानीयवासिलाई राहत भएको वडाध्यक्ष तिलक रावतले बताउनुभयो । गाउँमा बिजुली बलेपछि उज्यालो हुनुका साथै मोबाइल चार्ज गर्न, रेडियो सुन्न, विद्यार्थीलाई पढ्न लेख्न र विद्युतिय क्रियाकलापबाट गरिने कामलाई सहज बनाएको स्थानीवासि हस्त रावतको भनाइ छ ।

वर्षौँदेखि टुकी र सोलार बालेर दैनिकी चलाउँदै आएका त्यहाँका नागरिक प्रत्येक घरमा अहिले बिजुली बलेपछि हर्षित भएका छन् । गाउँमा बत्ति नभएर मोबाइल चार्ज गर्न पनि समस्या हुने गर्दथ्यो, अब भने उक्त समस्या हटेको छ । अहिले घरघरमा बिजुली बल्दा दैनिक कामकाज गर्न निकै सहज भएको छ । गाउँ नै उज्यालो भएको छ ।

गाउँमा राष्ट्रिय प्रसारण लाइन आएपछि उद्योग र कम्प्युटर कक्षा संचालन गर्न सहज हुने यहाँका स्थानीयवासि बताउँछन् । अहिले जिल्लाको सदरमुकाम खलंगालगायत ग्रामीण गाउँ बस्तीमा विद्युतको प्रसारण लाइन जोडिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?