हलेसी तुवाचुङ नगरपालिकामा जिपिएस ट्रयाकिङ सिस्टम जडित एम्बुलेन्स

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले जिपिएस ट्रयाकिङ सिस्टम जडित एम्बुलेन्स सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

नगरभित्रका नागरिकलाई स्वास्थ्य चौकीसम्म तथा जिल्ला बाहिर उपचारमा जान आउन सहज बनाउने उद्देश्यले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले वर्गीकरण गरे अनुसारको आवश्यक उपकरण र औषधिसहित ‘ख’वर्गको एम्बुलेन्स सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले ‘ख’वर्गको एम्बुलेन्समा आवश्यक उपकरण र औषधि हुनुपर्ने व्यवस्था गरेको छ । त्यहीअनुसार २२ वटा उपकरण जडित र जिपिएस ट्रयाकिङ सिस्टम भएको एम्बुलेन्स २७ जेठबाट शुभारम्भ गर्ने तयारी गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक प्रकाश घिमिरेले जानकारी दिनुभयो । घिमिरेकाअनुसार जिपिएस ट्रयाकिङ सिस्टम भएकाले एम्बुलेन्स कहाँ छ, कहाँ रनिङ गरिरहेको छ भन्ने नगरपालिकाबाटै ट्रयाकिङ गर्न सकिनेछ । यसले गर्दा दुरुपयोग हुन पाउने छैन ।

हाललाई एम्बुलेन्सले सुत्केरी महिलालाई निशुल्क सुविधा दिनेछ । अन्यका हकमा भने कार्य विधि बनाएर भाडादर तोकिने छ । एम्बुलेन्स खरीदका लागि नगरपालिकाले २० लाख १० हजारको टेण्डर आव्हान गरेको थियो । टेण्डर बाहेक जिपिएस ट्रयाकिङ सिस्टम जडान, एम्बुलेन्स पेन्टिङ र लेखनमा भएको सम्पूर्ण खर्चको विवरण एम्बुलेन्स शुभारम्भका दिन सार्वजनिक गरिने नगरपालिकाले जनाएको छ ।

११ वडा रहेको नगरपालिका भित्रका विरामीहरुले स्वास्थ्य चौकी तथा जिल्ला वाहिर जाँदा महंगो भाडा तिरेर जानुपर्ने बाध्यताको अन्त्य गर्न सुविधायुक्त एम्बुलेन्स खरीद गरिएको मेयर बिमला राईले बताउनुभयो । मेयर राईकाअनुसार सबै वडामा एम्बुलेन्स चल्न सक्ने सडक भए पनि ति सडकहरुको स्तरोन्नती गरिदै जानेछ । जसका कारण एम्बुलेन्स अझै सहज तरिकाले चलाउन सकिनेछ ।अहिले एम्बुलेन्स नगरपालिकाको प्राङगणमा राखिएको छ ।

यसैविच, हलेसी तुवाचुङ नगरपालिकाले २७ जेठबाट स्वास्थ्य चौकी दुर्छिमलाई प्रथम विन्दु बनाएर लागू हुनेगरी स्वास्थ्य बिमा उपचारको शुभारम्भ गर्ने भएको छ । यस अघिसम्म स्वास्थ्य बिमा गराएकाले जिल्ला अस्पताल दिक्तेलमा गएर सेवा लिनु पर्ने हुन्थ्यो । अब भने, हलेसी तुवाचुङ नगरपालिका भित्रका स्वास्थ्य बिमा गरेकाले दुर्छिम स्वास्थ्य चौकीबाटै सेवा लिन पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?