राष्ट्रपतिबाट नागरिकता विधेयकलाई संशोधन गर्न रास्वपाको माग

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयकलाई संशोधन गर्न सरकारसँग माग गर्नुभएको छ ।

आईतवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक परियारले नागरिकता बिहीनलाई नागरिकता दिन नभइ अन्य कुनै स्वार्थले नागरिकता विधेयक प्रमाणीकरण गरिएको बताउनु भयो । उहाँले रास्वपा नागरिकता विधेयक प्रमाणीकरणको पक्षमा नरहेको स्पष्ट पार्दै यसको घोर बिरोधमा रहेको उल्लेख गर्नुभयो । उहाँले नागरिकताको विषय देशको सुरक्षा, मानव अधिकार र भूराजनीतिसँग जोडिएको विषय भएको भन्दै यसलाई संसदमा छलफल नगरी प्रमाणिकरणमा जानु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो - ‘आज जुन विधिबाट, जुन तरिकाबाट सरकारले जुन रवैयाले यो प्रश्तुत गरेको छ, यसले मधेसका ति तमाम नागरिकताविहिन जनतालाई नागरिकता दिन होइन, अन्य कुनै स्वार्थले ल्याएको छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठम्याइ छ । हामी यसको घोर बिरोध गर्दछौँ । मधेसका मुसहर समुदायका धेरै विद्यार्थी स्कुल जान पाउँदैनन् राज्यले नागरिकता नदिएर । उनीहरुले पोषणभत्ता समेत पाएका छैनन् । बैंकमा खाता खोल्न सकेको छैन । राज्यले आफ्नो दायित्वबाट विमुख हुने । हिजो लामो समयसम्म राजनीति गरिरहेका राजनीतिक पार्टीहरु आफ्नो दायित्वबाट पर जाने अनि यो सार्वभौम संसदमा आएको यो बेथिति बिरुद्ध आएको राष्ट्रिय स्वतन्त्र पार्टीले यो कर्मको हामी भारी बोक्ने छैनौँ । हाम्रो यसमा समर्थन छैन । यो राजनीतिक विषय हो । नेपालको सुरक्षासँग जोडिएको विषय हो । यो मानव अधिकारसँग जोडिएको विषय हो । सँगसँगै भूराजनीतिसँग जोडिएको विषय पनि हो । यसर्थ यो गम्भिर विषयमा संसदमा विशेष काम छ भनेर हामीलाई संसदमा बोल्न दिइरहने अनि सरकार लुसुलुसु आफ्नो काम गरिरहने यो रवैयालाई अब राष्ट्रिय स्वतन्त्र पार्टीले स्वीकार्दैन । यसर्थ सरकारले रोकोस् । सरकारले यसलाई संशोधन गरोस् ।’

उहाँले नेपाली नागरिकलाई नागरिकता दिलाउनका लागि रास्वपा संसद र सडकमा संघर्ष गर्न तयार रहेको भन्दै सरकारले यस प्रकारको विधि भने सुधार्नुपर्ने बताउनु भयो ।

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधका कारण प्रतिनिधि सभा बैठक एक घण्टापछि बस्नेगरी स्थगित गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?