बैतडीका विद्यालय कर्मचारी आन्दोलित, बजेटमा आफ्ना माग सम्बोधन नभएको गुनासो

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीमा विद्यालय कर्मचारी आन्दोलित भएका छन् । सरकारले आगामी आर्थिक वर्षको लागि बजेट भाषणमा आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै विद्यालय कर्मचारीहरू आन्दोलित भएका हुन् ।

नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको सेवा सुविधा बारे ग्यारेन्टी गरिने छ भने पनि बजेटमा समावेश नगरेकाले आन्दोलनका कार्यक्रम सुरु गरिएको विद्यालय कर्मचारी गोपाल महराले बताउनुभयो ।

यस्तै विद्यालय कर्मचारीहरुले शिक्षा विकास तथा समन्वय इकाइ बैतडीको कार्यालयमा धर्ना दिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला समिति बैतडीले आन्दोलनका कार्यक्रम अघि सारेको हो ।

सरकारले आफुहरुका माग सम्बोधन नगरेको भन्दै जिल्ला भित्रका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी आन्दोलन चर्काउन थालेका हुन् । २६ गते सम्म धर्ना कार्यक्रम गरिने र त्यसपछि पनि अन्य आन्दोलनका कार्यक्रम अगाडी बढाइने विद्यालय कर्मचारी विनोद बोहराले जानकारी दिनुभयो ।

विद्यालयमा कार्यरत कर्मचारी न्यून पारिश्रमिकमा काम गरिरहेका छन् । अहिले सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहयोगीले ८ हजार पाउँछन् भने लेखापालले १३ हजार ५ सयमा डियूटी गर्नु पर्ने बाध्यता छ । सरकारले आफुहरु माथि श्रमशोषण गरेको उनीहरुको आरोप छ । पटकपटक सरकारमा रहेकाहरुको ध्यानाकषर्ण गराउदा पनि आफुहरुका पीडा कसैले नसुनेका उनीहरुको दुखेसो छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?