‘समभोक’ एउटा पठनीय पुस्तक

विनोद दाहाल वत्स
Read Time = 18 mins

अहिले मेरो हातमा एउटा पुस्तक छ ‘समभोग’ शीर्षकमा र यसका लेखक हुनुहुन्छ शिव प्रकाश । यो उहाँको पहिलो औपन्यासिक कृति हो । सुन्दर हरैँचा-१, मोरङमा जन्मेका शिव प्रकाशका यस पहिले ‘जैमली’ र ‘धागी’ दुई कथासङ्ग्रह र ‘जय नेताजी’ र ‘गोलमाल’ दुई हास्यव्यंग्यका पुस्तकहरू प्रकाशित छन् । साहित्यका साथै दर्शन र समसामयिक विषयमा पनि टिप्पणी लेखिरहने शिव प्रकाश हाल अमेरिकाको बोष्टनमा बसोवास गर्दै आउनुभएको छ । उहाँको सिर्जना यो पुस्तक मूलतः अमेरिकामा बसोवास गर्दै आएका नेपालीहरू र त्यहाँको समाज, संस्कार र संस्कृति तथा नेपालीहरूको दिनचर्यामा केन्द्रित छ । पुस्तक डिएमआई साइजभन्दा अलिक सानो साइजमा छ जसलाई स्ट्यान्डर वा उपन्यास साइज पनि भनिन्छ ।

यो पुस्तक शिखा बुक्सले प्रकाशन गरेको छ र ज्ञानज्योति बुक्स पब्लिकेसन प्रा.लि. अद्वेतमार्ग बागबजार वितरक रहेको छ । २०७९ सालमा पहिलो संस्करणका रूपमा प्रकाशित यस पुस्तकको सर्वाधिकार लेखकमै सुरक्षित रहेको छ । लेखक स्वयंको आवरण र नानु बजिमयोको लेआउट छ यस पुस्तकमा । आवरण कालो पृष्ठभूमिमा तारा मण्डल जस्तो लाग्ने तारा, चक्रहरू तथा तलको ठूलो चक्रभित्र प्रेमको चिहृनभित्र सम्भोग, भोग र भोक लेखिएको छ । माथि सेता अक्षरमा उपन्यासकारको नाम शिव प्रकाश लेखिएको छ र त्यसमुनि ठूला सेता अक्षरमा समभोक लेखिएको छ । पुस्तकको छपाइ स्तरीय छ र पहेंलो हलुका कागजको प्रयोग भएको छ । अशुद्धिहरू कमै भेटिन्छन् । पुस्तकमा भूमिका खण्डसमेत २२० पृष्ठ रहेका छन् र पुस्तकको मूल्य ४२५ रुपैयाँ छ ।

पृष्ठ आवरणमा उपन्यासकार शिव प्रकाशको फोटोसहित संक्षिप्त परिचय दिइएको छ र तल यही पुस्तकबाट झिकिएका केही भनाइहरू राखिएको छ । तल किनारामा प्रकाशक संस्था शिखा बुक्सको लोगोसहित नाम दिइएको छ र बारकोडसँगै पुस्तकको मूल्य दिइएको छ । यसै पृष्ठमा राखिएको उपन्यासकारको फोटोको क्रेडिट अशोक अधिकारीलाई दिइएको छ । यस पुस्तकमा कसैको कुनै भूमिका छैन र लेखकीय पछि छैन । सुरुमा एक पृष्ठमा ‘संसारमा तीन कुरा अजम्बरी छन् भोक, भोग र सम्भोग’ भनिएको छ । त्यसपछि भोकको चित्रकुष्ट ! भनिएको छ । त्यसपछि उपन्यासको कथानक अगाडि बढ्छ । यस उपन्यासमा तीन अध्याय वा खण्ड छन् । पहिलो खण्ड भोक हो भने दोस्रो खण्ड भोग र तेस्रो खण्ड सम्भोग हो ।

अमेरिकालाई स्वर्ग ठानेर त्यहाँ पुगेकाहरूको दिनचर्या सोचेजस्तो छैन । १८ घण्टा काम गरेको कमाइ मोजमज्जा ऐस आराममा उडाइरहेकाहरू पनि छन् । त्यहाँ कामलाई सम्मान छ, यौनस्वतन्त्रता छ र कानुनको पालना कडाइका साथ गरिन्छ/गराइन्छ । पुस्तकले यस्तै विषयको उठान गरेको छ ।

उपन्यासमा पात्र बहुलता छ । हुन त उपन्यासमा पात्र धेरै नै हुन्छन् । थोरै पात्र राखेर थोरै परिवेशको मात्र चित्रण भयो भने त्यो कथा बन्छ । कथा र उपन्यास दुवै आख्यान हुन् र यिनमा समाविष्ट तत्वहरूका आधारमा यिनमा सममानता पनि छ तर कथाले थोरै पात्रको थोरै क्षेत्रको चित्रण गर्छ भने उपन्यासले धेरै पात्रको धेरै क्षेत्र वा पक्षको चित्रण गरेको हुन्छ । कथानक, चरित्र वा पात्र, वातावरण वा परिवेश, भाषा शैली र सन्देश वा उद्देश्य कथा र उपन्यास दुवैमा हुने समान तत्व हुन् । त्यसैले यी दुवैलाई एकै नाम दिइएको छ आख्यान भनेर । यो उपन्यास वर्णात्मक वा विवरणात्मक छ । यसको कार्यपीठिका नेपालभन्दा निकै टाढा बोलिचालीमा भन्ने गरेरिएको सात समुद्रपारि अमेरिकाको रहेको छ । गोलाद्र्धको पल्लो छेउको उत्तर अमेरिकका संसारकै स्वर्गलोकका रूपमा हाल चर्चामा छ । त्यहाँ प्रवेश गर्न मानिसले जस्तोसुकै जोखिम मोल्न पनि चाहेका छन् । मेक्सिकोको बाटो भएर धेरै दिन लगाएर त्यहाँ पुग्ने तर सम्मानित नागरिकका रूपमा बस्न नपाउने खण्डमा पनि शरणार्थीका रूपमा भए पनि अमेरिका बस्न चाहनेहरूको लर्को देखिएकै छ । नेपालमा हालै सरकारमा बस्नेहरू यस्तै प्रकरणमा पक्राउ परिरहेका छन् । नेपालीहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिकका पठाउने तयारी गरेर करोडौं रुपैयाँ कुम्ल्याएका घटनाहरू सार्वजनिक भएरहेका छन् ।

यसबाट पनि माथिको भनाइलाई समर्थन पुग्छ । तर, अमेरिकालाई स्वर्ग ठानेर त्यहाँ पुगेकाहरूको दिनचर्या सोचेजस्तो छैन । कसैले रातदिन लगाएर काम गरेका छन् र दिनमा १८ घण्टा काम गरेको कमाइ मोजमज्जा ऐस आराममा उडाइरहेकाहरू पनि छन् । त्यहाँ कामलाई सम्मान छ, यौनस्वतन्त्रता छ र कानुनको पालना कडाइका साथ गरिन्छ गराइन्छ । पुस्तकले यस्तै विषयको उठान गरेको छ । शिव प्रकाशले समभोकको गहिरो र विविध अर्थ लाग्ने शैलीमा यस पुस्तकलाई ‘समभोक’ शीर्षक दिनुभएको छ । यहाँ भोक अविधामा होइन लक्षणामा प्रकट भएको छ । यसको बहुअर्थ लाग्न सक्छ । पेटको भोक, भ्रमणको भोक, यौनको भोकलगायतका अनेकौं भोक मानिसमा हुन्छन् र त्यस्ता भोक पालेर मानिस बाँचिरहेको हुन्छ ।

कसैले त्यसलाई प्रकट गर्दैनन् र कसैले खुलेर प्रकट गर्ने गरेको हुन्छन् । भोक सबैमा सम हुन्छ अर्थात् समान् । ठाउँ, जात, धर्म, आस्था, लिंगले त्यसलाई कमबेसी गर्दैन तर प्रकट गर्न भने बढी र कमको पर्खाल मानिसको स्वभावलगायत कुराले फरक पार्छ । अमेरिका त्यस्तो ठाउँ हो जहाँ यौनउदारता छ । त्यहाँ स्वास्नीमानसिहरू पनि लोग्ने मानिसहरू जत्तिकै स्वतन्त्र र खुलासमेत छन् । अरू देशबाट गएका आप्रवासीहरू अमेरिकामा सामूहिक रूपमा बस्ने गरेको महिला र पुरुषको सामूहिक बसाइ, लिभिङ टुगेदर, यौनसहकर्मी (सेक्सपार्टनर) जस्ता कुराहरू यस उपन्यासमा चर्चा भएको छ ।

त्यसमा नेपालीहरूको संलग्नता पनि अरू समानै छ । यहाँबाट कुनै लोग्ने मानिस र अर्को कसैकी श्रीमती एकल रूपमा त्यहाँ गएका रहेछन् भने पनि त्यहाँ रहुन्जेल त्यस्ता लोग्ने मानिस र स्वास्नी मानिस यौन सहभागीका रूपमा एकै कोठामा बस्ने गर्नसक्छन् भन्ने यो उपन्यासले देखाएको छ । सबैको यस्ता घटना नहोलान् र कसै कसैका होलान् पनि । यस्तै यथार्थ र त्यस यथार्थमा कल्पनासमेत मिसाएर यस उपन्यासको कथानक सिर्जना भएको छ र उपन्यासको मूल प्रवाह बनेर अगाडि बढेको छ । माथि नै भनियो उपन्यास धेरै पात्रको धेरै पक्षको चित्रण गर्ने विधा हो । उपन्यासको यो विशेषता नै हो ।

यो उपन्यास पनि यसको अपवाद छैन । अर्थात् यस उपन्यासमा धेरै पात्र छन् । फूलकुमार, ञमराज, अणबहादुर, ईशु, सुवी, मामासीता, किसनमाया, सुन्दास, सिन्धुका, रेशमी, गोपालजीलगायत धेरै पात्र छन् यस उपन्यासमा । तिनै पात्रलाई माध्यम बनाएर उपन्यासकार शिव प्रकाशले आफ्नो उद्देश्य प्रकट गर्नुभएको छ । आख्यान साहित्यमा लेखकको उद्देश्य भन्नु नै पाठकका लागि सन्देश हो ।

वातावरण वा परिवेशका दृष्टिले पनि उपन्यास सबल छ । वर्तमान समयका मानिसहरूको अमेरिकी गन्तव्यको उत्कट चाहना यसमा प्रकट भएको छ । विदेशीभूमि अमेरिका यसको स्थान बनेर आएको छ र त्यहाँ बस्ने नेपालीहरूको दैनिकी र यौनव्यवहार यसमा चित्रण भएको छ । उपन्यासमा भाषिक अराजकता छैन । विषय यौनको भए पनि त्यसलाई प्रकाट गर्ने सहज सन्तुलित भाषा उपन्यसमा प्रयोग भएको छ । कथा चेतन प्रवाह शैलीमा अगाडि बढेको र सलल बगेको छ । यो उपन्यास परम्पराभन्दा भिन्न छ, यसमा आधुनिक परिवेश छ ।

सबैले अन्तिम लक्ष बनाइरहेको विश्वको शक्तिराष्ट्र अमेरिकामा नेपालीहरूको दिनचर्याको चित्रण गर्नुलाई उपन्यासले आफ्नो उद्देश्य बनाएको छ । अर्थात् जो त्यहाँ बसेका छन् तीबाहेक त्यहाँ जान नपाएका र नचाहेकाहरूलाई उपन्यासकारले यही सन्देश दिन चाहनु भएको छ । उपन्यासले भोक, भोग र सम्भोगको चित्रण गर्न चाहेको छ तर शीर्षक भने ‘समभोक’ भनिएको छ । यसले भोग र सम्भोगलाई पनि भोककै रूपमा देखाउन चाहेको छ भन्न सकिन्छ । शीर्षक एक शब्दमा राखिएको छ तर यो समस्त शब्दका रूपमा ‘सम’ र ‘भोक’ लाई मिलाइर बनाइएको शब्द हो । यो पात्रप्रधान नभई विषयप्रधान शीर्षक हो । यो शीर्षक उपन्यासको सन्देश संप्रेषण गर्न उपयुक्त भएका कारण सार्थक छ ।

अमेरिकामा नाम छैन काम छ र नेपालका काम छैन नाम छ, यहाँ त काम नहुनेको झन् बढी नाम छ । काम गर्दागर्दै आफ्नै नाम बिर्सने ठाउँ हो अमेरिका भन्नुहुन्छ उपन्यासकार । यसो भन्न उहाँ आफैं अघि सर्नुहुन्न आफ्ना पात्रहरूलाई बोल्न लगाउनुहुन्छ ।

तीन खण्डमा विभाजित यस उपन्यासमा प्रत्येक खण्डमा विभिन्न उपखण्ड छन् र विभिन्न उपशीर्षकमा यो विभाजित छ । पहिलो खण्ड भोकअन्तर्गत विभन्न १६ वटा उपशीर्षक छन् । ती प्रायः दुई शब्दमा छन् । भोकको जन्म, भोकको साइनो, भोकको सपना, भोको रातको भोक, भोकको ओखतीमूलो, भोकको दबाई, भोकको रामरौस, मामासिताको भोक, इमर्जेन्सी भोक, भोकको रफ्तार, भोकको लय, भोकको थिएटर, भोकको भ्यालेन्टाइन्स्, सेक्स फ्री अमेरिकाको भोक, भोकको दह र भोको मृत्यु । यी १६ वटामध्ये एउटा भोको रातको भोक तीन शब्दमा र सेक्स फ्री अमेरिकाको भोक चार शब्दमा उपशीर्षकहरू रहेका छन् ।

दोस्रो खण्ड भोग शीर्षकमा रहेको छ । यसमा भोगको विस्तार गरिएको छ । यस खण्डमा विभिन्न पाँचवटा उपखण्ड छन् ती उपखण्डमा पाँचवटा उपशीर्षकमा भोगको चित्र उतारिउको छ । भोगको भोक, भोगको भुइँचालो, भोगको तगारो, भोगको भूस्वर्ग र भोगको भोर रहेका छन् । यी पाँचैवटा उपशीर्षक दुई–दुई शब्दमा छन् । अन्तिम वा तेस्रो खण्ड सम्भोग शीर्षकमा रहेको छ । यसअन्तर्गत विभिन्न छवटा उपशीर्षक छन् । भोकदेखि सम्भोगसम्म, सम्भोगको भोक, समभोक, सम्भोगको जन्म, व्याख्यान र उपख्यान उपशीर्षकहरू हेर्दा यहाँ तीनवटा दुई शब्दका र तीनवटा एक शब्दका उपशीर्षकहरू रहेको पाइन्छ ।

समग्रमा भन्दा यस उपन्यासका उठान गरिएको विषयको प्रस्तुतिका लागि उपन्यासकारले सन्तुलित भाषाको प्रयोग गर्नुभएको छ । आफ्नो देशको नागरिकता समाप्त भएर अर्काका देशको नागरिक बन्दा पार्टी गर्नेहरूप्रति व्यंग्य छ यसमा । यसै गरी लुगा र गहना लगाएर मात्रै मानिस त्यहाँ जनावरभन्दा भिन्न छ नत्र यौनमा समान छ भन्दै परपुरुषको चाहना गर्ने महिला र परस्त्रीको चाहना गर्ने पुरुषहरूको सामूहिक यौनजीवन यस उपन्यासले देखाएको छ । उपन्यासमा कतै कतै काव्यात्मक अभिव्यक्ति पनि पाइन्छ । विदेशिएका मान्छेभित्र दागिएको दुर्भिक्ष दुःखको भोक हो र त्यो युनिभर्सल भोक हो । त्यही नै समभोक हो भन्ने उपन्यासलाई लाग्छ ।

पुस्तक, साहित्यअमेरिकामा नाम छैन काम छ र नेपालका काम छैन नाम छ, यहाँ त काम नहुनेको झन् बढी नाम छ । काम गर्दागर्दै आफ्नै नाम बिर्सने ठाउँ हो अमेरिका भन्नुहुन्छ उपन्यासकार शिव प्रकाश । यसो भन्न उहाँ आफैँ अघि सर्नुहुन्न आफ्ना पात्रहरूलाई बोल्न लगाउनुहुन्छ । जीवनको आनन्दमय सुमधुर संगीत सम्भोग हो र यसका लागि दुबैको सुर मिल्नुपर्छ भन्नुहुन्छ उपन्यासकार । जीवनको सबैभन्दा अग्लो सगरमाथा क्षमाको सगरमाथा हो । लोग्ने स्वास्नीको जीवनको साँघु हो सम्भोग भन्ने लाग्छ उपन्यासकारलाई ।

उहाँ प्रेमविनाको भोक आत्माविनाको शरीर हो भन्नुहुन्छ । उहाँ संसार सधैं जीवितले चलाउँछ पनि भन्नुहुन्छ । उहाँ यो संसारमा तीन कुरा सधैं जीवित छन्-भोक, भोग र सम्भोग । यी मरे संसार पनि मर्छ भन्नुहुन्छ । उहाँका यी सबै भनाइहरू शाश्वत लाग्छन् । पुस्तकको ‘उपाख्यान’ निष्कर्ष पनि हो । यहाँ उहाँ भन्नुहुन्छ सम्भोगबाट सन्तुष्टि होइन भोक जन्मनुपर्छ । मान्छेको जीवनसाथी मान्छे होइन, भोक र मृत्यु मान्छेका जीवनसाथी हुन् । मान्छेलाई मान्छेसँगै सबैभन्दा बढी विश्वास छ र मान्छेलाई मानछेसँगै सबैभन्दा बढी त्रास छ । मान्छेलाई जिउँदाले धोका दिन्छ, मृत्यु र मृतकले धोका दिँदैन ।

मानिससँगको साइनो भोकले नै जोड्छ र भोकले नै तोड्छ । सारा साइनो भोकको ‘बाई-प्रडक्ट’ हो भन्ने निष्कर्षका साथ ‘समभोक’ शीर्षकको यस उपन्यासका उपन्यासकार शिव प्रकाशले आफ्नो उपन्यासको समापन गर्नुभएको छ । व्यंग्य र आख्यानका अग्रणी शिव प्रकाशलाई पुस्तकका लागि बधाई तथा धन्यवाद, पुस्तकको सफलताको कामना । यस्तै अन्य पुस्तकहरूको सिर्जनाका लागि उहाँको सक्रियता र अपेक्षाको अग्रीम शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?