पाल्पा जिप दुर्घटना : मृतकको संख्या चार पुग्यो, पाँच जनाको अवस्था गम्भीर

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 2 mins

पाल्पा । पाल्पाको रैनादेवी छहरा-८, सत्यवतीस्थित केवरेडाँडामा बलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । तीन जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्युहुनेमा अर्घाखाँची जिल्ला पाणिनी-१, की ५५ वर्षीया श्यामकला परियार, सोही स्थानका २६ वर्षीय चालक रमेश विक, पाणिनी-२ पोखराथोककी २५ वर्षीया सिता गौतम रहनुभएको छ। यस्तै अर्घाखाँची पाणिनी गाउँपालिका–२, का २ वर्षीय बालक संयोग गौतमको उपचारको क्रममा राति लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जिप आइतबार साँझ सो स्थानामा दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते पाँच जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा, दुई जनाको चौराहा अस्पताल बुटवल र चार जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिप सडकदेखि करिब ७० मिटर तल अनियन्त्रित भएर खसेको थियो । अत्याधिक लोड भएकाले साघुरो बाटोमा लोड थाप्न नसकी व्याक भई दुर्घटना भएको हुन सक्ने बताइएको छ ।

दुर्घटनासम्बन्धी अहिले अनुसन्धान भइरहेको प्रनाउ थापाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?