पाल्पा जिप दुर्घटना: मृतको संख्या पाँच पुुग्यो, सबैको सनाखत

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 4 mins

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८ सत्यवती केवरेडाँडामा भएको जिप दुर्घटनामा मृत्युु हुनेको संख्या ५ पुुगेको छ । आइतबार साझाँ रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्वरको जिप केवरेडाँडामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घटनास्थलमा ३ जना र उपचारका क्रममा २ जनाको मृत्यु भएको हो । मृतक पाँचै जनाको सनाखत भएको छ । मृत्यु हुनेहरुमा पाणिनी गाउँपालिका-१ पणेनाकी ५५ बर्षीया श्यामकला परियार, वडा नंं २ पोखराथोकका २६ बर्षीय चालक रमेश विक, सोही स्थानकै २५ बर्षीया सिता गौतम, सोही ठाउँकै २ बर्षीय संयोग गौतम र वडा नं १ का ४४ वर्षीय विजय पोखरेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताउनुभयो । संयोग र विजयको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाइएको छ ।

दुर्घटनामा १० जना घाईते भएका छन् । दुर्घटना हुनेमा पाणीनी गाउँपालिका-१ पणेनाका ६६ वर्षीय रामबहादुर विक, सोही ठाउँकै ५ वर्षीया पार्वती पोखरेल, सोही ठाउँका १० वर्षिय सोलिन परियार, वडा नंं २ पोखराथोकका ६ वर्षीय संयोग गौतम, गुल्मीको रुरु क्षेत्र गाउँपालिका बलेटक्सारका ९ वर्षीय सार्थक ज्ञवाली रहेका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ ।

यस्तै अर्घाखाँची पाणेनी गाउँपालिका-१ पणेनाका ४० वर्षीय विजय हरी गौतमको बुटवलको चौराहा अस्पतालमा उपचार भईरहेको छ । यसैगरी अर्घाखाँची छत्रदेव गाउँपालिका-४ धरम्पानीका ७ वर्षीय समिर पाण्डे, सोही ठाउँकै १० वर्षीय अनुप सोमरे, पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानकी ३४ वर्षीया लक्ष्मी पोखरेल, निजकी ५ वर्षीया छोरी आर्या भण्डारी रहेका छन् । उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मृतक मध्ये ४ जना अर्घाखाँचीको पाणिनी र पोखराथोकका रहेका छन् । दुर्घटनापछि यी गाउँ शोकमग्न भएका छन् । दुर्घटना भएको बलेरो जिप रातो प्लेटको निजी सवारी साधन रहेको हो । सालझण्डी-अर्घाखाँची ढोरपाटन सडकमा अत्याधिक मात्रामा निजी प्रयोजनका सवारी साधनले नियमित रुपमा यात्रु तथा मालसमान बोक्दै आएका छन् । जिप अत्याधिक लोड भएकाले साघुरो बाटोमा लोड थाप्न नसकी व्याक भई दुर्घटना भएको हुन सक्ने बताइएको छ । जिप सडकबाट करीव ७० मिटर तल खसेकोे छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?