आयुर्वेद प्रतिको मोह बढ्दो

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 5 mins

बारा । आयुर्वेदलाई चिकित्सा विज्ञानको जननीको रुपमा लिने गरिन्छ । पौराणिक कालमा जडीबुटीको प्रयोग गरि मानिसहरु रोगलाई निको पार्थे । उनीहरुसँग अहिलेको जस्तो औषधीको सुविधा थिएन । कुनै रोग भए वैद्य तथा ऋषी मुनि कहाँ औषधी लिन जानु पर्ने बाध्यता रहदै आएको थियो । मानव जीवनको विकास सँगै विस्तारै यो पद्धति विलिन हुँदै गयो । यसको साटो एलोपैथ तिर मानिसहरुको झुकाव बढ्न थाल्यो । छिटो छरितो र कम समयमा रोगबाट मुक्ति पाउनको लागि उनीहरु एलोपैथतिर आकर्षित हुदै गए । जसको कारण अहिले आयुर्वेदको अवस्था खासै राम्रो देखिएको छैन । तर अहिले पनि कतिपय मानिसहरु आयुर्वेदलाई नै सबभन्दा राम्रो र रोगलाई जडै देखि निर्मूल पार्ने पद्धतिको रुपमा लिने गरेका छन् । यो औषधी जडीबुटीबाट बनेको कारण यसको नकारात्मक असर पनि शरीरमा नहुने भएकोले अहिले मानिसहरुको झुकाव आयुर्वेद प्रति बढदै गएको पाइन्छ ।

एलोपैथ पद्धतिले समाजमा आफ्नो जराे गाडेको छ । तर पनि आयुर्वेद प्रतिको मानिसहरुको मोह समाप्त हुन सकेको छैन । उनीहरु अहिले पनि आयुर्वेद प्रति बढी विश्वसनीय देखिएका छन् । बारा जिल्लाको सदरमुकाम देखि १३ किलोमीटर पूर्वमा रहेको बारागढी गाउँपालिकाका स्थानीयहरुको झुकाव एलोपैथ भन्दा आयुर्वेद तिर बढी रहेको बारागढी गाउँपालिका आयुर्वेद शाखाका प्रमुख (बैद्य) रामप्रवेश यादवले बताउनुभयो ।

दिनहुँ जसो ४० देखि ५० जनाको हाराहारीमा विरामीहरु आउने गरेका छन्, उहाँले भन्नुभयो,‘यहाँ एलोपैथ भन्दा आयुर्वेदीक औषधी प्रयोग गर्न स्थानीयहरु बढी .रुचाउँछन् । एलोपैथले रोग छिटो निको पार्छ तर त्यसको नकारात्मक प्रभाव पनि शरीरमा पर्छ । एलोपैथमा विभिन्न केमिकलहरु प्रयोग गरिएको हुन्छ जुन एकातिर रोग निको पार्न सहयोग त गर्दछ तर त्यो औषधीको नकरात्मक प्रभाव पनि शरीरमा पर्ने गर्दछ । एकातिर रोगलाई पूर्ण रुपमा निको नगरि तुरुन्त आराम दिलाउँछ भने अर्को तर्फ औषधीको दुष्प्रभाव शरीरमा पर्ने डरले स्थानीयहरुले एलोपैथ भन्दा आयुर्वेद तिर नै बढी आकर्षित हुने गरेको उहाँले जानकारी दिनुभयो ।’

हामीलाई औषधी आपूर्ति गर्न धौ धौ परेको छ,उहाँले भन्नुभयोे,‘अहिले औषधीहरु कम भएका छन् तर पनि मानिसहरुको भिडभाड कम हुन सकेको छैन । अहिले पनि दिनहुँ १५ देखि २० जना चेकजाँच गराउन र औषधी लिन आयुर्वेद शाखामा आउने गरेको उहाँले बताउनुभयो ।’

हामीले जिल्ला स्थित प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय कलैयाबाट औषधी माँग गरेका छौ, तर अहिलेसम्म आएको छैन, हामीले सरकारबाट २३ प्रकारका औषधी निःशुल्क पाउने गरेका छौ । अहिले हामीसँग ७ प्रकारको औषधी मात्र उपलब्ध रहेको छ । औषधी अभावमा निःशुल्क पाउने औषधी पनि स्थानीयहरुले किन्नु पर्ने बाध्यता रहेको छ । औषधीको बारेमा पटक पटक जिल्ला स्थित प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालयलाई ताकेता गरिरहेका छौ, उहाँले भन्नुभयोे,‘अर्को तर्फ बारागढी गाउँपालिकाले समेत औषधीको अभाव हुन नदिन र जिल्लाबाट निःशुल्क नपाउने औषधीहरु लिष्ट बनाई खरीद प्रक्रिया अगाडी बढाएको छ । आयुर्वेदिक औषधी खरीदको लागि बारागढी गाउँपालिकाले ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको यादवले जानकारी दिनुभयो । केही दिन भित्रै औषधी आपूर्ति हुने उहाँले बताउनुभयो ।

केही दिन भित्रै औषधी आपूर्ति हुने जिल्ला स्थित प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालयका प्रमुख डा. पुनिता केशरीले बताउनुभयाे । उहाँले प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गरेकाे र केही दिन भित्रै औषधीको आपूर्ति हुने जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?