बेन्जेमाको गोलमा रियल जोगियो

Read Time = 3 mins

म्याड्रिड । करिम बेन्जेमाले आफ्नो अन्तिम खेलमा रियल म्याड्रिडलाई हारबाट जोगाउनुभएको छ । सोमबार रियल म्याड्रिडका लागि अन्तिम खेल खेल्नुभएका बेन्जेमाको गोलमा रियलले एथलेटिको बिल्वाओसँग १-१ गोलको बराबरी खेलेको छ ।

बिल्वाओका ओइहान सानसेटले गोल गर्दा रियलका कप्तान करिम बेन्जेमाले बराबरी गोल फर्काउनुभयो । खेलको ४९औँ मिनेटमा ओइहान सानसेटले गोल गर्दै बिल्वाओलाई १-० को अग्रता दिलाउनुभयो । ७२औँ मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । युरी वरचिचेले एडर मिलिसाओलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा बेन्जेमाले गोल गर्नुभएको हो ।

३५ वर्षीय बेन्जेमा रियलको सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो नम्बरमा हुनुहुन्छ । बेन्जेमाले रियलबाट पाँच च्याम्पियन्स लिग र चार ला लिगा जित्नुभएको छ । बेन्जेमाले १४ सिजनमा रियलका लागि ६४८ खेलमा ३५४ गोल र १६५ असिस्ट प्रदान गर्नुभएको छ । उहाँले रियलबाट २५ उपाधि जित्नुभएको छ । यस बराबरीसँगै रियल ३८ खेलबाट ७८ अंक जोडेर दोस्रो स्थानमा रहृयो । बिल्वाओ ५१ अंक जोडेर आठौँ स्थानमा रहृयो ।

यस्तै, इटालियन क्लब एसी मिलानका स्विडिस भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ । ४१ वर्षीय ज्लाटनले पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड र एसी र इन्टर मिलानजस्ता क्लबहरूका लागि ५११ गोल गर्नुभएको छ । इब्राहिमोभिक सन् २०२० को सुरुमा एसी मिलानसँग जोडिनुभएको थियो । त्यसअघि उहाँले सन् २०११ देखि मिलानमा खेल्नुभएको थियो ।

इब्राहिमोभिचले १४ लिग उपाधिसहित ३४ ट्रफी जित्नुभएको छ । उहाँ ११ पटक बालोन डी’ओरका लागि मनोनित हुनुभएको थियो । उहाँले सन् २०१७ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट युरोपा लिग जित्नुभएको थियो । ज्लाटनले १२२ खेलमा ६२ अन्तर्राष्ट्रिय गोल गर्नुभएको छ । उहाँ स्विडेनको सर्वकालीन शीर्ष गोलकर्तासमेत हुनुहुन्छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?