अभिव्यक्ति शृंखलामा गुञ्जिए धन गुरुङ

हिमालय टाइम्स
Read Time = 4 mins

बेलायत । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको १४औं अभिव्यक्ति शृंखला सम्पन्न भएको छ । फोल्कस्टोन स्थित नविन्तन भिलेज हलमा सम्पन्न चौधौं शृंखलामा बहुप्रतीभासाली स्रष्टा गायक, संगीतकार, निर्देशक तथा समाजसेवी धन ‘किरण’ गुरुङलाई मञ्च प्रदान गरिएको थियो । शनिबार सम्पन्न कार्यक्रममा स्रष्टा धन किरण गुरुङलाई नेपाली टोपी र ताम्र पत्रले सम्मान गरिएको थियो । झण्डै दुई घण्टा चलेको उक्त कार्यक्रममा स्रष्टा गुरुङले पन्ध्रवटा उत्कृष्ट गीत प्रस्तुत गर्दै दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष गणेश राईको सभापतित्व र गैरआवसीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगरको प्रमुख आतित्थ्य रहेको कार्यक्रममा केन्ट काउन्टी काउन्सेलर रोरी लव बिसेश अतिथिका रूपमा रहनुभएको थियो । यसैगरी उक्त कार्यक्रममा सहभागीमाझ वरिष्ट संगीतकार गणेश गुरुङ, निर्देशक प्रभु गुरुङ, गायक तथा संगीतकार बिसी राई, हिमालयन ब्याण्डका ड्रमर राजीव राई जस्ता स्थापित स्रष्टासमेत रहनुभएको थियो । प्रतिष्ठानका सचिव नरेश नातिले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने संस्थाका पूर्वअध्यक्ष दयाकृष्ण राईले स्वागत मन्तव्य राख्नुभएको थियो ।

विसं २०३८ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गर्नुभएका गायक धन ‘किरण’ गुरुङले चारसय जति गीतमा आफ्नो स्वर दिनुभएको छ । कलिलो उमेरमै ब्रिटिश गोर्खा पल्टनमा आबद्ध हुन पुग्नुभएका उहाँको सन् १९८७ मा ‘डाडाँ पारिको त्यो गाउँमा’ बोलको गीत बिएफबिएस गोर्खा रेडियो हङकङमा गाएपछि निकै चर्चामा रहेको थियो । पपस्टार नोर्देन तेन्जिङ भुटियालगायतको हिमालयन व्याण्ड सन् १९९० बाट धन ‘किरण’ गुरुङले हिमालयन व्याण्ड दुई नामले सञ्चालन गर्दै आइरहनुभएको छ । उहाँको गीति एल्वमहरू ‘चाहाना’-सन् १९९१, ‘अतीत’-सन् १९९४, ‘भावना’-सन् २००० साल, ‘फेरि आज’-सन् २००२ साल, ‘जिन्दगी’-सन् २००४ साल र ‘जोर्नी’-सन् २०१४ सालमा प्रकाशित भएको छ । उहाँको लोकप्रिय गीतहरू ‘तिमी र म’, ‘किन हो किन’ र ‘हावा सरर’ले नेपालको विभिन्न म्युजिक अवार्डहरू जित्न सफल भएको पाइन्छ । उहाँका केही गीत र तीनका भिडियोले विश्वभरिका दर्शक श्रोताहरूको मन जित्न सफल भएका छन् । धन ‘किरण’ गुरुङको आफ्नै म्युजिक कम्पनी डिजी प्रोडोक्शन हाउसमार्फत गीत रेकर्डिङ, म्युजिक भिडियो र छोटा फिल्म उत्पादन गर्ने र भ्वाइस रेकर्डिङ कार्यहरू गरिरहेको छ । गायनबाहेक गीत लेखन, संगीत संयोजन र म्युजिक भिडियो निर्देशनमा पनि उहाँ सक्रिय रहँदै आउनुभएको छ ।

ब्रिटिश गोर्खा सेनामा लामो समय सेवा गर्नुभएका धन ‘किरण’ गुरुङको सामाजिक क्षेत्रमा पनि त्यतिकै सक्रिय हुनुहुन्छ ।
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतलले स्थापना कालदेखि बेलायतमा प्रत्येक वर्ष अभिव्यक्ति शृंखलाको आयोजना गरेर एकजना स्रष्टालाई मञ्च प्रदान गरी उनको सिर्जनाहरू प्रस्तुत गर्दै आइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?