रानी-जमराको बजेट खर्च नहुँदै थपियो दुई अर्ब ६३ करोड

Read Time = 4 mins

कैलाली । कैलालीमा निर्माणाधीन रानी-जमरा कुलरिया आयोजनाको काम १४ वर्ष बितिसक्दा पनि ६३ प्रतिशतमात्रै सम्पन्न भएको छ । २०६६ देखि निर्माण सुरु भएको राष्ट्रिय गौरवको आयोजना २०८० सम्म आइपुग्दा ६३ प्रतिशतमात्र प्रगति देखिएको हो । कैलालीमा ३८ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको सो सिँचाइ आयोजनाको काम सुस्त छ । चालु आर्थिक वर्षका लागि दुई अर्ब ८५ करोड बजेट विनियोजन गरिए पनि आधाभन्दा बढी बजेट अझै खर्च हुन बाँकी छ । तर पनि सरकारले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ६३ करोड बजेट विनियोजन गरेको छ । आयोजना निर्माणमा बजेटको अभाव नभए पनि आयोजना कार्यालय र ठेकेदारको लापरबाहीले निर्माणको गति सुस्त रहेको हो । २७ अर्ब लगानीको राष्ट्रिय गौरवको सिँचाइ आयोजना रानी-जमरा कुलरियाको निर्माण सम्पन्न हुने बेला प्रगति ६३ प्रतिशतमात्र देखिएको छ । आयोजना २०८०/८१ मा सक्ने लक्ष्य थियो ।

आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि दुई अर्ब ८५ करोड बजेट विनियोजन गरिएकोमा प्रगति ५० प्रतिशतमात्र देखिएको रानी-जमरा-कुलरिया सिँचाइ आयोजना कार्यालयका सिनियर डिभिजन इञ्जिनियर प्रेम लासिवाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चालु आर्थिक वर्षका लागि दुई अर्ब ८५ करोड बजेट विनियोजन भएकोमा अहिलेसम्म ५० प्रतिशत खर्च भइसकेको छ, असारसम्म थप एक अर्ब खर्च गरेर ८०/८५ प्रतिशत प्रगति देखिने गरी काम भइरहेको छ ।’

विश्व बैंकको सहयोगमा निर्माणाधीन आयोजनाको डेढ वर्ष म्याद थप गर्ने निर्णय भएकाले अब निर्माण कार्यले तीव्रता पाउने आयोजना कार्यालयको दाबी छ । आयोजना निर्माण गर्न ठेक्का प्रक्रियामा लाग्ने समयका कारण निर्माणमा समय लाग्ने गरेको इञ्जिनियर लासिवाले बताउनुभयो । आयोजनाअन्तर्गत प्रथम चरणको १४ हजार तीन सय हेक्टर सिञ्चित हुने शाखा नहर सञ्चालन गरी बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने भन्दै संघीय सरकारले बजेट विनियोजन गरेको छ ।

साथै लम्की मूल नहरको शाखा तथा उपशाखा नहरबाट थप एक हजार पाँच सय हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिने योजना छ । हरेक वर्ष सबैभन्दा बढी बजेट रानी-जमरा-कुलरिया सिँचाइ आयोजनाको नाममा विनियोजन हुँदै आए पनि बजेटअनुसार काम भने हुने गरेको छैन । सरकारले रानी-जमरासँगै कञ्चनपुरको महाकाली सिँचाइ आयोजनालाई पनि राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ तर महाकालीको हालत पनि रानी-जमरा जस्तै छ । ब्रहृमदेव क्षेत्रको दुई हजार नौ सय हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउन शाखा नहर निर्माणका लागि भन्दै आगामी आर्थिक वर्षका लागि एक अर्ब १७ करोड बजेट विनियोजन गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?