माओवादीले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने

सरकारबाट बाहिरिने विषयमा मतभेद

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सरकारको नेतृत्व दाबी गरेको छ । सोमबार बसेको माओवादी संसदीय दल कोशी प्रदेशको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो । बैठकले दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने निर्णय लिएको हो । जसका लागि आङ्बोको नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि पहल समिति गठन गरेको छ । समितिले नयाँ सरकार गठनबारे अन्य दलहरूसँग छलफल गर्नेछ ।
आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने निर्णय गरेको माओवादीले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे भने कुनै निर्णय गरेन ।

सरकारबाट बाहिरिने कि नबाहिरिने भन्ने विषयमा मतभेद भएपछि यसबारे निर्णय नै नगरी बैठक सकिएको हो । बजेट नल्याएसम्म सरकार छोड्न नहुने केही नेताको अडानका कारण बैठक समर्थन फिर्ताबारे निर्णय नै नगरी सकिएको हो । मंगलबार नेताहरूसँग थप छलफल गरेर मात्रै यसबारे निर्णय गर्ने प्रदेशसभा सदस्य गणेश उप्रेतीले बताउनुभयो ।

केन्द्रको सत्ता गठबन्धनविपरीत कोशी प्रदेशमा एमाले नेतृत्वका सरकार कायमै छ । कोशी प्रदेशबाहेक ६ प्रदेश र संघीय सरकारमा एमाले प्रतिपक्षमा छ । तर, कोशी प्रदेशमा मात्र केन्द्रको विपरीत सरकार छ । माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा पुस २५ गते नेकपा एमालेको नेतृत्वमा हिक्मत कार्की मुख्यमन्त्री बन्नुभएको थियो । जनता समाजवादी पार्टी भने समर्थन फिर्ता लिँदै सरकारबाट बाहरिसकेको छ ।

प्रदेश सरकारबाट बाहिरिन र समर्थन फिर्ता लिन माओवादी र जसपालाई जेठ ५ गते नेपाली कांग्रेसले लिखित रूपमा आग्रह गरेको थियो ।

९३ जनाको प्रदेशसभा रहेको कोशी प्रदेशमा सरकार निर्माणको लागि आवश्यक बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ । माओवादीले समर्थन फिर्ता लिएमा भने वर्तमान सरकार अल्पमतमा पर्ने देखिन्छ । उता, एमाले र राप्रपा बाहेकका पार्टीहरू मिलेर सरकार बनाउन सक्ने सम्भावना पनि कम नै छ । कांग्रेस, माओवादी, नेकपा एस र जसपाको गरी ४७ सांसद पुगे पनि सभामुखले विश्वासको मत दिन नपाउने कानुनी व्यवस्था छ ।

प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका ४० सांसद छन् । दोस्रोमा रहेको कांग्रेसका २९ सांसद छन् भने तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । माओवादीका १३ सांसद छन् । त्यसैगरी राप्रसा ६ सांसद छन् भने नेकपा एकीकृत समाजवादीका प्रदेशसभामा चारजना सांसद रहेका छन् । कोशी प्रदेशमा जसपाको एक सिट छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?