मूल्यमान्यताविहीन राजनीति देश विकासको बाधक

Read Time = 13 mins

राजनीतिक अस्थिरताका कारण विकास निर्माणका काम ठप्प हुने गरेका छन् । विकासको बाधक नै राजनीतिक अस्थिरता हो भन्दा फरक पर्दैन । राजनीति अस्थिरताले गर्दा देश संकटमा पर्ने सम्भावना पनि बढ्दै गएको छ । आज वर्तमान उपलब्धिलाई समाप्त पार्न विभिन्न शक्ति यो वा त्यो रूपमा सलबलाइरहेका देखिन्छन् । हामीले प्राप्त गरेका उपलब्धि गुम्ने खतरा पनि उत्तिकै बढेर गएको छ । कारण के हो भने परिवर्तनकारी शक्तिहरू विभाजित भएर गएका छन् । यसले यसको विरुद्धमा लागेका शक्तिलाई बल पुर्‍याएको छ ।

ठूला राजनीति दलहरू सत्ता स्वार्थ र देश लुट्ने धन्दामाबाहेक अरू केमा लागे ? भनेर यतिबेला आमसर्वसाधारणदेखि राजनीतिका पण्डितहरू प्रश्न गर्न थालेका छन् । ठूला दलहरू पटक-पटक सरकारमा गए तर देश र जनताका लागि के गरेर देखाए ? आज जनतामा चरम असन्तुष्टि बढेर गएको देखिन्छ । यो देशका लागि राम्रो संकेत होइन । नेपालमा किन विकास हुन सकेन ? आज सबैले प्रश्न गर्दैआएका छन् । राजनीति दलहरू बेइमान भए । देश र जनताप्रति इमानदार भएनन् ।

त्यस कारणले पनि देशको विकास हुन नसकेको हो । देशमा राजनीतिक अस्थिरता बढेर गयो भने विकास हुँदैन । अर्को कुरा बारम्बार सरकार परिवर्तन हुनाले पनि विकासको बाटो अवरुद्ध बनेको छ । सरकारको स्थायित्वले मात्र विकासलाई तीव्रता दिन सक्दछ । सरकार बारम्बार परिवर्तन भयो भने विकास नै हुँदैन भन्ने कुरा धेरै पहिलेदेखि उठ्दै आएको कुरा हो । राजनीतिक अस्थिरता नै देशका लागि ठूलो समस्या हो । राजनीतिक अस्थिरताले सबै कुरा खलबल्याएको छ ।

दूरदर्शी नेतृत्व (भिजिनरी लिडरसिप) विकासको पहिलो शर्त हो । आजका सिंगापुर, मलेशिया, दक्षिण कोरिया सफल नेतृत्वका उपज मानिन्छन् । नेपाललाई अब कहाँ पुर्‍याउने भन्ने स्पष्ट सोच र सो सोचलाई मूर्तरूप दिने कार्यान्वयनयोग्य कार्ययोजना तय गर्न सक्ने राजनेता देशले खोजिरहेको छ ।

नेपालमा प्रजातन्त्रको उदयपश्चात् कुनै पनि सरकारले पूर्णकार्यकाल काम गर्न पाएको देखिँदैन । २००७ सालमा प्रजातन्त्रको उदयपश्चात् ६ वटा संविधान जारी भइसके । कुनै पनि संविधानले आफ्नो औचित्य पुष्टि गर्न सकेनन् । हुन त संविधानका व्यवस्था अमूर्त हुन्छन् । यसलाई मूर्तरूप दिने भनेको सरकारले नै हो । संविधान राज्यको मूल नीति हो । यो सात दशक राजनीतिक व्यवस्था परिवर्तनकै चक्रब्यूहमा बित्यो । यसले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, सुरक्षा, परराष्ट्र नीति पनि अलमलमै रुमलिए । नेपालको संविधानले समाजवाद उन्मुख भन्यो तर त्यसको विस्तृत व्याख्या हुन सकेन । के हो समाजवाद ? समाजवाद उन्मुख भनेको के र कुन बिन्दुसम्मको विषय हो । अझै स्पष्ट हुनसकेको देखिँदैन ।

दूरदर्शी नेतृत्व (भिजिनरी लिडरसिप) विकासको पहिलो शर्त हो । आजका सिंगापुर, मलेशिया, दक्षिण कोरिया सफल नेतृत्वका उपज मानिन्छन् । नेपाललाई अब कहाँ पुर्‍याउने भन्ने स्पष्ट सोच र सो सोचलाई मूर्तरूप दिने कार्यान्वयनयोग्य कार्ययोजना तय गर्न सक्ने राजनेता देशले खोजिरहेको छ । नेतृत्वको भिजनलाई मूर्तरूप दिन देश-काल-परिस्थिति अनुकूलको नीति आवश्यक हुन्छ । नेपालको सुरक्षा नीति के हुने, परराष्ट्र सम्बन्ध के कस्तो हुने, भारत, चीन तथा अन्य मुलुकसँगको सम्बन्ध र सीमा के हुने, अर्थतन्त्रको विकास र विस्तारका लागि न्यूनतम् साझा नीति तथा कार्यक्रम के हुने भन्ने विषयमा स्पष्ट नभई विकासमा फड्को मार्न सकिने अवस्था देखिँदैन ।

दूरदर्शी नेता र नीतिको विकास राजनीतिक दलहरूले गर्न सक्नुपर्दछ । यसका लागि दलको आन्तरिक लोकतन्त्र सबल हुनु जरुरी छ । सरकारको नीति तथा कार्यक्रमको मूल मर्म र भावना अनुसार कार्यान्वयन गर्न इमानदार/नैतिकवान कर्मचारीतन्त्र चाहिन्छ । नागरिकका हक अधिकारप्रति संवेदनशील नागरिक समाज अहिलेको आवश्यकता हो । नागरिक समाजका क्रियाकलापमा राजनीतिक गन्ध आउन दिनु हुँदैन । विकासका लागि सरकारलाई निरन्तर खबरदारी गर्ने यस दिशामा नागरिकलाई डोर्‍याउन सक्ने नागरिक समाज अपरिहार्य हुन्छ । अबको हाम्रो एकमात्र कार्यभार भनेको विकासका लागि राष्ट्रिय सहमति र साझा धारणाको विकास गर्नु र सोको इमानदारीपूर्वक कार्यान्वयन नै हो ।

हाम्रो देशमा राजनीतिक विकास भएर गएको मान्नुपर्छ । तर, विकासका लागि गरिने राजनीति भने संस्थागत भएर अगाडि बढ्न सकेको छैन । व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन हुन सकेन । जनताले परिवर्तनको अनुभूति गर्न पाएनन् । देश बन्ला र जनतामा समृद्धि आउला, सुखी र खुशी जीवन बिताउँला भन्ने आश मरेर गएको छ । नेपाल सम्भावना नै सम्भावनाले भरिपूर्ण देश हो । यहाँ विकासका सम्भावना हुँदाहुँदै पनि यो मुलुक गरिबी र पछौटेपनमै पिल्सिरहेको छ ।

यथास्थितिमा देश चल्न सक्दैन । व्यवस्था बदलियो, जनताको अवस्था बदलिन सकेन । लामो समयसम्म जनता भ्रममा परे । नेताहरू मोटाउने जनता दुब्लाउँदै जाने परिपाटी चल्यो । देशमा यति ठूलो परिवर्तनपछि पनि जनता हिजो जुन अवस्थामा थिए आज पनि त्यही अवस्थामा छन् ।

विकासका लागि आवश्यक पुँजी र प्रतिभा पलायन भएको छ । गरिबीको चक्रब्युहमा फसिरहेको छ । आयातीत वस्तु र रेमिट्यान्समा निर्भर अर्थतन्त्र छ । देशको राजनीति सही दिशामा अघि बढ्न सकिरहेको छैन । राजनीतिलाई विकृतिले गाँजेको छ । अहिले समाजमा असमानता, हिंसा, बलात्कारजस्ता विकृति बढिरहेका छन् । राजनीतिक दल र सरकारमा पदासीन नेतृत्वपंक्तिले राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सकिरहेका छैनन् । नागरिकलाई आफू र आफ्नो परिवार, दल वा संगठन र सोभन्दा माथि राष्ट्र हुन्छ भन्ने अनुभूति गराउनु राज्यको पहिलो दायित्व हो । हामीकहाँ देश सरकारले होइन, माफिया, तस्कर र दलालले चलाएको विभिन्न घटनाक्रमले त्यस्तो भान हुने भनाइ छ । देशमा यिनीहरूकै बिगबिगी छ ।

यहाँ राज्यशक्ति र स्रोत परिचालनमा सत्ताधारीहरूको कुनै भूमिका रहँदैन । मुलुक हाँक्नेहरूले आफ्नो दायित्व के हो भन्ने सम्झे भने विकासमा कुनै किसिमको अवरोध सिर्जना हुँदैन न त अन्तरघाती खेल नै हुन्छ । सत्ताधारीपक्ष र आपराधिक समूहको मिलनबिन्दु स्वार्थमा गाँजिएको छ भने पक्कै पनि मुलुकको दुर्गति हुन्छ । त्यस अवस्थामा एउटाले अस्थिरता सिर्जना गराई फाइदा लुट्ने र अर्काले सत्ता टिकाउने खेल खेल्छ । मूल्यमान्यताविहीन राजनीति गर्दा र व्यक्तिगत स्वार्थकेन्द्रित चरित्र प्रदर्शन गर्दा मुलुक गलत बाटोतर्फ जान सक्छ । यस्ता खेल खेलिनु भनेको राष्ट्रप्रतिको बेइमानी र गद्दारी हो ।

राष्ट्रियताका संवेदनशील यी अपारदर्शी खेलहरूको अन्त्य गर्नुपर्छ र त्यसका लागि राजनीतिक संस्कार परिष्कार गर्नुपर्छ । राजनीतिक नेतृत्व इमानदार र सक्षम मात्रै भइदियो भने पनि मुलुकका अधिकांश जटिलताहरूको समाधान हुन्छ । राजनीतिक नेतृत्वले दूरदर्शी सोच र दृष्टिकोण राखेर मूल्यमान्यता, विचार, आदर्श र संस्कारयुक्त राजनीति गरेको खण्डमा अहिलेको अस्तव्यस्त समाजमा व्यापक सुधार आई सामाजिक न्याय र सुशासन कायम हुनेछ । दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्छ । विकासका नवीन मोडल, प्रविधि र शैलीको प्रयोग गर्नुपर्छ । मौलाउँदो भ्रष्टाचार र वैदेशिक हस्तक्षेपलाई निरुत्साहित गर्नुपर्छ । कानुनको शासन हुनुपर्छ ।

अब यथास्थितिमा देश चल्न सक्दैन । व्यवस्था बदलियो तर जनताको अवस्था बदलिन सकेन । लामो समयसम्म जनता भ्रममा परे । नेताहरू मोटाउने जनता दुब्लाउँदै जाने परिपाटी चल्यो । देशमा यति ठूलो परिवर्तनपछि पनि जनता हिजो जुन अवस्थामा थिए आज पनि त्यही अवस्थामा छन् । देशमा बेरोजगारी समस्या झन्झन् बढ्दै गएको छ । यो एउटा ठूलो समस्या हो । यो समस्या समाधान नभएसम्म देश अघि बढ्न सक्दैन । देशका समस्या ज्युँका त्युँ छन् । यी समस्या समाधान गर्न सरकारले पहल कदमी चालेको देखिएन ।

परम्परागत पाराले अब देश चल्दैन । नयाँ ढंगले सोचबुझका साथ देशलाई अघि बढाउनुपर्छ । कुनै दलको प्रष्ट बहुुमत नभएपछि मिलिजुली सरकार चलेको छ । धेरैभन्दा धेरै दल मिलेर सरकार बनेको छ । सरकारले गतिशील भएर काम गर्न सकेको छैन । राजनीतिक स्थायित्व र विकास सबैको चाहना हो तर त्यो हुनसक्ने अवस्था देखिँदैन । जबसम्म राजनीतिक स्थायित्व हुँदैन तबसम्म देशको विकास हुन सक्दैन । जनताले विकास र समृद्धि खोजेका छन् तर दलहरू त्यस दिशातर्फ लागेका छैनन् । जनताको भावनासँग मेल खाने कुनै काम हुन नसक्दा जनता आक्रोशित छन् । देश र जनताको भाग्य र भविष्य निर्माण हुन नसक्दा जनताले दुःख पाइरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?