म्याद सकिन लाग्दा बंशिलाघाटमा पुलको जग बनाउन सुरु

हिमालय टाइम्स
Read Time = 3 mins

खोटाङ । म्याद सकिन लाग्दा खोटाङको बराहपोखरी गाउँपालिका-५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका-१ चौदण्डीगढीको सिमानामा पर्ने बंशिलाघाटस्थित सुनकोसीमा पुल निर्माण सुरु गरिएको छ ।

३३ महिने म्याद सकिन लाग्दा एम/एस कालिका-बेदांसी जेभी, काठमाडौंले बंशिलाघाटमा जेठ १९ गतेदेखि पक्की पुल निर्माण सुरु गरेको हो । ठेकेदारले आगामी २०८० असोजसम्म म्याद रहेको पुलको फाउण्डेसनको काम सुरु गरेको सडक विभाग पुल सेक्टर धरान, सुनसरीका प्रमुख इन्जिनियर प्रदीप भण्डारीले बताउनुभयाे । प्रदेश सांसद भुपेन्द्र राईको निरन्तरको खबरदारीपछि ठेकेदार मेसिन लिएर बंशिलाघाट पुगेका छन् । बंशिलाघाटमा केही दिनदेखि ठेकेदारले पुलको काम सुरु गरेको पौवासेराका वडाध्यक्ष फौदराज राईले बताउनुभयाे ।

एमरएस कालिका-बेदांसी जेभीले ३३ महिनामा भ्याट र पिएससहित १९ करोड १८ लाख ४१ हजार चार सयमा सक्नेगरी २०७७ पुस २८ गते पुलको ठेक्का सम्झौता गरेको थियो । तत्कालिन परराष्ट्र मन्त्री डा. नारायण खड्काले २०७९ पुस १ गते शिल्यान्यास गरेको पुलको काम हालसम्म ठप्प बनाइएको थियो ।

पुल बनाउने स्थान केही तल सार्नुपर्दा काममा ढिलासुस्ती भएको सडक विभाग पुल सेक्टर धरानले जनाएको छ । पुलको पेटी ठेक्का लिएर सम्पर्कविहिन बनेको ठेकेदारलाई खोजेर पुल शिलान्यास गराइएको थियो ।

‘निरन्तरको दबाब पश्चात बंशिलाघाटको पुल निर्माण शुरु भएको छ,’ राईले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘अब हेरौं, कसरी ढिला सुस्ती हुँदोरहेछ १ काम नगर्नेलाई काम पुर्‍याउन हामीलाई राम्रैसँग आउँछ ।’

बंशिलाघाटमा हाल २०७५ सालमा बनाइएको झोलुङ्गे पुलमार्फत सुनकोसी वारपार गर्ने व्यवस्था छ । बंशिलाघाटबाट खोटाङ र उदयपुरतर्फ कच्ची सडक बनेपनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती भएको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?