रेशम चौधरीको आममाफीविरुद्ध सर्वोच्चद्वारा ‘कारण देखाऊ’ आदेश

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊसँगै अग्राधिकार दिएको हो ।

टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्चमा निवेदन दिनुभएको थियो । राष्ट्रपति कार्यालय शीतलनिवासलाई विपक्षी बनाइएको रिटमा उत्प्रेषण परमादेश बदरको माग गरिएको छ । मन्त्रिपरिषद् बैठकले गणतन्त्र दिवस २०८० को अवसर पारेर जेलमा रहेका चौधरीको बाँकी कैद सजाय माफी मिनाहका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेपछि चौधरी थुनामुक्त हुनुभएको हो ।

यसअघि अदालतबाट दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहँदा चौधरीलाई सरकारले आममाफी दिएर थुनामुक्त गर्न खोजेपछि प्रहरी निरीक्षक केशवकी पत्नी शारदाले राष्ट्रपति कार्यालयमा निवेदन दिएर चौधरीलाई थुनामुक्त नगर्न माग गर्नुभएको थियो । त्यसपछि राष्ट्रपति पौडेलले उक्त फाइल गृह मन्त्रालयमा फिर्ता पठाउनुभएको थियो ।

विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट थारूवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुनेगरी भएको हिंसात्मक घटनाका आरोपित चौधरी जेल चलान हुनुभएको थियो । उहाँलाई जिल्ला अदालत कैलाली, उच्च अदालत दिपायल र सर्वोच्च अदालत समेतले जन्मकैदको सजाय सुनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?