✍️ प्रन्शु बर्मा र गेरिट डे भिनक
अनुवाद : नारायणप्रसाद घिमिरे
जब गत नोभेम्बरमा च्याटजिपिटी आयो, सान फ्रान्सिस्कोकी पच्चीस वर्षीया कपिराइटर ओलिभिया लिप्किनले यसबारे धेरै सोचेकी थिइनन् । त्यसको केही समयपछि, स्टार्टअप कम्पनीकै एकमात्र लेखक लिप्किनको आन्तरिक स्ल्याक ग्रुपमै आफ्नो काममा च्याटबोटको प्रयोग कसरी गर्न सकिन्छ भनेर लेखहरू देखा पर्न थाले । त्यसको केही महिनापछि लिप्किनको काम धराशायी भयो । व्यवस्थापकले नै उनलाई स्ल्याकमा ‘ओलिभिया उर्फ च्याटजिपिटी’ भनेर उल्लेख गर्न थाले । अनि अप्रिलमा त उनलाई व्यवस्थापकले नै लेखकलाई दिने पारिश्रमिकभन्दा त च्याटजिपिटी प्रयोग नै सस्तो भनेर लेखे । उनले जागिर गुमाउनुमा यही कारण नै काफी थियो, थप स्पष्टीकरण चाहिएन ।
‘जब च्याटजिपिटीले बजार लिँदै थियो, मैले असुरक्षित महसुस गरेँ र यसले मलाई प्रतिस्थापित गर्नेछ भनेर चिन्तित भएँ’, उनले भनिन् ‘अहिले, यो कुरा प्रकट भयो, सत्य सावित भयो । त्यो चिन्ता जायज रहेछ । यतिखेर म एआईकै कारण जागिरबाट हातधुनु बाध्य भएकी छु ।’ केही अर्थशास्त्रीहरू च्याटजिपिटीजस्ता एआईका कारण करोडौं मानिसले जागिर गुमाउने भविष्यवाणी गर्छन्-यसले नयाँ औद्योगिक क्रान्तिका लागि पूर्णरूपले कामदारको पुनर्संरचना गर्छ । केही कामदारको हकमा भने यो असर देखापरिसकेको छ । जसले मार्केटिङ र सोसल मिडियाका लागि सामग्री लेख्छन् उनीहरू च्याटबोट प्रविधिका कारण प्रतिस्थापित हुनेमा अग्रभागमा पर्छन्, किनकि च्याटबोटले ती सामग्री लेखकले जस्तै सामग्री तयार गरि दिन्छन् ।
प्रविधिले पट्यारलाग्दो यान्त्रिक कामलाई स्वचालित बनाउँथ्यो । तर, अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) युक्त च्याटबोटले त राम्रो जागिर पनि जोखिममा पार्दैछ, कामदार धमाधम प्रतिस्थापित हुँदैछन् ।
यद्यपि केही विज्ञहरू भन्छन् अत्याधुनिक एआई पनि मानव लेखनको सीपसँग मेल खाँदैनः यसमा व्यक्तिगत स्वर र तरिका हुँदैन र यसले गलत, तर्कहीन र एकपक्षीय उत्तर तयार गर्छ । तर धेरै कम्पनीहरूका लागि भने लगानी घटाउने राम्रो उपाय भएको छ । डिजिटल श्रमसम्बन्धी विज्ञ क्यालिफोर्निया विश्वविद्यालयकी सहप्राध्यापक सारा टि रोबर्ट भन्छिन्, ‘हामी वास्तवमै संकटको घडीमा छौं । स्वचालित कामलाई सहजताका लागि एआई आएको थियो । विगत केही वर्षयता एआईको गुणस्तरमा तीव्र वृद्धि भएको छ । परिणामस्वरूप, च्याटबोटले सहजै संवाद गर्छन्, गीत लेख्छन् र कम्प्युटर कोड बनाउँछन् । प्रविधिको मूलप्रवाहीकरण गर्न हतारिएका सिलिकन भ्यालीका कम्पनीहरू यस्ता उत्पादनहरू तयार गरी करोडौं प्रयोगकर्तालाई सित्तैमा उपलब्ध गरिरहेका छन् ।
दशकौंदेखि एआई र अल्गोरिद्म श्रम बजारको अंग भएका छन् । त्यसैगरी वर्षांैदेखि उपभोक्ता-उत्पादक कम्पनी, किराना पसल, गोदामसम्बन्धी व्यवस्थापन गर्ने फर्मले व्यावसायिक निर्णय लिनका लागि, पट्यारलाग्दा एकोहोरो कामलाई स्वचालित बनाउन र सामग्रीको सूची व्यवस्थापन गर्न एआई जडित भविष्यवाणी गर्ने/विश्लेषणात्मक अल्गोरिद्म र रोबोटको प्रयोग गरेका छन् । बीसौं शताब्दीको धेरै समयसम्म औद्योगिक कारखानाले मानिसले गर्ने कार्यालयका कैयौं कामहरू सफ्टवेयरले प्रतिस्थापित गरेका थिए । तर, अहिलेको जेनेरेटिभ एआईको लहरले भने खुला इन्टरनेटमा प्राप्त अर्बौं शब्द र तस्वीरका साथ प्रशिक्षित जटिल अल्गोरिद्म प्रयोग गरको छ, जसले अक्षर, तस्वीर र ध्वनि उत्पादनमा नयाँ उथलपुथल ल्याउने सम्भावना छ । विज्ञका अनुसार, धेरै पारिश्रमिक लिने मानिसले जत्तिकै उस्तै सामग्री तयार गर्ने क्षमताको प्रविधिले यस्ता मानिसलाई पनि जागिरबाट हातधुन बाध्य पार्छन् ।
पेन्सिल्भिनिया विश्वविद्यालय बिजिनेस स्कुलका सहप्राध्यापक इथान मोलिक भन्छन्, ‘यसअघिका हरेक स्वाचलनका चुनौतीहरूमा स्वचालन केवल दिक्कलाग्दो, दोहोर्याइ रहनुपर्ने कामहरूमा प्रयोग हुन्थ्यो, तर अहिले भने स्वचालनको चुनौतीले शैक्षिक योग्यता आवश्यक पर्ने उच्च आम्दानी मिल्ने, सिर्जनात्मक कार्यमा निशाना लगाएको छ ।’ गत मार्चमा गोल्डम्यान साकले संसारका अठार प्रतिशत काम एआईले स्वचालित गर्नेछ भनी भविष्यवाणी गरेका थिए । यस्तो स्वचालनबाट निर्माण र मर्मतसम्बन्धी काम गर्नेहरूभन्दा पनि वकिलजस्ता प्रतिष्ठित जागिरेहरू प्रभावित हुनेछन् । शारीरिक श्रम गर्नुपर्ने काम अर्थात् धेरैजसो समय कार्यालयबाहिर गर्नुपर्ने कामलाई भने एआईले असर नगर्ने उनले बताएका थिए ।
हृवाइट हाउसले पनि एआईसम्बन्धी चेतावनी प्रकट गरिसकेको छ–गत डिसेम्बरको प्रतिवेदनमा एआईले भद्दा एकोहोरो काम मात्र होइन हलचल नै ल्याउने गरी थुप्रै किसिमका कामदारको जागिर स्वाचालित गर्न सक्छ भनेको थियो । तर, मोलिक भन्छन्, अहिले नै एआईले यति नै कामदारमा हलचल मच्चाउँछ भनिहाल्नु हतार हुन्छ । कपिराइट, अनुवाद, ट्रान्स्क्राइब, लेखापढीजस्ता काम भने विशेष खतरामा छन्, किनकि ती काम च्याटबोटले सहजै फत्ते गर्छन् । उच्चस्तरको कानुनी विश्लेषण, सिर्जनात्मक लेख भने सहजै प्रतिस्थापित नहुन सक्छन्, मोलिक बताउँछन् । यी क्षेत्रमा मानिसको क्षमता एआईभन्दा अझै माथि छ, उनको तर्क छ ।
‘एआईलाई राम्रो आम्दानी हुने प्रशिक्षार्थीको जस्तै काम गर्ने प्रविधिका रूपमा सोचौं न । प्रशिक्षार्थीले गर्ने भनेको कुनै विधामा प्रवेश गर्ने चरणको काम न हो तर यो अर्को फड्को मार्ने पाइला पनि हो । यस प्रकारका कामहरू चाहिँ जोखिममा पर्छन्’, मोलिक भन्छन् ।
एरिक फेनले दश वर्षसम्म कन्टेन्ट लेखनको काम गरे । जसमा उनी भांङ कम्पनीहरूको वेभसाइटका लागि घण्टाको ६० डलर लिएर नुहाउने म्याटसम्बन्धी १५० शब्दको विवरण तयार पारिदिन्थे । ब्लुमिङ्डेलइलका ३४ वर्षीय एरिकको व्यावसाय दिगो रूपमा चलिरहेको थियो । उनीसँग कामको लागि सधैंजसो दशओट जति सम्झौता साथैमा हुन्थे, जसले उनको आधा वर्षको लागि आम्दानी सुनिश्चित गथ्र्यो । यसको आयबाट एरिकले श्रीमती र दुई वर्षीय छोरासहितको परिवार सहजै पालेका थिए ।
तर, मार्च महिनामा फेनलाई उनको सबैभन्दा ठूलो सेवाग्राहीले जानकारी दिए ः कम्पनीले च्याटजिपिटी प्रयोग गर्न थालेकाले अब तिमीसँग सेवा लिइरहनु जरुरी भएन । यसैगरी एकपछि अर्को गर्दै फेनले अन्य नौवटा सेवा करार पनि गुमाए । अन्ततः उनको कपिराइटिङ पेसा धराशायी भयो ।
‘यसले गर्दा मेरो आर्थिक अवस्था टाटपल्टियो’, फेन सुनाउँछन् । उनले आफूले जत्तिकै सिर्जनात्मक, प्राविधिकरूपले स्पष्ट र मौलिकतासहित च्याटजिपिटीले कन्टेन्ट लेख्न नसक्ने तर्क गर्दै सेवाग्राहीलाई निर्णयमा पुनर्विचार गर्न आग्रह पनि गरे तर सेवाग्राहीले एक घण्टामा फेनले दिने सेवाभन्दा च्याटजिपीटले दिने सेवा अत्यन्त सस्तो भएको जिकिर गरे । च्याटजिपिटीको सेवासँग असन्तुष्ट एउटा ग्राहकले फेनलाई सम्झिए तर यसको आम्दानीले मात्र उनको परिवार चल्दैन । फेनसँग छ महिनामात्र धान्ने बचत छ । अब फेन एआईले गर्न नसक्ने काम थाल्ने निर्णयमा पुगेका छन् । उनी एयर कुलर तथा भेन्टिलेसन मर्मत गर्ने प्राविधिक बन्नका लागि भर्ना पनि भइसके । अर्को वर्ष उनले प्लम्बर बन्नका लागि तालिम लिने सोच बनाएका छन् ।
केही विज्ञहरू भन्छन् अत्याधुनिक एआई पनि मानव लेखनको सीपसँग मेल खाँदैनः यसमा व्यक्तिगत स्वर र तरिका हुँदैन र यसले गलत, तर्कहीन र एकपक्षीय उत्तर तयार गर्छ । तर धेरै कम्पनीहरूका लागि भने लगानी घटाउने राम्रो उपाय भएको छ ।
यता, च्याटबोटद्वारा कामदार विस्थापन गरेका कम्पनीले भने कतिपय विषयमा नराम्ररी ठक्कर खाएका छन् । प्रविधिसम्बन्धी समाचार पोर्टल सिनेटले एआई प्रयोग गरी लेख तयार गर्दा थुप्रै गल्ती भएको र धेरै सच्च्याउनु परेको थियो । त्यसैगरी, एकजना वकिलले च्याटजिपिटि प्रगोग गरेर कानुनी नोट बनाउँदा अनेक काल्पनिक मुद्दाको स्रोत बनाउन पुगे । खानपिनसम्बन्धी बेमारमा काम गर्ने राष्ट्रिय संस्थाले हेल्पलाइनका कर्मचारीको जागीर छुटाएर च्याटबोट प्रयोग गर्दा असंवेदनशील र हानिकारक सल्लाह दिने प्रविधि निलम्बन गर्नुपरेको थियो ।
रोबर्टका अनुसार च्याटबोटले गर्ने गल्ती महँगो सावित हुन सक्छ । उचित समय नपर्खी कम्पनीहरू च्याटजिपिटी प्रयोग गर्न हतारिएका छन् । वाक्यमा तथ्यांकीय हिसाबले उस्तै र सही लाग्ने शब्दको भविष्यवाणी गरेर काम गर्छन् जसले औसत कन्टेन्ट डिजाइन भएर आउँछ । यसो हुँदा कम्पनीहरू चुनौतीपूर्ण निर्णयमा पुगेका छन् : गुणस्तर छान्ने कि पैसा । ‘हामीले सोध्नै पर्छ, के कोरा नक्कलले नै काम गर्छ त ? नक्कल गर्नु नै काम हुनु हो ? हामीले खोजेको त्यही हो, त ? केका खातिर हामी गुणस्तरलाई कम महत्व दिइरहेका छौं ? त्यसैले हो, कम्पनी मालिकहरू र शेयरधनीहरूले यसबाट धेरै फाइदा उठाउँदैछन् ?’ रोबर्ट प्रश्नको वर्षा तेस्र्याउछिन् ।
च्याटजिपिटीका कारण जागिर गुमाएकी कपिराइटर लिप्किन कार्यालयको कामको बारेमै मूल्यांकन गरिरहेकी छन् । सुरुमा कन्टेन्ट मार्केटिङ गरेकी लिप्किनले आफ्नो सिर्जनात्मक लेखनअघि बढाएर जीवन चलाउन सक्थिन् तर उनको त्यो पेसाले उनलाई निम्छरो बनाइदियो र जीवन चलाउन लेखन पेसा जारी राख्ने कुरा कठिन भयो । अब उनी कुकुर डुलाउने काम सुरु गर्दैछिन् । ‘कार्यालयको कामबाट म पूर्णरूपले निवृत्त छु’, लिप्किनले भनिन्, ‘मानिसहरू अति सस्तोमा पाउने सेवाको खोजीमा छन्, त्यसरी काम गर्ने मान्छेले होइन, रोबोटले हो ।’ (स्रोत : द वासिंटन पोष्ट, जुन २)
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका