अतिवादी अराजकता

Read Time = 10 mins

सशस्त्र हिंसाका योजनाकार, हजारौं मानिसहरूको जीवनलीला समाप्त पार्ने अभियानका नायक, माक्र्सवादी माओवादी चिन्तनका प्रखर समर्थक वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको सांस्कृतिक रूपान्तरण धेरैका लागि आश्चर्यबोधक हुनपुगेको देखिन्छ । उहाँले केही दिन पहिले गर्नुभएको भारत भ्रमणका अवसरमा उज्जयिनस्थित महाकालेश्वर दर्शनको विषय निकै विवादमा देखियो । त्यो भन्दा पनि कृषि प्रधान देशका लागि भैंसीको नवजातिको प्रजनन् निम्ति भारत सरकारले प्रधानमन्त्रीको भ्रमण सन्दर्भमा प्रदान गरेको भुर्रा राँगाहरूमाथि त सांसदहरू नै खनिएको देखियो । कृषि विकासका लागि पशुका नयाँ जातहरूको खोजी गर्नु गलत हो वा थियो त ? यो प्रश्नको उत्तर किसानहरूको मतले संसद्को सुविधाजनक कुर्सीमा पुगेका हरेक सांसदहरूले दिनुपर्ने हुन्छ । समयमा किसानहरूले निश्चय पनि यो प्रश्न उनीहरू सामुन्ने राख्ने छन्, राख्नै पर्छ । विरोधका नाममा जे पनि, जस्तो पनि हुन्छ भन्नु अराजकताबाहेक केही हुनसक्दैन । महाँकालेश्वर दर्शनपछि लगत्तै खप्तड पुग्नु भएका प्रधानमन्त्रीको अभ्यास बारे पर्याप्त बहस हुनसक्छ । तर त्यो बहस पनि आडम्बरपूर्ण, पाखण्डपूर्ण र आलोचनाका लागि आलोचनाका रूपमा देखिएको छ । जुन यथार्थमा अराजक अभ्यासबाहेक केही पनि होइन ।

सत्य, अहिंसा र मानवतालाई राजनीतिको सैद्धान्तिक आधार बनाएर राजनीति गर्नुभएका महात्मा गान्धीका शब्दमा धर्मविनाको राजनीति अनैतिक हुनेछ । धर्मको अर्थ संकीर्णतावाद होइन । विवेकसँग, मानवतासँग, सद्भाव र समन्वयसँग, सहकार्यसँग जति सम्बन्धित हुन्छ त्यति नै परम्परा र स्थापित संस्कृतिसँग पनि जोडिएको हुन्छ । यी सबै तत्वलाई एकै शब्दमा धर्म भनेर परिभाषित गर्न सकिन्छ । धर्मका नाममा संकीर्णतावादले सिर्जना गरेको छुवाछूत र विभेद पूर्णरूपमा वर्जनीय हुन्छन् र वर्जनीय हुनुपर्छ । सत्ताको उन्मादले सिर्जना गरेको हिंसा र द्वेष तथा व्यक्तिगत अहंकारग्रस्त समाजका आधारमा धर्म र संस्कृतिको परिभाषा हुनसक्दैन । भौतिकवादीहरूले जहिले पनि धर्म, संस्कृति र परम्परालाई उन्मूलन गर्नु नै प्रगतिशीलता, क्रमभंगता र परिवर्तन ठान्छन् । अनेक शासकहरू जो दैवी सिद्धान्तदेखि अवतारवादसम्म नागरिकको दोहन गर्न सक्रिय भए र एकताकाको युरोपमा चर्चका धर्म गुरुहरूले शासकीय वाग्डोरमाथि नियन्त्रण गरिरहे वा गुरुहरूको दबदबा रहिरहृयो धर्मलाई शक्तिशालीहरूको क्रिडास्थल बनाउने काम भयो । भ्रष्टाचारी र व्यभिचारीहरूका लागि यस्तो अराजक अवस्थाले जे पनि गर्ने छुट प्रदान ग¥यो । मानिसहरू जन्मेको नै खान, लाउन र सुत्नमात्रै हो भन्ने शरीर सम्बद्ध चिन्तनले समाज आक्रान्त भयो । खासगरी माक्र्सको द्वन्दात्मक भौतिकवादको व्याख्यापछि त मानिसको मौलिक तत्व नै खानु, लाउनु र सुत्नुसँग मात्रै संकुचित भएजस्तो भयो । कुनै समयमा रुसमा स्टालिनको उदय, चीनमा माओकालीन सांस्कृतिक क्रान्ति र कम्बोडियाको पोलपोटसत्ताको निरंकुश र क्रूर प्रयोग त्यही द्वन्दात्मक भौतिकवादको रथमा चढेर यात्रा गरेका हुन् । अहिले पनि संसारमा माक्र्सवादी द्वन्दवादको भूत र आत्मिक आध्यात्मिक चेतसहितको स्वतन्त्रताबीच निरन्तर द्वन्द चलिरहेको छ ।

ईश्वरवाद र अनिश्वरवादमाथि प्रशस्त तर्कवितर्क चल्नसक्छ । तर, मानवतावादविरुद्ध कुनै तर्क हुनसक्दैन । मानवतावाद जीवनमूल्यसँग अन्योन्याश्रित हुन्छ । भौतिकवाद पूर्णरूपमा उपभोगवादी सत्ताकेन्द्रित चिन्तन प्रमाणित भएको छ । जीवनमूल्यलाई गौण बनाउने कुनै पनि दर्शनले मानवतालाई पोषित गर्न सक्दैनन् । नेपालमा त यसै पनि माक्र्सवादको आवरणबाहेक केही छैन । हुन त लोकतन्त्रवादमा विश्वास गर्नेहरूमा लोकतन्त्र शब्दको छायामात्रै अवशिष्ट भएझै साम्यवादी आवरणमा उभिनेहरूमा समेत विचार र सिद्धान्तको थोरै वासना पनि छैन । ठूला कुरा गरेर समाजलाई भ्रमित तुल्याउने माक्र्सवादी भौतिकवादको अन्तिम अवतरण सांस्कृतिक परम्परीय व्यवहारमा अनुदित हुनु यसैकारण स्वभाविक मान्नुपर्छ ।

पहिलो पटक प्रधानमन्त्री भएको समयमा ०६४ मा पुष्पकमल दाहालले चतरामा पुगेर भैंसी पूजा गर्नुभएको थियो । सबैलाई यो घटना आश्चर्यजनक लागे पनि निरंकुश जनवादको सपना वितरण गर्दै सशक्त हिंसामा चुर्लुम्म डुबेको व्यक्ति राजनीतिक स्वतन्त्रताको मूल्यमा आधारित लोकतन्त्रमा अवतरण गरेपछि सामान्य मान्नुपर्ने धेरैको मत रहृयो । यसअघि ०५१ मा एमालेको नेतृत्वमा पहिलो पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा नेपालमा सरकार बनेको समयमा पनि केही रोमाञ्चकारी दृश्य देखिएको धेरैको स्मृतिमा छ । त्यसअघि नेपालका साम्यवादीहरू धर्मलाई अफीम भन्न आफ्नो सम्पूर्ण तर्कशक्ति प्रयोग गरिरहेका हुन्थे । धर्म र संस्कृतिको कुरा गर्नेहरूलाई अन्धविश्वासी, रुढीवादी, परम्परावादी सामन्ती संस्कृतिका अनुयायी आदिको उपमा मिलिरहेको सुनिन्थ्यो भौतिकवादीहरूबाट । तर ०५१ पछि एमालेका केन्द्रीय नेता र मन्त्रीहरू नै श्रीमद्भागवत महापुराण र महायज्ञको उद्घाटन, मन्दिर निर्माणको शिलान्यास जस्ता कर्ममा प्रवृत्त देखिए । एमालेमा आएको संस्कृतिप्रतिको सद्भावले माओवादी नामको पार्टीलाई विपरीत दिशा समात्न सहज भयो र उनीहरूले आफ्नो पार्टी अरू कम्युनिष्ट पार्टी खास गरी एमाले जस्तो नभएको देखाउन ब्राहृमणलाई गाईको मासु खुवाउन, देवीका मन्दिरमा पुगेर पिसाब फेर्न, संस्कृतका प्रश्नपत्र जलाउन र संस्कृत विद्यालयहरू बन्द गराउन सक्रिय भएको देखियो । तर अब स्थिति भिन्न भएको छ ।

अहिले कर्मकाण्ड गर्दै जजमानको घरमा पुगेर जीवन धान्ने कलामा सबैभन्दा बढी माक्र्सवादीहरू भेटिन लागेका छन् । पौरोहित्याइँको फाइदा लिने एकातिर र अर्कातिर कम्युनिष्ट पार्टीको सदस्यता खल्तीमा राख्ने अनुपम अभ्यास सुरु भएको छ । नेपाली समाज जतिसुकै विरोध गरे पनि आफ्नो परम्परासँग असाध्य अभ्यस्त छ र नै यो देश सदा स्वतन्त्र र सार्वभौम रहेको छ राजनीतिक रूपमा । यसअघि नेकपाको नेतृत्व गर्दै प्रधानमन्त्री हुनुभएका केपी ओलीले पनि पशुपतिनाथमा सुनको गजुर राख्ने काम गर्नुभएको थियो । उहाँले रामजन्मभूमिका विषयमा धेरै बहस गर्नुभएको थियो । एमालेबाट राष्ट्रपति हुनु भएकी विद्यादेवी भण्डारीले त प्रथम राष्ट्रपतिकै अनुशरण गर्दै नेपालको सांस्कृतिक धरोहर र सम्पदाको सम्मान गर्नुभएको सबैले देखेका हुन् । विगतमा राजसंस्थाबाट हुनेगरेका सबै समुदायका सांस्कृतिक कृत्यहरूको आचरण र व्यवहारको निरन्तरता संघीय लोकतान्त्रिक गणतन्त्रमा समेत हुँदा परिवर्तन दिगो र स्थायी हुनसक्छ । संस्कृतिको, धर्मको, सम्पदा र परम्पराको सम्मान गर्दा अनावश्यक आलोचना हुनु वा गर्नु निरर्थक हुन्छ । यसर्थ प्रधानमन्त्री दाहालले मन्दिरमा पूजा गर्नु, योग र ध्यानमा मन लगाउनु, सहभागी हुनु सकारात्मक विषय हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?