वामकाङ चरित्र : अर्बेल, सम र रिमाल

Read Time = 16 mins

पाणिनीय व्याकरणमा एउटा सूत्र छ ‘परः संनिकर्षः संहिता’ वर्णानां अतिशयितः संनिधिः संहिता संज्ञः स्यात् । यसको अर्थ हो पारस्परिक रूपमा सबैभन्दा नजिक रहेका वर्णहरूका बीचमा संहिता संज्ञा होस् । नेपालमा पनि पारस्परिक रूपमा एक अर्काका नजिकमा रहेका संगठन हुन् नेका र नेकपा । मैले जुन बेला यो सूत्र घोके या मलाई घोकाइयो त्यो बेला मैले यसको अर्थ पटक्कै बुझेको थिइन । गुरुले पढाउँदा पनि र बाले घोकाउँदा पनि । सुगाले झैँ ठूलो स्वरमा लय हालेरै भए पनि घोक्थेँ तर सन्देश र आशय चाहिँ केही पनि बुझ्दिनथेँ । बिस्तारै म हुर्कंदै गएँ पाठ पनि बढ्दै गएँ तर पनि घोकाइ निकै बढे बुझाइ बढेनन् ।

वनजंगल घाँसदाउरा गर्न गाई बाख्रा चराउन जान पनि थालेँ अनि मेरा कानमा कोशी बेचुवा, गण्डक बेचुवा विश्वेश्वर भनेर बीपीलाई गाली गर्ने अनेकौं शब्दावली र वामविरुदावली मैले सुने । अनि मेरा मनमा यो विश्वेश्वर भन्ने मान्छे कस्तो होला भन्ने जिज्ञासा पैदा भयो । वनमा सुनेका कुरा घरमा गर्ने साहसै नहुने घरमा पाठ घोकाइबाट मुन्टो उठाउनै हम्मे थियो । पछि पढ्न जनकपुर गएँ । ज्ञानकुपमा रहेको मौनीबाबाले खोलेको भनिने नेपाल राजकीय संस्कृत प्रधान पाठशालाको वेद कक्षामा म छात्रवृत्तिवान् भएर पढ्न लागेँ ।

त्यहाँ कृष्ण सापकोटा (हाल काभ्रे) अनेरास्ववियुसँग सम्बद्ध विद्यार्थी नेता र शहीद केशव कोइराला प्रसिद्ध पत्रकार हरिहर विरही जस्ता बीपीको नेपाली कांग्रेससँग सम्बद्ध विद्यार्थी नेतासँग पनि मेरो सरसंगत हुन लाग्यो । बीपीका सम्बन्धमा केशव कोइराला र हरिहर विरहीबाट पहिले केही कुरा सुनेर घाँसदाउरा गर्न वन जाँदाका बिम्बमा परिवर्तन गरेँ । एकातिर जनकपुरतिरका ठूला वाम नेता लेखनाथ, अर्कातिर ठूला कांग्रेस नेता सरोज कोइराला, बोध दादा, महेन्द्रनारायण निधि, भीष्मजंग केसीहरूको पनि बेलाबेला कुरा सुन्थेँ । सरोज कोइरालासँग चाहिँ अलि बढी नजिक पनि हुन लागेँ ।

यस पृथ्वीका जुनसुकै देशका पनि आआफ्नै राजनीतिक व्यवस्था हुनसक्छन् तर सम्बन्ध भने व्यवस्था या विचारबाट नभएर आपसी आवश्यक्ता र आदानप्रदानको सौविध्यका आधारमा हुनुपर्छ जस्तो कि भारत र रुस भनेर हामीलाई त्यस बेलाका हाम्रा नेताले बताउने गरेको मलाई अहिले पनि सम्झना छ ।

ब्रहृमपुरीमा उहाँसँग भेट्न घरमा जाँदा केही खाजा खान पनि मैयाँ भाउजूबाट पाइने र सरोज दाइबाट पनि अनेकौं नयाँ हामीलाई रुचि लाग्ने कुरा सुन्न पाइँने हुनाले हामी बाक्लै त्यहाँ जान्थ्यौँ । काजी साहेब (भीष्मजंग केसी) पनि हामीलाई नेपाली कांग्रेस, बीपी र राजापञ्च अनि कम्युनिष्टका कुरा गरेर हामीलाई नेपाल विद्यार्थी संघतिर आकर्षित गराउने काम गर्नुहुन्थ्यो । वृशेषचन्द्र लाल अर्का तीक्ष्ण दिमागका कांग्रेसी मित्र थिए, उनको स्वर लट्याङ्ग्रो भए पनि राम्ररी बुझाउने । बेलामौकामा कल्याण र बच्चु कोइरालाको पनि सरसंगत हुन्थ्यो ।

त्यसै बेलादेखि एकातिर भारत हाम्रो नजिक रहेको सुगमतापूर्वक जानआउन सकिने, धर्मसंस्कृति, भेषभूषा मिल्ने छिमेकी देश हो । हाम्रो देशको आवश्यक्तामध्ये धेरै भारतबाटै हामी पाउँछौँ र किनेरै ल्याउन पनि हामी सक्छौँ तर अरू टाढा विदेशबाट त हामी केही पनि ल्याउन सक्दैनौँ । सरकारसँग कुरा भएर केही सरकारी तहबाट मात्रै आउन सक्छ । चीन जान पनि सकिँदैन हिमाल काटेर जाने बाटो पनि छैन, भेषभूषा र भाषा पनि बुझिँदैन तापनि त्यो पनि हाम्रो नजिकको छिमेकी देश हो ।

हामीले चीनलाई गाली र भारतलाई माया पनि गर्नु हुँदैन । हामीले दुवैलाई समान व्यवहार गरेनौं भने हाम्रो विकास हुन सक्दैन भनेर बेलामौकामा हामीलाई देश, व्यवस्था, छरछिमेक आदि कुरा सिकाए पनि आफ्नो पाठ पढेर पहिलो बन्न जहिले पनि सरोज दाइ, बोध दादा जस्ता नेताहरू हामीलाई पढाइमा ध्यान दिन भन्ने गर्दथे । त्यस बेलादेखि नै मेरा मनमा रहेको यस पृथ्वीका जुनसुकै देशका पनि आआफ्नै राजनीतिक व्यवस्था हुनसक्छन् तर सम्बन्ध भने व्यवस्था या विचारबाट नभएर आपसी आवश्यक्ता र आदानप्रदानको सौविध्यका आधारमा हुनुपर्छ जस्तो कि भारत र रुस भनेर हामीलाई त्यस बेलाका हाम्रा नेताले बताउने गरेको मलाई अहिले पनि सम्झना छ । यता आएर नेका र नेकपाका पनि पुराना नेता स्वर्गे भएर नवमुल्लाको राइँदार्इं चल्न थालेपछि गठबन्धनदेखि गाई न गोरुको ‘ड्याँ’ भने जस्तो कुनै पनि दलको वर्चस्व बन्न नसक्ने सठबन्धने संविधान ल्याएर जे गर्न खोजिंँदै छ र गराएको देखिन्छ त्यो भने ‘जो चोर उसैको ठूलो स्वर’ भन्ने उखानको निहितार्थसँग सम्बद्ध रहेको देखियो ।

ताजुब त के कुरामा लाग्छ भने सन् १९५० को शान्ति सन्धि एकलौटी भारत पक्षीय भयो भनेर त्यस संशोधनका निमित्त भारत तयार नहुने हो भने भारतसँग सुरुङयुद्ध गर्न प्रचण्ड, उग्रवादी कम्युनिष्ट नेता, बोलाएका देशको भ्रमण छाडेर मलाई बोलाउनुस् प्रभु भनी बोलाइमागेर भारत भ्रमणमा जाने आजका प्रचण्ड, ऊ बेला विस्तारवादी भारत भनेर दाँत कोट्यउँदा पनि मूर्दावादको नारा घन्काएर सडक तताउने वामहरू भारतले सारा चिज देओस् र गरिबीको खेती हामी गरिरहुँ भन्ने ठान्ने प्रचण्ड र ओलीका अरिंगाल र प्रचण्डका महान् लडाकु जसले लोग्ने मारी स्वास्नीलाई मासुभात पकाउन लाएर खाए त्यस्ता रहस्यका सागर कम्युनिष्ट, भारतको सत्तो सराप पनि गर्ने आस पनि गर्ने यो कस्तो चरित्र हो नेपाली कम्युनिष्टको ?

यिनका मनोविज्ञानको जटिलता त फ्रायड, युङ आदिले नै पनि विश्लेषण गर्नसक्लान् जस्तो लाग्न छाड्यो मलाई । पहिलेका हाम्रा ऋषिले पटक्कै बुझेनछन् र त भने ‘स्त्रीया चरित्रं पुरुषस्य भाग्यं देवो नजानाति कुतो मनुष्यः’ । मैले निकालेको निष्कर्ष हो, ‘वामश्चरित्रं कांग्रेसस्य चिन्तनं, दैवो नजानाति कुतो शेबदेवाः ? चाहिँ भनेको भए सत्य हुनेरहेछ । हुन त मञ्जु र आर्जुका अनि तादीकी पम्फादेवीका चरित्र पनि साना पहेली होइनन् । यदाकदा समृद्धि र शक्तिका मातले गरिने कार्य र जीवनको या संगठनकै उद्देश्य बनाएर गरिने आचरणमा भिन्नता हुन्छ नै ।

वाम उद्देश्यबद्ध छन् । आरजु पम्फादेवी र मन्जुले चाहिँ शक्त्युन्मादले उन्मत्त भएर गरेका क्रियाकलाप हुन् । लोकमा यस्ता व्यवहार पहिले पहिले पनि हुँदा रहेछन् भन्ने कुरो मैथिली भाषाको यो उखानले ‘सै्ययाँ भेल हबलदार तँ नङ्टे नाचब रे’ ले जनाइहाल्छ । ब्राहृमणपुत्र भएर गाईगोरु काटेर खाने, सत्ताका निमित्त दुनियाँका छोराछोरीलाई यौन स्वतन्त्रता दिएर भने पनि ल्याएर युद्धमा होमेर मार्ने, सत्ताप्राप्तिका निमित्त रामधुनीमा गएर राँगाको पुच्छर समात्ने अनि मित्रराष्ट्रबाट पनि राँगा बोकेर आउने ।

प्रचलित शिक्षामा भएका कमीकमजोरी हटाएर परिष्कार गरेर पुर्खौली सीप ज्ञानको संरक्षण गर्नुभन्दा विज्ञानको ‘वि’ नबुझेका उरन्ठेउला उरन्ठेउलीलाई वैज्ञानिक र जनवादी शिक्षाका नाममा भाँडभैलो मच्चाउन लाएर थच्च्याउने वामचरित्रको गाथा गाउन हज्जार जिब्रे शेषले पनि सक्लान् जस्तो लाग्न छाड्यो । मैले पनि ३७ वर्षसम्म विश्वविद्यालयमा पढाएँ दुनियाँमा भएका शिक्षा पद्धतिका सम्बन्धमा पनि जानकारी लिने प्रयत्न गरेँ तर मैले आजसम्म पनि नबुझेको शैक्षिक पद्धति भनेको नै के हो भने नौलो जनवादी शिक्षा । के हो ? त्यो कस्तो हुन्छ ? त्यो लागू भएको कुन देश छ ?

भारतले लिपुलेक खायो भनेर वाम घिच्रो सुकेको सुकेकै छ । वामको काम शान्त जमेका पानीमा ढुंगो फालेर तरंग उठाउने जनता त्यता लाग्छन् आफू प्रभुचरण समातेर घ्यू उम्लिँदा दन्काउने । हिजो ओलीले त्यही गरे । आज प्रचण्डले पनि त्यसै गरे ।

यो पृथ्वीका समस्याबाट सदाका निमित्त त्यो देशमुक्त भयो ? लौ न हो, वामभाइ !!! मजस्ता गोबरगणेशलाई पनि बुझाओ । मेरा बोसो पलाएका गिदीमा यो कुरो घुसायौ भने तिमीहरूलाई फाइँदै हुन्छ । वामबुद्धि पनि अनौठै हुँदोरहेछ । ऊन, नुन र सुन, औषधि, जलहरी तिलहरी सबै कुम्ल्याउने, आर्थिक र अन्य पनि भ्रष्टाचारका प्रति शून्यसहनशीलता अपनाउने भनेर घोषणा गर्ने अनि कसैले चुँक्क गरो कि संसदबाटै गुण्डागर्दी सुरु गराइहाल्ने ।

ओलीका करनी र कथनीले पनि वामचरित्र वरमुण्डा त्रिभुजभन्दा कम रहस्यमय होला भनेर आकलन गर्नुभयो कसैले भने प्रचण्डले झैँ रेकर्डबाट लुरुक्क परेर नै हटाइहाल्नुस् । अन्यथा अनन्तकाल सडक र सदन दुवै बन्द हुन्छन् । यो ओल्यादेश मात्रै होइन श्री श्री १,१०८ ज्यानमारा महाराजको पवित्र उद्देश्य पनि हो । यो जुनीमा यो कुरो गराउन सक्नु नै उहाँको जीवनकै सार्थक लाल सलाम पनि हो ।

भारतले लिपुलेक खायो भनेर वाम घिच्रो सुकेको सुकेकै छ । वामको काम शान्त जमेका पानीमा ढुंगो फालेर तरंग उठाउने जनता त्यता लाग्छन् आफू प्रभुचरण समातेर घ्यू उम्लिँदा दन्काउने । हिजो ओलीले त्यही गरे । आज प्रचण्डले पनि त्यसै गरे । शेबदे पनि वामभन्दा के कम ? वाम भन्छन् ‘वी आर इक्वेल बट सम वी आर मोर इक्वेल’ ओलीका बोली र व्यवहारले यसलाई पुष्टि गरेको छैन र ? १९४५ तिर जर्ज अर्बेलले लेखेको ‘चार खुट्टेको घरजम’ भन्ने पुस्तक १९८५-१९९० को दशकदेखि त्यस उताका कम्युनिष्ट चरित्रका निमित्त भनेर लेखेथे । सलाम छ अर्बेल, हाम्रा ऋषिभन्दा तगडा चिन्तनशक्ति भएका तिमीलाई ।

नेपाली समाजमा सौताले अर्की सौतालाई आफ्ना मुटुको किलो ठान्छन् भनेर गोपालप्रसाद रिमालले ‘माया’ एकांकीमा स्पष्ट पारेका थिए । ती पनि जान्ने होइन रहेछन् सत्ता भोग्न पल्केका गिदीबोसे पो एक अर्काका मुटुका किला हुँदा रहेछन् त । ओली, शेबदे र पुकदाका छातीमा दन्केको इष्र्याको अग्निज्वाला देखेको छ कसैले ? मुटुमा किलो गाडेर, बिच्छीलाई टोकाएर भूतलाएर, चर्को आगाका भुङ्ग्रामा जिउँँदो जीवलाई फाल्दा त्यो जसरी उफँदो हो के ओली देउवा र प्रचण्डका महान् पार्टीका महान् खन्चुवा कम देखिन्छन् र यसभन्दा ?

‘पतिमारी सती जाने यस्ता स्त्रीको चरित्र त, ब्रहृमासमेत जान्दैनन् के जान्लान् भवदेव यी’ धन्य छौ बाकृ सम तिमी, गाई काटेर भैंसीको पुच्छर समात्ने प्रचण्डजस्ता महान् नेताको अवतार हुने भविष्यवाणी गरे छौ । हिजो तिमीले विश्वास गरेर जुन पार्टीका नेतालाई आफ्नो टुहुरो नाति जिम्मा लाएका थियौ आज त्यसै पार्टीमा जाँड, राँड र भाँड भए पुग्ने मुकुन्दका रूपमा शेबदेको आगमन हुने भविष्यवाणी गरेछौ । हे नेपालका शेक्सपियर !!! सलाम छ तिमीलाई पनि ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
रोहित
रोहित
2023-06-07 2:52 pm

सान्दर्भिक छ हजुर।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?