भारत भ्रमणकै बेला नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग मात्रै हो: प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणकै बेला नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग मात्रै रहेको बताउनुभएकाे छ ।

बुधबार बसेको राष्ट्रियसभा बैठकमा उहाँले आफ्नो भारत भ्रमणकै बेला नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुनु संयोग मात्रै परेकाले शंका उपशंका गरिनुको कुनै तुक नरहेको बताउनुभयाे ।

नागरिकता विधेयकका विषयमा पूर्वप्रधानन्यायाधिवक्तासहितको छलफलको सुझावको आधारमा सरकारले नागरिकता विधेयक प्रमाणीकरण गर्नु उचित हुने राष्ट्रपतिलाई सुझाव दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक विचाराधीन अवस्थामा नरहेको भन्दै उहाँले उक्त विधेयक प्रमाणीकरण नगर्दा गलत नजिर पनि रहन सक्ने भएकाले पनि राष्ट्रपतिलाई सुझाव दिइएको हो ।

उक्त विधेयक प्रमाणीकरण नगर्दा पछि पनि राष्ट्रपतिले संसदले पारित गरेर पठाएका विधेयक प्रमाणीकरण नगर्ने अवस्था आउने सक्नेतर्फ ध्यान दिएको भन्दै उहाँले नागरिकता विधेयक प्रमाणीकरण गरिएको बताउनुभयाे । तर, यसबारे अदालतमा रिट परेको र अदालतबाट हुने फैसलालाई सम्मान गरिने प्रधानमन्त्रीको भनाइ छ ।

भारत भ्रमणका क्रममा आफू सम्मानित भएरै आएको पनि उहाँले बताउनुभयाे ।

‘त्यहाँ (भारत) राज्यमन्त्री नै स्वागत गर्न आउने चलन छ, इतिहास हेर्नु भए हुन्छ,’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे, ‘म सम्मानित नै भएर आएँ । तर, यहाँ हुने तपाइँहरु अपमानित भयो भन्नुहुन्छ । त्यस्तो होइन म सम्मानित भएर नै आएको हुँ ।’

भ्रमणका क्रममा नेपालको वृहत्तर हित र विकासलाई टेवा पुग्नेगरी छलफल र सम्झौता भएको उहाँले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?