एसियाडका लागि पौडीका चार खेलाडी छनोट

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल पौडी संघले मित्रराष्ट्र चीनको ग्वांगझाउ शहरमा आयोजना हुने १९औँ एसियन गेम्सका लागि चार खेलाडी छनोट गरेको छ । संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार नेपाल पौडी संघले आयोजना गरेको ११औँ एनएसए कप पौडी प्रतियोगिताबाट दुई पुरुष र दुई महिला गरी चार खेलाडी १९औँ एसियन गेम्सका लागि खेलाडीले प्राप्त गरेको उच्च फिना अंकका आधारमा छनोट गरिएको हो ।

छनोट हुने खेलाडीहरूमा पुरुषतर्फ एलेक्जेण्डर गादेगार्ड शाह र नासिर याहृया हुसेन तथा महिलातर्फ गौरिका सिंह र डुवाना लामा रहनुभएको छ । एलेक्सले ६९२ फिना अंक प्राप्त गर्नुभएको थियो । यस्तै, नासिरले ६६४ अंक, गौरिका र डुवानाले समान ५८६ अंक प्राप्त गर्नुभएको थियो ।
वैकल्पिक खेलाडीमा पुरुषतर्फ विकास कुमाल र महिलातर्फ अनुशिया तण्डुकार रहनुभएको छ । कुमालले ६०६ फिना अंक र अनुशियाले ५२८ अंक प्राप्त गर्नुभएको थियो ।

अध्यक्ष बज्राचार्यका अनुसार यी चार खेलाडीले जापानको फुकुओकामा असार २९ देखि हुन गइरहेको पेरिस ओलम्पिक २०२४ को छनोट प्रतियोगितासमेत रहेको वल्र्ड अक्वाटिक च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, लक्ष्मण खनाल र सुदीप राजभण्डारी मास्टर्सतर्फ स्वर्ण जित्न सफल हुनुभएको छ । ११औँ एनएसए कप पौडी प्रतियोगिताको मास्टर्स ५० मिटर बटरफ्लाइमा लक्ष्मणले स्वर्ण जित्नुभयो । दोस्रो स्थानमा सेनाका बाबुराम श्रेष्ठ र तेस्रो स्थानमा प्रमोद श्रेष्ठ रहनुभयो ।
मास्टर्स खुलातर्फ सुदीप राजभण्डारीले स्वर्ण प्राप्त गर्दा श्याम गुरुङले रजत र किसिमलाल थारुले कांस्य पाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?