मच्छिन्द्र बन्यो ‘ए’ डिभिजनको उपविजेता

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । साबिक विजेता मच्छिन्द्र फुटबल क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल २०७९ को उपविजेता बनेको छ । बुधबार सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै मच्छिन्द्रले दोस्रो स्थान पक्का गरेको हो । चर्च ब्वाइज क्लबले यसअघि नै लिगको उपाधि जितिसकेको छ ।

दशरथ रंगशालामा सम्पन्न खेलमा मच्छिन्द्रले हिमालयन शेर्पामाथि तीन-एकको जित हात पार्‍यो । मच्छिन्द्रका लागि ओलावाले आफिजले दुई तथा विमल घर्ती मगरले एक गोल गर्नुभयो । पिस्तोने मुताम्बाले शेर्पाका लागि अन्तिम मिनेटमा सान्त्वना गोल फर्काउनुभयो ।

खेलको २६ औँ मिनेटमा मच्छिन्द्रले अग्रता लियो । विमल घर्ती मगरले मिडफिल्डबाट बल अघि बढाउँदै पेनाल्टी बक्सभित्र पुजन उपरकोटीलाई पास दिनुभएको थियो । लगत्तै पुजनले दिएको पासमा विमलले हेडरमार्फत् गोल गर्नुभयो ।

४२औँ मिनेटमा मच्छिन्द्रले दोस्रो गोल गर्ने मौका गुमायो । विमलको प्रहार शेर्पाको डिफेन्सबाट रिबाउण्ड आएको थियो । तर, उक्त बल खाली पोस्ट भए पनि विजयले गोल गर्न सक्नुभएन । ६८औँ मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर पार्‍यो । युता सुजुकीले दायाँ विंगबाट दिएको क्रसलाई आफिजले हेडरमार्फत् गोलमा परिणत गर्नुभयो । यो लिगमा उहाँको व्यक्तिगत २०औँ गोल हो ।

७७औँ मिनेटमा आफिजले खेलको व्यक्तिगत दोस्रो गोल गर्नुभयो । पेनाल्टी क्षेत्रभित्र उहाँलाई नै लडाएपछि रेफ्री उमेश बिडारीले पेनाल्टी दिनुभयो । आफिजले पेनाल्टीमा सहजै गोल गर्दै तीन-शून्यको अग्रता दिलाउनुभयो ।

त्यसपछि दुवै टोली १० खेलाडीमा सीमित भएका थिए । ८२औँ मिनेटमा मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले पेनाल्टी क्षेत्रबाहिर वन भर्सेस वनको स्थितिमा आबायोमी फाकुन्लेलाई फल गरेपछि रातो कार्ड पाउँदै मैदान छाड्नुपर्‍यो ।

त्यसपछि दुवै टोलीका खेलाडीबीच उत्पन्न विवादमा विपक्षी खेलाडीमाथि हात हालेपछि शेर्पाका निशान लिम्बूले समेत रातो कार्ड पाउनुभयो । उक्त घटनामा शेर्पाका अमृत श्रेष्ठ र मच्छिन्द्रका ओमोलाजा करिमले पनि पहेंलो कार्ड पाउनुभयो ।

लगत्तै पेनाल्टी क्षेत्रको ठीकबाहिर प्राप्त उक्त फ्रिकिकलाई केन्याली फरवार्ड पिस्तोने मुताम्बाले गोल गर्दै शेर्पाका लागि एक गोल फर्काउनुभयो । यससँगै मच्छिन्द्रको २५ खेलमा ४२ अंक भएको छ । तेस्रो स्थानमा रहेको पुलिसको २५ खेलमा ३८ अंक रहेको छ । पराजित शेर्पाको २५ खेलमा ३१ अंक रहेको छ ।

यता, अर्को खेलमा न्युरोड टिम (एनआरटी) ले मनाङ-मस्र्याङ्दी क्लबलाई पराजित गरेको छ । एनआरटीले मनाङमाथि एक–शून्यले पराजित गरेको हो । एनआरटीको जितमा खेलको १७औँ मिनेटमा दिपेश आले मगरले निर्णायक गोल गर्नुभयो ।

त्यसपछि दुवै टोलीले गोलको अवसर निकाले पनि थप गोल निस्कन नसक्दा एनआरटीले महत्वपूर्ण तीन अंक बटुल्न सफल हुँदा मनाङको अपराजित यात्रा १२औँ खेलमा पूर्णविराम लागेको छ ।

यो सिजनको च्याम्पियन बनिसकेको चर्च ब्वाइज युनाइटेडसँग तीन-शून्यले पराजित भएयता मनाङ अपराजित रहेको थियो । जसमा आठ बराबरी र तीन जितको नतिजा रहेको थियो । मनाङले पहिलो राउण्डमा तीन-एकको जित निकाले पनि दोस्रो राउण्डमा सोहीअनुरूपको प्रदर्शन दोहो¥याउन सकेन ।

यस जितसँगै एनआरटीको २५ खेलबाट ३३ अंक पुगेको छ । एनआरटी छैटौँ स्थानमा रहेको छ । पराजित मनाङ ३२ अंक जोडेर सातौँ स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?