राष्ट्रिय ललितकला प्रदर्शनीमा दैनिक हजार बढीले अवलोकन गर्दै

Read Time = 5 mins

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८०’ प्रदर्शनीमा दैनिक एक हजारदेखि १२ सयले अवलोकन गरेको प्रतिष्ठानले जनाएको छ । प्रदर्शनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिसर नाफा नक्साल र बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा चलिरहेको छ । जेठ १५ गतेबाट सुरु भएको प्रदर्शनी जेठ ३० सम्म चल्नेछ ।

प्रदर्शनीका क्युरेटर प्रदीप शाक्यले नेपाली कला र सभ्यताको महोत्सवको रूपमा यो प्रदर्शनी भएको बताउनुभयो । उहाँले म, मेरो देश र मेरो सिर्जना थिममा कलाकृतिलाई राखिएको जनाउँदै ती कलामा नेपालीपनको स्वाद लिन पाउने विश्वास व्यक्त गर्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री माननीय सुदन किरातीले उद्घाटन गर्नुभएको यस प्रदर्शनी ‘म, मेरो देश र मेरो सिर्जना’ अवधारणामा गरिएको छ । उद्घाटनपश्चात प्रदर्शनीलाई विभिन्न उच्च पदस्थ व्यक्ति, नेता, कलाकार, राजदूत, सेना, प्रहरीलगायतले अवलोकन गरिसक्नुभएको छ । अवधिमा पुरस्कृत कलाकारसँग अन्तक्र्रिया, ‘कलामा लैंगिक चुनौती’, ‘हस्तकलाः चुनौती र अवसर’, ‘परम्परागत–समसामयिक मूर्तिकलाबीचको अन्तरसम्बन्ध’ लगायतका विषयमा समूहगत छलफलसमेत सम्पन्न भएको छ ।
प्रदर्शनीमा देशभरका लोककला, परम्परागत चित्रकला/मूर्तिकला, समसामयिक चित्रकला/मूर्तिकला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गतका फोटोग्राफी कला, प्रतिस्थापन कला, कार्टुन, भावभंगी कला, क्यारिकेचर र डिजिटल विधाअन्तर्गत ६०९ कलाकारका ६९५ कलाकृति राखिएको छ ।

यसवर्ष प्रतिष्ठानमा दर्ता भएका ६५३ कलाकारका ७५५ कलाकृतिमध्येबाट यी कलाकृतिको छनोट गरिएको हो । जसअन्तर्गत समसामयिक चित्रकला विधामा २३४ जना कलाकारका २६९ कलाकृति, परम्परागत चित्रकला विधामा १३० जना कलाकारका १३६ कलाकृति, समसामयिक मूर्तिकला विधामा ४२ जना कलाकारका ४६ कलाकृति, परम्परागत मूर्तिकला विधामा ३१ जना कलाकारका ३९ कलाकृति, हस्तकला विधामा ६३ जना कलाकारका ८५ कलाकृति, लोककला विधामा ४२ जना कलाकारका ४७ कलाकृति, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत फोटोग्राफी विधामा १६ जना कलाकार २१ कलाकृति, प्रतिस्थापन कला विधामा १२ जना कलाकारका १२ कलाकृति, कार्टुन विधामा १७ जना कलाकारका १७ कलाकृति, भावभंगी विधामा १२ जना कलाकारका १२ कलाकृति, क्यारिकेचर विधामा चारजना कलाकारका चार कलाकृति र डिजिटल विधामा ६ जना कलाकारका सात कलाकृति रहेका छन् ।

यी कलाकृतिमध्ये लोककला तथा परम्परागत चित्रकला विधाका कलाकृति नेपाल कला परिषद्, बबरमहल तथा समसामयिक चित्रकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला, हस्तकला, परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला विधाका कलाकृति नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान नक्सालमा राखिएको छ । प्रदर्शनीको क्युरेटिङ प्राज्ञसभा सदस्य प्रदीप शाक्यले गर्नुभएको हो ।

समापनका दिन अर्थात् जेठ ३० प्रदर्शनीको बारेमा उत्कृष्ट रिपोर्टिङ गर्ने पाँचजना पत्रकारलाई पाँच हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, बिएफए, एमएफए, एमफिल, पिएचडीमा अध्ययनरत् विद्यार्थीमध्ये प्रदर्शनीको समीक्षा लेख्नेहरूबाट पहिलो, दोस्रो, तेस्रो र विशेषगरी चार लाइसमेत पुरस्कृत गरिने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?