लम्पीस्किन महामारी ४२ जिल्लामा फैलियो

Read Time = 6 mins

रमेश भारती/हिटा
काठमाडौं । नेपालमा पशुचौपायामा लाग्ने लम्पीस्किन रोगको महामारी सालैपिच्छे फैलिने गरेको छ । यस रोगका कारण बर्सेनि लाखौं पशुचौपाया मर्ने गरेका छन् । हाल देशका ४२ जिल्लामा झण्डै पाँचदेखि छ लाख पशुचौपायामा संक्रमण फैलिएको पशु सेवा विभागले जनाएको छ । छ हजारभन्दा धेरै संक्रमित पशुचौपाया मरेको र सातवटै प्रदेशका गरी तीन सय ५० पालिकामा लम्पीस्किन रोग देखिएको विभागले जनाएको छ ।

गर्मीयाम सुरु भएसँगै देखा परेको लम्पीस्किन हाल देशभर फैलिएको विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले जानकारी दिनुभएको छ । लम्पीस्किन यसपटक हिमाली क्षेत्रमा पालिएका पशुचौपायामा समेत देखिएको छ । त्यसो त भाइरसको प्रकृतिअनुसार १० देखि १५ दिनमा यो रोग आफैं निको हुने उहाँ बताउनुहुन्छ । ढकालले भन्नुभयो, ‘लम्पीस्किन लागेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा देखिन्छन् । लम्पीस्किन संक्रमित गाईभैँसीको मुख, नाक, खुट्टा तथा छालामा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिकमात्रामा तरल पदार्थ निस्कन्छ । रोगी पशुको शरीरभरि घाउ नै घाउ भएको देखेपछि दूध दुहेर खान मन नलाग्नु स्वाभाविक हो । दूध खानुहुँदैन भन्ने कुरा वैज्ञानिक अध्ययनबाट प्रमाणित नभएका कारण राम्ररी उमालेर खान सकिन्छ ।’

गर्मीयाममा लामखुट्टे र किर्ना आदिको संख्या पनि बढ्ने र ती किरा सक्रिय हुँदा लम्पीस्किन बढ्ने भएका कारण लामखुट्टे र किर्ना मार्ने औषधि प्रयोग गर्न किसानलाई उहाँको सुझाव छ । लम्पीस्किन नियन्त्रण गर्न सम्भव भएसम्म बजारमा पाइने खोप एकपटक संक्रमित भएर निको भएको पशुमा लगाउन आवश्यक हुने उहाँले बताउनुभयो ।

लम्पीस्किनका कारण गर्भ तुहिने र बाँझोपन हुने हुँदा किसानलाई आर्थिकरूपमा क्षति हुने विभागले जनाएको छ । यो रोगका कारण संक्रमण भएका धेरै पशु नमरे पनि दूध उत्पादनमा ८० प्रतिशतसम्म गिरावट आउने विभागको अध्ययनमा भनिएको छ । साथै रोगी पशुचौपायाबाट मानिसमा नसर्ने अनि रोगी गाईभैँसीको दूध प्रयोग गर्दा पनि मानिसमा कुनै जोखिम नहुने भएकाले दूध खेर फाल्नुनपर्ने विभागको भनाइ छ । लम्पीस्किन रोकथामका लागि किर्ना नियन्त्रण, लामखुट्टे र गोठवरिपरिको वातावरण सफा राख्नुपर्छ । रोग एक ठाउँबाट अर्को ठाउँमा फैलन नदिन पनि संक्रमित क्षेत्रबाट पशुको ओसारपसार नगर्न विभागले किसानलाई सचेत गराएको छ ।

संक्रमित गाईभैँसीको ओसारपसार र लसपसबाट स्वस्थ पशुमा सर्ने सम्भावना उच्च हुन्छ । किसान आफैंले तथा उपचारमा संलग्न प्राविधिकले निसंक्रमणका उपाय अपनाउनुपर्ने हुन्छ । लम्पीस्किनबारेमा थप जानकारी र सल्लाहका लागि विभागले नजिकैको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको छ ।

विभागका अनुसार नेपालको मोरङ जिल्लामा २०७७ साल असारमा पहिलोपटक लम्पीस्किन रोग पुष्टि भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा आठ जिल्लाका ११ पालिकामा देखिएको थियो भने २०७८/०७९ मा नौ जिल्लाका १९ पालिकामा रोग विस्तार भयो । गत वर्ष यो रोग छिटपुटमात्रै देखिए पनि अहिले देशैभर फैलिएको हो । तीन वर्ष अवधिमा लम्पीस्किनका कारण करिब २० हजारभन्दा धेरै पशुचौपाया मरेको विभागले जनाएको छ । लम्पीस्किनका कारण करिब नौ करोडभन्दा बढी नोक्सानी किसानले बेहोर्नुपरेको छ ।

लम्पीस्किनका कारण मरेका पशुचौपायाको किसानले क्षतिपूर्तिसमेत नपाउने गरेको गुनासो गर्दै आएका छन् । लम्पीस्किन पशुचौपायाको बीमा नगर्दासमेत किसान समस्यामा पर्ने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?