पूर्वराज्यमन्त्री महेश चौधरीको निधन

विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । पूर्वराज्यमन्त्री महेश चौधरीको निधन भएको छ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बुधबार उहाँको निधन भएको हो । उहाँ हर्निया र लिभरको समस्याबाट पीडित हुनुहुन्थ्यो । काठमाडौंमा हालै शल्यक्रिया गरेर गृह जिल्ला दाङ आउनुभएका उहाँको स्वास्थ्यमा पुनः समस्या देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । दंगीशरण गाउँपालिका–४ बैवाङ स्थायी घर भएका चौधरी हाल घोराही उपमहानगरपालिका–१७ बेलभारमा बस्दै आउनुभएको थियो ।

अर्थशास्त्र र भूगोलमा स्नातकोत्तर गर्नुभएका चौधरीले २०३५ सालदेखि महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा प्राध्यापन गर्नुभएको थियो । तत्कालीन नेकपा (माले)को नीतिअनुसार प्राध्यापन छाडेर चौधरी २०४३ सालमा पूर्णकालीन राजनीतिमा लाग्नुभएको थियो । उहाँ एमालेको तर्फबाट २०४८ सालमा राष्ट्रियसभा सदस्य र २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री बन्नुभएको थियो । नेकपा एमालेका पूर्व सल्लाहकारसमेत रहनुभएका चौधरी पछिल्लो समय भने राजनीतिबाट निष्कृय हुनुहुन्थ्यो ।

उहाँले वि.सं २०२८ सालमा दाङबाट थारू भाषाको साहित्यिक पत्रिका ‘गोचाली’ पनि निकाल्नु भएको थियो । उहाँले ‘द हिडनट्रेजर अफ द लो ल्याण्ड नेपाल (भाग-१ र २)’, ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरू’, ‘स्थविरहरूको प्राचीन इतिहास र संस्कृति’, थारू भाषाको पहिलो गीति नाटक ‘छारा’, थारू भाषामा ‘लिरौसी व्याकरण’लगायत पुस्तक लेख्नुभएको छ । पछिल्लो समय उहाँले बेलभारमा प्रांगारिक मल उद्योग सञ्चालन गरिरहनुभएको थियो । चौधरीको शव श्रद्धाञ्जलिका लागि बुधबार राति घोराहीस्थित एमाले पार्टी कार्यालयमा राखिएको थियो भने आज (बिहीबार) बिहान दंगिशरण गाउँपालिका-४ बैवाङस्थित बबई घाटमा अन्त्येष्टि गरिने बताइएको छ । चौधरीका दुई छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?