काठमाडौं । नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न केन्द्रीय कमिटी र सचिवालय बैठकको निर्णय समेटेर जारी गरेको अन्तरपार्टी निर्देशन-५ मा नेताहरूको नयाँ जिम्मेवारी तोकिएको छ । हेरफेर भएको केन्द्रीय नेताहरूको जिम्मेवारी समेटेर मंगलबार एमाले अन्तरपार्टी निर्देशन (अपानि-७) पठाएको छ । उक्त अपानिमा केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकिएको छ । एमालेले पार्टी उपाध्यक्ष र उपमहासचिवहरूलाई विभागको जिम्मेवारी दिएको छ । पार्टी सचिवहरूलाई इञ्चार्ज, स्थायी कमिटी र पोलिटब्युरोलाई जिल्ला इञ्चार्ज र केन्द्रीय सदस्यहरूलाई पालिका इञ्चार्ज बनाएको छ । एमालेले सहइञ्चार्जको व्यवस्था भने हटाएको छ ।
बाँकी पदाधिकारीहरूले विभागीय प्रमुखको जिम्मेवारी पाइरहँदा स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले जिल्लाको इञ्चार्जको जिम्मेवारी पाएका छन् । एमालेले यसपटक सहइञ्चार्ज हटाएर केन्द्रीय सदस्यहरूलाई महानगर, उपमहानगर, नगर र गाउँपालिकाको इञ्चार्जको जिम्मेवारी दिएको छ ।
एमालेले प्रदीप ज्ञवालीलाई पार्टी स्कुल विभागको जिम्मेवारी दिएको छ । पृथ्वी सुब्बा गुरुङ संसदीय विभाग प्रमुख तोकिनुभएको छ । यसअघि उहाँ प्रचार विभाग प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो । यस्तै, एमालेले विष्णु रिमाललाई निर्वाचन विभाग र वित्त तथा कोष व्यवस्थापन दुईवटा विभागको जिम्मेवारी दिएको छ । भीम आचार्यले पर्यटन तथा नागरिक उड्डयन विभागको प्रमुख पाउनुभएको छ भने किरण गुरुङ संघीय मामिला तथा सामान्य प्रशासन विभागको नेतृत्व पाउनुभएको छ । रघुजी पन्तले संस्कृति विभाग प्रमुख र जनसांस्कृतिक फाँटको इञ्चार्ज पाउनुभएको छ । भानुभक्त ढकालले जनसंगठन समन्वय संयन्त्रको संयोजक पाउँदा कृष्णगोपाल श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुख बनाइएको छ । काशिनाथ अधिकारीले संगठन विभाग र राजेन्द्र गौतमले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाउनुभएको छ । एमालेले ४३ वटा विभाग बनाएर त्यसको संयोजनको जिम्मा सातजना उपाध्यक्षलाई दिएको छ ।
उमेरहद हटाएपछि आलोचना
नेकपा एमालेले ७० वर्षे उमेर हदसम्बन्धी व्यवस्था हटाएको छ । गत १९ जेठमा केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ७० वर्षे उमेरहद कायम नरहने निर्णय गरेको हो । तत्कालका लागि भने एमालेको ७० वर्षे उमेरहद एकीकृत समाजवादी छोडेर एमाले फर्किएका मुकुन्द न्यौपानेका लागि बाधक थियो । एमालेमै लामो राजनीतिक जीवन बिताएका न्यौपाने एक वर्षअघि माधव नेपालसँग एकीकृत समाजवादीमा लागेका थिए । अहिले माधव नेपाललाई छोडेर उनी एमालेमै फर्किए । तर, ७४ वर्ष उमेर पुगेका कारण उहाँलाई केन्द्रीय सदस्य मनोनीत हुन त्यही व्यवस्था बाधक थियो । त्यसैलाई बहाना बनाएर एमालेले उमेरहदको व्यवस्था हटाइदियो । त्यही लटमा मुकुन्द न्यौपानेसहित १३ जनालाई केन्द्रीय सदस्य मनोनीत ग¥यो । एमालेले उमेरहद हटाएपछि राजनीतिक वृत्तमा आलोचना पनि सुरु भएको छ । उमेरहदले राजनीतिमा पुस्तान्तरलाई सहजता थपेको भए पनि अमुक व्यक्तिलाई हेरेर हटाइनु दुःखद रहेको प्रतिक्रिया एमालेकै नेता कार्यकर्ताले समेत जनाएका छन् ।
मणि थापा बिदामा, रायमाझी निलम्बन
एमाले नेताहरूलाई जिम्मेवारी तोकिँदा स्थायी कमिटी सदस्य मणि थापालाई जिम्मेवारी तोकिएको छैन । उहाँको जिम्मेवारी दिने ठाउँमा बिदा लेखिएको छ । पूर्वमाओवादीबाट आएका नेता थापा केही समययता पार्टीमा असन्तुष्ट रहेको बताइन्छ । वैशाख २८-३० गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकमा उहाँ अनुपस्थित हुनुहुन्थ्यो । आफू काठमाडौं बाहिर भएकाले नआउने जानकारी पार्टीलाई गराउनुभएको थियो । थापाले व्यक्तिगत काममा व्यस्त रहेकाले जिम्मेवारी नदिन आफैँले आग्रह गरेको बताउनुभएको छ । उहाँले पार्टीको दसौँ महाधिवेशनपछि भूमि व्यवस्था विभागमा जिम्मेवारी पाउनुभएको थियो । विभागको बैठकमा पनि आफू जान नभ्याएको उहाँको भनाइ छ । एमालेले भुटानी शरणार्थी प्रकरणमा मुछिनुभएका सचिव टोपबहादुर रायमाझीको जिम्मेवारी खोसेर निलम्बनमा राखेको अपानीमा उल्लेख छ । त्यस्तै, स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको आरोप लागेका केन्द्रीय सदस्य हरिनारायण महतोले गल्ती स्वीकार गरेकाले उहाँको निलम्बन फुकुवा भएको छ ।
एमालेले बोलाए निःसर्त फर्किन तयार छु : गौतम
राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेकपा एमालेले उमेरहद हटाएकोमा खुसी व्यक्त गर्नुभएको छ । बुधबार राष्ट्रियसभाको बैठकमा भाग लिएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले एमालेले उमेरहद हटाएकोमा खुसी व्यक्त गर्नुभएको हो । अध्यक्ष केपी शर्मा ओलीले बोलाए आफू निःसर्त र खुसीसाथ एमालेमा फर्किने उहाँले बताउनुभयो । ‘उमेरहद शारीरिक अवस्था हो । उमेरका आधारमा विभेद गर्न पाइँदैन । यो अपराध हो । यो हट्नैपर्ने हो । यसपटक हटाएको होइन, निलम्बन गरेको हो,’ उहाँले भन्नुभयो, ‘यदि उहाँहरूले मलाई खबर गर्नुभो । तपाईं आउनुपर्यो भन्नुभयो भने म र मसँग भएका साथीहरू लिएर जान्छु । यही अवस्थामा जान्छौँ ।’ अहिले पनि आफू एमालेकै सदस्य रहेको उनले दाबी गर्नुभयो । ‘उहाँहरूले मलाई नै रोक्न उमेरहद ल्याउनुभएको हो । त्यसको माया छ । मलाई एमालेबाट हटाइसकेको छैन,’ उहाँले भन्नुभयोे, ‘अहिले पनि म एमालेकै सदस्य हो । आउनुस् त भन्नुपर्छ । मसित पार्टी छैन । पार्टी जोसित छ उहाँहरूले भन्ने हो । उहाँहरूले भन्नुभयो भने म निःसर्त जान तयार छु ।’ उहाँले आफू कुनै पद लिन नभई पार्टीमा योगदान गर्न जाने उनले बताउनुभयो । ‘वामदेव अध्यक्ष वा महासचिव हुन जाने होइन । कसैको भाग खोज्न जाने होइन,’ उहाँले भन्नुभयोे, ‘नौजवानहरूलाई प्रेरित गर्न जाने हो । मबाट नोक्सान व्यहोर्नुहुन्न । म यो देऊ पनि भन्दिनँ । तर, मेरो काम गर्ने ठाउँ चाहिन्छ । क्षेत्र चाहिन्छ ।’
वामदेवको पार्टी सदस्यता एमालेमै छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताउनुभएको छ । बुधबार अपरान्ह संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले एमालेमा ७० वर्षे उमेरहद हटाउने भएपछि वामदेव गौतम एमालेमै आउने भन्नुभएको छनि भन्ने प्रश्न गरेपछि ओलीले यस्तो बताउनुभएको हो । ओलीले अब थप केही कुरा छ र ? भन्ने प्रतिक्रिया दिनुभयो । उहाँले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको बताउनुभयो । ओलीले भन्नुभयो, ‘उहाँले सदस्यता ती छ भन्नुभयो होइन । अनि, कुरा बाँकी छ केही छ थप कुरा ? उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनुभयो । एकता अभियान चलाउनुभयो । त्यो अभियान मात्रै हो । पार्टी खोलेको होइन । एमालेमा जान्छु भन्नुभएको छ । त्यो ठिक छ । ठिक छ । उहाँको पार्टी सदस्यता एमालेमै छ ।’ ओलीले एमालेमा जान्छु भन्ने गौतमको भनाइ ठिक भएको पनि बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच