राष्ट्रियसभामा प्रधानमन्त्रीको जवाफ

अहिले चर्को बोल्नेहरूले नै जमिन सट्टापट्टाको निर्णय गरे

अनिल क्षेत्री
Read Time = 15 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीच राम्रो विश्वासको वातावरण बनाएर मात्र कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद हल गर्न सकिने बताउनुभएको छ । आफ्नो भारत भ्रमणले दुई देशबीच त्यो विश्वासको वातावरण बनाएको उहाँको दाबी छ । बुधबार राष्ट्रियसभाको बैठकमा भारत भ्रमण सम्बन्धमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय पक्षसँग भएको औपचारिक कुराकानीका क्रममा जमिन सट्टापट्टाबारे कुरा नगरेको स्पष्ट पार्दै भन्नुभयो, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो,यो समस्या छिटो हल गर्नुपर्छ मात्र भनेको हो ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भएको भोलिपल्ट नेपाली पत्रकारहरूसँग कुरा गर्दा भने नेपालकै बुद्धिजिवीहरूले भनेका छन् भन्ने सन्दर्भमा मात्र बोलेको स्पष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘सरकारले समय-समयमा गराएको अध्ययनमा पनि जटिल भयो भने सट्टापट्टा पनि गर्न सकिन्छ भनेको भेटिन्छ । मैले अहिले ठ्याक्कै प्रमाण देखाउन सकिन्न । समय सायद आउँछ, मैले प्रमाण देखाउन सक्छु । अहिले जो-जो नेताहरूले यो सट्टा भन्ने शब्द आँ...पनि गर्नु हुन्थेन भन्नुभएको छ, उहाँहरूले नै सट्टाको कुरा निर्णय गराउनु भएको छ ।’ पहिलोपटक दुईजना प्रधानमन्त्रीले दुनियाँका अगाडि ‘सीमा समस्या हल गर्छौं’ भनेर प्रतिबद्धता जनाउनु ऐतिहासिक भएको उहाँको दाबी छ ।

इपिजीबारे हाई लेभलमा कुरा नभएको स्वीकार
प्रधानमन्त्री प्रचण्डले हाइलेभल सम्वादका क्रममा इपिजीबारे कुरा नगरेको स्वीकार गर्नुभएको छ । तर, सम्वाद नै भएन भन्नु गलत भएको जिकिर गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘इपिजीबारे हाई लेभलमा (कुरा) गरिनँ । किनभने माहौल राम्रो भइरहेको थियो । यसले खतरा होला जस्तो मलाई लाग्यो । तर, अरू लेभलमा गरेँ । विश्वासको राम्रो वातावरण बनाएपछि इपिजी त कुन ठूलो कुरा भन्ने जवाफ पाएँ ।’

भारत भ्रमणबारे कनीकुथी विरोधको औचित्य नभएको जिकिर
प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणको विरोधका नाममा विरोध मात्र भइरहेको जिकिर गर्नुभएको छ । भारत भ्रमणमा भएका उपलब्धिको कार्यान्वयन प्रक्रिया अगाडि बढाउन लाग्नुपर्नेमा विरोध मात्रै गर्नु उचित नभएको जिकिर गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘हामी सबैले एक भएर भएका सहमति, समझदारी ठिक ढंगले कार्यान्वयन होऊन् र हुन बाँकी सहमति पनि बनाउन पर्‍यो भन्नुपर्छ । त्यसो भन्यो भने पनि नेपाल बलियो हुन्छ, हामी बलियो हुन्छौँ । यसमा अनावश्यक सकिनसकी विरोध गर्नुपर्ने, कनीकुथी विरोधको तरिका अपनाउनु उचित छैन ।’ प्रधानमन्त्री प्रचण्डले भारतीय संसद्‌मा नेपालको भूभाग समेटिएको नक्सा राखेको समाचार आएपछि आफूले भारतीय पक्षसँग कुरा राखेको र भारतीय पक्षबाट यो कुनै राजनीतिक नक्सा नभएकाले त्यसलाई राजनीतिक रूपमा नहेर्न भनेको जवाफ आएको पनि जानकारी दिँदै भन्नुभयो, ‘यो के हो नयाँ संसद् भवनमा भारतले राखेको नक्साबारे विभिन्न कोणबाट चर्चा भएको छ भन्दा उहाँहरूले यो कुनै राजनीतिक नक्सा होइन । यो ऐतिहासिक र सांस्कृतिक नक्सा हो । यसलाई राजनीतिक रूपले हेर्न हुँदैन भन्ने जवाफ थियो । त्यसकारण कुरा उठाएन केही पनि भएन भन्ने कुरा साँचो होइन ।’ प्रधानमन्त्री प्रचण्डले आफ्नो यसपटकको भारत भ्रमण विगतकोभन्दा फरक अनुभूति गरेको बताउनुभयो ।

सर्वोच्चले नागरिकता विधेयक नरोक्ने जिकिर
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐनलाई सर्वोच्च अदालतले मान्यता दिने विश्वास व्यक्त गर्नुभएको छ । विगतमा पटक/पटक प्रतिनिधिसभा विघटन हुँदा सर्वोच्चको फैसलाबाट पुनःस्थापित भएको स्मरण गर्नुभएका प्रधानमन्त्री प्रचण्डले नागरिकता ऐन पनि अदालतले नरोक्ने विश्वास व्यक्त गर्दै भन्नुभयो, ‘अदालतले पनि संविधान र लोकतन्त्रको मर्म र भावनाभन्दा बाहिर गएर त पक्कै गर्दैन । हिजो पनि सदन विघटन पटक-पटक हुँदा अदालतले पुनःस्थापना गरेको इतिहास छ । म त्यो विश्वास गर्छु, अन्ततः अदालतको फैसला हामी सबैलाई मान्य हुन्छ नै ।’ १७ जेठमा राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध परेको एक रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले २१ जेठमा उक्त विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । यो विषयमा २६ जेठमा दुवै पक्षलाई छलफलमा बोलाएको छ । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाभन्दा राष्ट्रियसभा सभ्य लागेको बताउनुभयो । भारत भ्रमणको विषयमा प्रतिनिधिसभाभन्दा राष्ट्रियसभामा स्वच्छ वातावरणमा छलफल भएको प्रचण्डको मूल्यांकन छ । प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डलाई एमाले, राप्रपा र रास्वपालगायत दलका सांसदहरूले धेरै प्रश्न सोधेर दबाबमा राखेका थिए । त्यसमा पनि भारतबाट आयात गरिएको राँगा प्रकरणले संसद्मा लफडा नै भएको थियो ।

कूटनीतिक मर्यादा कहिले सिक्ने ? : सांसद पौड्याल
नेकपा एमालेको तर्फबाट राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा कूटनीतिक मर्यादाहीन गतिविधि देखिएको टिप्पणी गर्नुभएको छ । राष्ट्रियसभाको बुधबारको बैठकमा भारत भ्रमणबारे प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा पौड्यालले भन्नुभयो, ‘कूटनीतिक राहदानी लिएर औपचारिक भ्रमणमा गएको जम्बो टोलीमा आधिकारिक फोटोग्राफर थिए कि थिएनन्, दौरा सुरुवाल लगाएर गएको टोलीले प्रधानमन्त्रीको अगाडि बसेर मोबाइलबाट फोटो खिच्न मिल्छ कि मिल्दैन ? यो कूटनीतिक मर्यादा हामीले कहिले सिकाउने र हामीले कहिले सिक्ने ?’

बजेटमाथिको सैद्धान्तिक छलफल जारी
संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको सैद्धान्तिक छलफल बुधबार पनि जारी रह्यो । बजेटमाथिको छलफलमा भाग लिँदै प्रतिपक्षका सांसदहरूले बजेटको चर्को आलोचना गरेका छन् । अधिकांश सत्तापक्षका सांसदहरूले बजेटको बचाउ गरे पनि कतिपय सांसदहरूले भने आलोचना गरेका छन् ।

बजेटमाथि माधव नेपाल र उपेन्द्र यादवकै कटाक्ष
प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भइरहेको बजेटमाथि सत्तारूढ दलहरूले नै असन्तुष्टि जनाएका छन् । अष्ट्रेलियाबाट बुधबार मात्र स्वदेश फर्किनुभएका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बजेटजति डडेल्धुरा र गोरखामा केन्द्रित गरिएको आरोप लगाउनुभएको छ । बजेट त्यसरी केन्द्रीकृत गर्नुको आधार प्रमाणित भए बेग्लै कुरा नत्र त्यसरी विन्यास गर्न नहुनेमा जोड दिँदै अध्यक्ष नेपालले भन्नुभयो, ‘बजेटजति सबै डडेल्धुरा र गोरखामा केन्द्रित गरियो भन्ने खालको कुरा मैले सुनेँ, नुवाकोटमा पनि लगेको छ, तेस्रो जिल्लाको रूपमा । त्यसको आधार छ भने बेग्लै कुरा हो, आधार छैन भने कुनै आधारमा टेक्नैपर्ने थियो । यसबारे सरकारको जवाफ मागिन्छ ।’

यता, सत्तारूढ दलको घटक जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पनि बजेट बिचौलियाले बनाउने गरेको टिप्पणी गर्नुभएको छ । बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै अध्यक्ष यादवले भन्नुभयो, ‘बजेट निर्माणको प्रक्रिया नै गलत छ, जनताले सोच्दो होला, माननीयजीहरूले बजेट बनाउँछन्, मन्त्रीजीहरूले बजेट बनाउँछन्, तर, यथार्थमा त्यस्तो छैन, बजेट बनाउने कर्मचारी हुन्छन्, केही बिचौलिया, केही घुसपैठियाहरू हुन्छन् । मधेसीहरूलाई गोली ठोकेर जारी गरे पनि संविधानमा समाजवादउन्मुख अर्थव्यवस्था छ । तर, बजेट समाजवादउन्मुख छैन, विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित छ ।’

सभामुखले नियमावली उल्लंघन गरेर बैठक चलाएको आरोप
सत्तारूढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको उल्लंघन गरेको आरोप लगाउनुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दाहालले केही दिन अघिको बैठकमा प्रधानमन्त्रीलाई रोष्टममा उभ्याएर अन्य सदस्यहरूलाई बोल्न समय दिएको उल्लेख गर्दै सभामुखले प्रतिनिधिसभा नियमावलीको उल्लंघन गरेको आरोप लगाउनुभएको हो । प्रधानमन्त्रीले बोलिसकेपछि प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई बोलाएर फेरि टीकाटिप्पणी गर्ने अधिकार दिएकोप्रति आपत्ति जनाउँदै सांसद दाहालले भन्नुभयो, ‘रोष्टममा उभिएर प्रधानमन्त्रीले जवाफ दिँदै जाँदा यहाँहरूको मागबमोजिम, अघिल्लो दिन यहाँहरूले अवरोध गर्नुभयो । अघिल्लो दिन सदन अवरोध गर्नुभयो । यहाँहरूको माग थियो प्रधानमन्त्री सदनमा आउनुपर्छ । र उहाँले जवाफ दिनुपर्छ । तपाईंहरूले प्रश्न गर्नुभयो । प्रधानमन्त्री जवाफ दिन रोष्टममा उभिँदाखेरी उहाँले जवाफ दिन पाउनुभएन । तपाईंहरूले प्रधानमन्त्रीको हुर्मत लिनुभयो । हेप्नुभयो । हामी संविधानको मातहतमा रहेर, प्रतिनिधिसभा नियमावलीको मातहतमा रहेर आफ्ना अभिव्यक्ति राख्नुपर्नेमा सभामुख आफैँले पनि प्रतिनिधिसभा नियमावलीको उल्लंघन गर्नुभएको छ ।’

संसद्‌मा पोलिग्राफ परीक्षण मेसिनको माग
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुवीर महासेठले संसद्मा पोलिग्राफ परीक्षणको व्यवस्था गर्न माग गर्नुभएको छ । बुधबार प्रतिनिधिसभामा बजेटमाथि छलफलको क्रममा महासेठले प्रधानमन्त्रीको भारत भ्रमणपछिको संसद्‌मा कसको भनाइ सत्य र कसको झुट भन्ने स्पष्ट नभएकाले संसद्मै पोलिग्राफ परीक्षणको व्यवस्था हुनुपर्ने माग गर्नुभएको हो । भारत भ्रमणबारे संसद्मा भएको प्रश्नोत्तरमा प्रश्नकर्ता र उत्तर दिनेमध्ये एकले झुट बोलेको तर कसले भन्ने भेउ नपाएको जिकिर गर्दै महासेठले भन्नुभयो, ‘भारत भ्रमणको अडियो भिडियो हेर्दा एकथरी कुरा, संसद्भित्र अर्कोथरी कुरा । प्रश्नकर्ता गलत थियो कि जवाफ दिने ? एउटा पोलिग्राफ टेष्टिङ मेसिनको पनि व्यवस्था होस् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?