मुक्तिकोटका बालबालिका किन कुपोषणको चपेटामा परे ?

Read Time = 17 mins

✍️ सर्पलाल गिरी

बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका-१ मुक्तिकोटका बालबालिका, किशोरी र आमाहरूमा कुपोषणबाट ग्रसित छन् भन्ने समाचार देशका नाम चलेका विभिन्न सञ्चारमाध्यबाट प्रकाशित भए । द हिमालय टाइम्स अंग्रेजी पत्रिका, हिमालय टाइम्स राष्ट्रिय दैनिक, कान्तिपुर दैनिक, एभिन्यूज टेलिभिजन, ग्यालेक्सी फोर केलगायत देशका अन्य विभिन्न रेडियो अनलाइन, पत्रपत्रिका टेलिभिजन थुप्रै सञ्चारमाध्यमहरूले स्थान पाए । राज्यको ध्यान बाजुराको मुक्तिकोट गाउँले कुपोषणका कारण तान्यो । सबै मिडियामा प्रकाशित समाचार पनि पढिए । सबैमा कुपोषण भयो । बालबालिका, किशोरी आमाहरू अझै पनि कुपोषित छन् । कुपोषणका कारण धेरै बालबालिकाले ज्यान पनि गुमाए । औषधोपचारको पहुँच छैन । राज्यको ध्यान पुगेन भन्नेमा मात्रै मिडियाले उठान गरे ।

मुक्तिकोट गाउँ सशस्त्र विद्रोहकालमा तत्कालीन विद्रोही पक्ष माओवादीले सुधार गरेर राखेको नाम हो । त्यसअघि उक्त गाउँको नाम डुमकोट थियो । देशको राजनीतिक परिर्वतनसँगै डुमकोटको नाम मुक्तिकोट नाममा परिर्वतन भए पनि यहाँका ३८० घरधुरीका नागरिकहरूको जीवनशैलीमा भने अझै परिर्वतन आएको छैन । देशमा विभिन्न शासन पद्धति र व्यवस्था परिर्वतन भए तर गाउँको नाम डुमकोटबाट मुक्तिकोट उच्चारण र लेखनमा मात्र परिर्वतन भयो । आफूहरूका लागि कुनै कुरामा पनि अनुभूति हुनेखालको सुधार व्यवस्था नभएको र आफूहरू चुनावताका भोट बैंकमात्र भएको कुरा त्यहाँका स्थानीयहरूको राज्य व्यवस्थासँग एउटै गुनासोसँगै प्रश्न छ पनि छ ।

यो गाउँका ३८० घरधुरीमा बस्ने सबै दलित समुदाय छन् । झण्डै १२ सय बढी जनसंख्या रहेको यो बस्तीमा करिब ९५ प्रतिशतभन्दा बढी बालबालिकामा कुपोषण देखिएको स्वास्थ्य क्षेत्रको तथ्यांक छ । करिब २ सयभन्दा बढी बालबालिका कुपोषणका कारण बिरामी छन् । किशोरी र आमाहरू पनि कुपोषणको शिकार बनेका छन् । २०७८ चैतयता मात्रै कुपोषणका कारण २५ बालबालिकाको मृत्यु भएको छ भने अघिल्लो वर्षमात्रै ६० भन्दा बढी बालबालिकाको अवस्था गम्भीर रहेको चिकित्सकको भनाइ छ ।

यस बस्तीमा बिक, लुवार र तिरुवालगायतका दलित समुदाय बसोवास गर्छन् । राज्यसत्ता सञ्चालनदेखि गैरदलितबाट हरेक दृष्टिकोणले यो समुदाय वञ्चित हुँदै आएको छ । शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, विद्युत् र पौष्टिक आहाराबाट यहाँका बासिन्दा वञ्चित छन् ।

यस बस्तीमा विक, लुवार र तिरुवालगायत दलित समुदाय बसोवास गर्छन् । राज्य सत्ता सञ्चालनदेखि गैरदलितबाट हरेक दृष्टिकोणले यो समुदाय वञ्चित हुँदै आएको छ । शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, विद्युत् र पौष्टिक आहाराबाट यहाँका बासिन्दा वञ्चित छन् । मुक्तिकोटका बालबालिकामा कुपोषण हुनुका कारण विशेषगरी तपसिल बमोजिमका रहेका छन् :

१. बालविवाह : यस बस्तीमा बालविवाह गर्नेको संख्या धेरै छ । अधिकांश विवाह गर्ने जोडीले बालविवाह गरेका छन् । २० वर्ष नपुग्दै दुईदेखि तीनजना बच्चा जन्माइसकेका हुन्छन् । १२ वर्षदेखि विवाह गर्नेको संख्या धेरै छ । १३ वर्षमा बच्चा जन्माउने गरेका छन् । अशिक्षा, गरिबी र परम्परागत कुसंस्कारका कारण बालविवाह हुने गरेको छ । बेरोजगार र कृषि पेशामा निर्भर भएका कारण विवाह चाँडो गरेमा खेती किसानी र घरको काममा सहयोग हुने आशामा बालविवाह गर्ने प्रचलन छ । आमाको उमेर कलिलो हुने, आमाले राम्रोसँग हेरचाह, खाना पोषयुक्त खाना नपाउने, शारीरिक तथा मानसिक तनावका कारण जन्मेको बच्चाले पोषिलो दूध खान नपाउने कारणले मर्छ ।

बच्चामा कुपोषण हुन्छ । आमाले पौष्टिक आहार, स्वास्थ्योपचार पाउँदैनन् भने बच्चाले कसरी निरोगी र पौष्टिक खाना खान पाउछ ? मुक्तिकोटकी मनमिला विकको ललाइफकाई गरेर प्रलोभनमा परेका कारण १२ वर्षको उमेरमा विवाह गरिन् १४ वर्षको उमेरमा गर्भवती भइन् ! बच्चा जन्माउन नसकेर खेर गयो । १५ वर्षमा एक बच्चा जन्माइन् । त्यसैगरी बालवविाह गर्ने अर्की मनपूजा कामीले १६ वर्षीय हीरामनि कामीसँग विवाह गरिन् । १७ वर्षको उमेरमा बच्चा जन्माइन् । २० वर्ष नपुग्दै लगातार उनले तीन सन्तानलाई जन्म दिइन् । उनका दुई सन्तान मरे उनीसँग अहिले एक छोरीमात्र छन् ।

बालविवाह गरेर २९ वर्षको उमेरमा पाँच बच्चा जन्माएर चार सन्तान गुमाइसकेकी जानकी विकको वेदना उस्तै छ । अहिले उनीसँग एक छोरामात्र छ । ३२ वर्षको उमेरमा १२ पटक गर्भवती भएर चार सन्तान गुमाइसकेकी जनसरा विकको अवस्था कारुणिक र हृदय विदारक छ । सामाजिक, सांस्कृतिक, धार्मिक, परम्परागत सोच, अशिक्षा र बेरोजगारीका कारण बालविवाह हुनेगरेको छ । बालविवाहका कारण शारीरिक, मानसिक असर आमाको स्वास्थ्यमा असर आमाले पोषिलो खाना खान नपाएर बच्चाले पनि खान पाउँदैन ।

‘आमाको पेट भरिया प भाउले दूध पाउँदो छ ! माको पेट खाली छ निस्तै रोटा र भात खाँदाछौँ ! अँदेइ जन्म्या भाउले क्या खान पाउन्या भयो ?’ ४० वर्षीया मरु विकले भावुक हुँदै भनिन् । उनले चार सन्तान गुमाइसकेकी छन् । आमाको दूध नआएपछि बच्चालाई चाहिने पर्याप्त मात्रमा पोषिलो खानेकुरा केही हुँदैन अनि बच्चा कुपोषित हुन्छन् ।

२. धेरै बच्चा जन्माउनु : बालविवाह गर्ने प्रचलनका कारण नेपालको कानुनअनुसार वैधानिक विवाह गर्ने उमेर २० वर्षसम्म यहाँका महिलाहरूले दुईदेखि तीनवटा बच्चा जन्माइसकेको पाइन्छ । महिलाको गर्भवती हुने सन्तान जन्माउन सक्ने उमेर ५० वर्षसम्म धेरै बच्चा जन्माइसकेका हुन्छन् । जन्मेका बच्चा धेरैको मृत्यु हुने कारणले पनि धरै बच्चा जन्माउने गरेका छन् । धेरै बच्चा भएका सबैलाई स्याहार, सम्भार, संरक्षण, शिक्षा, औषधोपचार र पोषिलो खाना खुवाउन कठिनाइ हुन्छ । विपन्नता गरिबी, आयस्रोत नभएका कारण बच्चा र आमालाई उचित हेरचाह, स्वास्थ्योपचार र पौष्टिक आहारमुक्त खाना पुर्‍याउन सकिँदैन । आमा कुपोषित भएमा आमाको दूध आउँदैन । बच्चाले आमाको पोषिलो दूध खान नपाएपछि कुपोषण भएको पाइन्छ ।

३. भाते प्रवृत्ति : मुक्तिकोटका समुदायले सबैभन्दा बढी भातलाई प्राथमिकता दिन्छन् । कोदो, मकै, जौ, गहुँलगायत रैथाने बालीको खाना खाने प्रचलन छैन । गहुँ, कोदो, फापर, मकै, जौ भएर पनि ऋण, सापटी गरेर खाद्य संस्थाको चामल किनेर भात खाने प्रवृत्ति छ । रैथाने बालीलाई खानका लागि प्राथमिकता दिँदैनन् । रैथाने बालीलाई उपेक्षा गर्दै खाद्यको खानामा निर्भर परेको पाइन्छ । खाद्यको चामलमा पौष्टिक तत्व कम हुन्छ । त्यस कारण कुपोषण भएको हुनसक्छ ।

४. भिरालो जमिन : यो बस्तीमा सिँचाईयोग्य जमिन छैन । सिँचाइबाट धान उत्पादन गर्ने खेतीयोग्य जमिन छैन । यहाँको बाली उत्पादन गर्ने जमिन भिरालो छ । बाढीपहिरो गइरहने र भिरालो जमिन भएका कारण बालीको उत्पादन कम हुन्छ । वर्षमा कम्तीमा तीन-चार महिना पनि खान पुग्दैन । उत्पादन कम भएर घरमा खान/लाउन भएन र सन्तान धेरै भएमा भोकमरी तथा ऋण सापट गरेर खाद्यको भर पर्नुपर्ने यहाँका बासिन्दाको बाध्यता छ । खेतबारीमा लगाएको बाली भिरालो जमिनका कारण उत्पादन कम हुने, पानी परेमा बाढीपहिरो हुने, वर्षमा मुस्किलले दुई–तीन महिना खाना पुग्ने, भोकमरी हुने, खाद्यको चामलको भर पर्नुपर्ने हुँदा आमाहरूले पेटभरि खाना र पोषिलो खाना खान पाउँदैनन् । जसका कारण बालबालिकामा कुपोषण हुन्छ ।

परम्परागत सोच, अज्ञानता, धार्मिक, सांस्कृतिक र सामाजिक कुसंस्कारका कारण बालविवाह हुने, धेरै बच्चा जन्माउने, स्वास्थ्य उपचार समयमै नपाउने, उपलब्ध भएको खानेकुरा पकाएर खान नजान्ने, अर्गानिक रैथाने खाना प्राथमिकता नदिएर खाद्यको भात खाने, बाल बच्चालाई चाउचाउ, बिस्कुट खुवाउने कारणले कुपोषण भएको पाइन्छ ।

५. हरियो सागपात तरकारी र फलफूल कम उत्पादन हुनु : यहाँको जमिन भिरालो छ । सिँचाइको अभाव छ । आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ । हरिया सागपात तरकारी र फलफूल उत्पादन कम हुने हुनाले खान पाउँदैनन् । हरियो सागपात र फलफूल तरकारी किनेर खाने प्रचलन छैन । भएको खानेकुरा बनाएर खाने प्रचलन छैन । भएको खाने कुरा पकाउने बानीमा सुधार छैन । जसका कारण कुपोषण हुन्छ ।

६. दूध-दही खान नपाउनु : यो बस्तीमा भिरालो जमिन सुख्खा खडेरीका कारण घाँसपात हुँदैन । पर्याप्त मात्रामा पानी छैन, जसका कारण गाई भैँसी पाल्न कठिनाइ छ । गाईभैँसी नभएर दूध, दही र घ्यू उपलब्ध छ्रैन । दूध, दहीँ र घ्यू खान नपाएपछि पोषिलो खानाको अभावमा आमा र बच्चालाई कुपोषण भएको देखिन्छ ।

७. सुख्खा खडेरी : यो बस्तीमा सिँचाइ छ्रैन । सिँचाइयोग्य जमिन छैन । भिरालो जमिनमा खेती हुने र आकाशे पानीको भरमा खेती गरिन्छ । आकाशे पानी नपरेपछि खडेरी हुन्छ । खडेरी भएपछि उत्पादन हुँदैन । उत्पादन नभएपछि भोकमरी हुन्छ । जसका कारण कुपोषण हुने गर्छ ।

८. शुद्ध खानेपानी, समयमै औषधोपचार नपाउने : यहाँका बासिन्दा बारम्बार शुद्ध खानेपानी खान र औषधिउपचार नपाएर बिरामी हुने गरेका छन् । आमा बिरामी भएमा बच्चाले दूध खान पाउँदैन । बिरामीका कारण आमा शारीरिक र मानसिक रूपमा अस्वस्थ भएमा आमा कमजोर हुन्छन् । आमाको दूध आउँदैन जसका कारण बच्चाले दूध खान नपाएर कुपोषण भएको पाइन्छ ।

९. अशिक्षा र बेरोजगार : यहाँका बासिन्दा धेरैजसो अशिक्षित छन् । सरकारी जागिरे कमै छन् । ९५ प्रतिशत मानिस खेती र भारतमा कुल्ली, ज्यालादारी काम गरेर गुजारा चलाइरहेका छन् । परम्परागत सोच, अज्ञानता, धार्मिक, सांस्कृतिक र सामाजिक कुसंस्कारका कारण बालविवाह हुने, धेरै बच्चा जन्माउने, स्वास्थ्योपचार समयमै नपाउने, उपलब्ध भएको खानेकुरा पकाएर खान नजान्ने, अर्गानिक रैथाने खाना प्राथमिकता नदिएर खाद्यको भात खाने, बाल बच्चालाई चाउचाउ, बिस्कुट खुवाउने कारणले कुपोषण भएको पाइन्छ ।

बेरोजगार भएका कारण कृषि खेत गर्न सकिने र विवाहपश्चात् काममा सहयोग पुग्ने कारणले बालविवाह हुने, बालविवाहका कारण कलिलो उमेरमा गर्भवती हुने, आमा शारीरिक र मानसिक रूपमा अस्वस्थ हुने, बारम्बार बिरामी हुने, हरिया सागपात, फलफूल, तरकारी, माछामासु, दूधदहीलगायत पोषिला खाना नपाउने, विभिन्न अभाव, पेटभरि खाना नपाउने हुँदा बच्चामा कुपोषण भएको पाइएको छ ।

निष्कर्ष : मुक्तिकोटलाई कुपोषणको कहरबाट जोगाउन बालविवाहविरुद्ध चेतनामूलक कार्यक्रम, स्थानीय उत्पादनलाई प्रयोग गर्ने कुराहरू र हाम्रा पुराना सांस्कृतिक मूल्यमान्यताले पनि बालबालिका र महिलाको पोषणमा सकारात्मक वा नकारात्मक प्रभाव पार्छन् भन्नेबारे विभिन्न कार्यक्रम वा गोष्ठीमा छलफल गर्नुपर्ने देखिन्छ । राज्यले पनि कुपोषणका निमित्त छुट्टै खालको नीतिनियम र कार्यविधि बनाएर यसलाई न्यूनीकरण गर्न लागिपर्नुपर्ने आवश्यक छ ।
(लेखक ः गिरी नेपाल पत्रकार महासंघ बाजुरा शाखाको केन्द्रीय परिषद् सदस्य, सामुदायिक रेडियो शिम्भुनाथ १०४.९ मेगाहर्ज कोल्टी, बाजुराका अध्यक्ष एवं डेढ दशक बालअधिकारका क्षेत्रमा काम गरेका बालअधिकारकर्मी हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?