नेपालको राजनीति बुझिनसक्नुको छ भने राजनीतिक दलहहरूका नेता तथा नेतृत्वहरूले अचम्मलाग्दो चरित्र बोकेका छन् । उनीहरू आज के बोल्छन् र भोलि के गर्छन् भन्ने भेउ सितिमिति कुनै पनि राजनीतिक विश्लेषक या ज्योतिषीले अनुमान गर्न सक्दैनन् । आफ्नो दलका नेताले बोलेको कुरामा बुझेर या नबुझेर थपडी मार्नेहरूका लागि त यस्ता कुराहरूमा कुनै चासो रहने कुरा भएन तर दलको विश्वसनीयता, इतिहास र चरित्रलाई मापन गरेरमात्रै समर्थन या विरोध गर्दछु भन्नेहरूका निमित्त भने असल दलको परख गर्नु फलामको चिउरा चपाए सरह नै हुने गरेको छ ।
नेपाली कांग्रेस त केही वर्ष यतादेखि मौन छ । देशका निमित्त साह्रै नै फलदायी काम सम्पन्न हुँदा त्यसको समर्थनमा ताली बजाउने पनि गर्दैन र राष्ट्रघातका अत्यन्तै ठूला काण्डहरू घटे पनि यसबाट विरोधका स्वरहरू सुनिन छाडेको लामै समय भइसकेको छ । देशको व्यवस्था र नागरिकहरूको अवस्थामा तात्विक परिवर्तन ल्याउन पटक–पटक जनआन्दोलन गरेको यो दलले राष्ट्रिय मुद्दाहरूमा दृष्टिकोण प्रस्तुत गर्दै मुलुकका अन्य राजनीतिक दलहरूलाई आफ्नै वरिपरि घुमाउन सफल हुनुपर्नेमा आपसमै बाझाबाझ गरेर भएको साख पनि गुमाउँदै जान थालेको अवस्था छ । त्यसैले यो दलका बारेमा धेरै चर्चा परिचर्चाहरू गरिरहनुपर्ने आवश्यकता देखिँदैन ।
नेकपा एमालेमा छलफल चल्दैन । अध्यक्षज्यूको जो विचार त्यही नै पार्टीको निर्णय हुने गरेको अनुभव सर्वसाधारणले गर्ने गरेका छन् यद्यपि पार्टीभित्र के हुने गरेको छ त्यही पार्टीका नेताहरूले जान्ने कुरा भयो । माओवादी केन्द्रमा प्रचण्डको एकछत्र राजको त आजसम्म कतैबाट पनि विरोध भएको सुनिएको छैन । त्यसैले पनि यी दलहरूमा विचार निर्माणमा खडेरी पर्न थालेको छ र ठूला भनिँदै आए पनि सही विचार सम्प्रेषण गर्न नसक्दा दलहरू खुम्चिँदै गएका छन् । आफूले विगतमा के गरेको थिएँ, मैले के बोल्न हुन्छ, मैले के गर्न हुन्छ जस्ता कुराहरूमा पनि वास्ता गर्न नसक्ने अवस्थामा नेतृत्वहरू पुगिसकेका त होइनन् भन्ने प्रश्न उठ्न थालेको छ ।
आजसम्म जति सरकारहरू गठन भए या फेरिए सबै पटकका प्रधानमन्त्रीको पहिलो बोली मेरो पहिलो भ्रमण भारतको हुनेछ भन्ने गरेको सुनिन्छ । निम्तो आए जाने नआए नजाने न हो, र पनि निमन्त्रणा पाउनु कता छ कता प्रधानमन्त्रीहरू कुर्लने गर्दछन् यही ।
आफू सत्तामा रहँदा र सत्ताबाहिर रहँदा नेताहरूले बोल्ने गरेका कुरा र गर्ने गरेका कामहरू हेर्ने हो भने कुनै पनि राजनीतिक दललाई विश्वास गर्ने ठाउँ भेटिँदैन । दलको सिद्धान्त र व्यवहारमा कतै तादात्म्य भेटिँदैन । नेताका बोली र व्यवहार नितान्त भिन्न हुने गरेका छन् । प्रधानमन्त्री पदमा बहाल रहुञ्जेल आफैंले बोलेका कुरालाई अर्को व्यक्ति प्रधानमन्त्री भएपछि त्यही कुरा बोल्यो भने त्यसैको विरोध गर्ने प्रवृत्ति नेपालका शीर्ष भनिएकै नेताहरूमा पाइन्छ । सत्तामा रहँदासम्म एकखाले चरित्र र सत्ताबाट बाहिरिने बित्तिकै अर्कै प्रवृत्ति प्रदर्शन गर्नु त सामान्य नै भइहाल्यो । सत्तासीन दलले राम्रै गरेको छ भने पनि कतै खोट देखिन्छ कि भनेर नियाली विरोध गर्ने ठाउँ खोज्नु नै प्रतिपक्षी दलहरूको कर्तव्य हो भने झैँ देखिन्छ ।
दशकौं भइसकेकको छ कि नेपाली जनताले प्रत्येक वर्ष सुन्ने गरेको बजेट भाषण सधैं उस्तै जस्तै लाग्दछ । जुन दलको सरकारले बजेट प्रस्तुत गरेको छ उसले न भूतो न भविष्यति भने झैँ यही नै मात्रै उत्कृष्ट बजेट हो भनेर दावा गर्दछन् तर विपक्षमा रहेका दल र नेताहरूले भन्ने कुरा पनि सधैं एउटै हुनेगरेको छ, नयाँ बोत्तलमा पुरानो रक्सी । न बजेट नयाँ आएको देखिन्छ न टिप्पणी नै परिवर्तन भएको पाइन्छ । आफ्नो चाहिँ साह्रै राम्रो त्यही कुरा अरूले गर्दा नराम्रो भन्ने गर्दछन् ।
शिक्षा सुधारका उस्तै उपायहरू, स्वास्थ्य क्षेत्र सुधारका मार्गचित्र उस्तै, पूर्वाधार विकासका योजना उस्तै अर्थात् सधैँ नै उस्तै बजेट भाषण सुनिन्छ । आजसम्म न कुनै सरकारले नयाँ प्रस्थान बिन्दु तय गर्न सकेको देखिन्छ न नयाँ गन्तव्य नै पहिल्याउन सकेका छन् । तथापि सत्तामा रहेका दलले अब्बल कार्यक्रम भन्ने गर्दछन् भने विपक्षी दलका नेताहरू नजान्ने विद्यार्थीले चिट चोरेजस्तो भन्दै आरोप लगाउँछन् । न कांग्रेसको, न माओवादीको न एमालेको कुनै पनि सरकारले विकास र समृद्धिको गतिमा फड्को मार्न सकेका छन् यद्यपि अर्को दललाई मात्रै दोष लगाउन पछि पर्ने गरेका पनि छैनन् ।
आजसम्म जति सरकारहरू गठन भए या फेरिए सबै पटकका प्रधानमन्त्रीको पहिलो बोली मेरो पहिलो भ्रमण भारतको हुनेछ भन्ने गरेको सुनिन्छ । निम्तो आए जाने नआए नजाने न हो र पनि निमन्त्रणा पाउनु कता छ कता प्रधानमन्त्रीहरू कुर्लने गर्दछन् । सबैको प्राथमिकतामा भारत भ्रमण भए पनि आफूमात्रै चोखो जस्तो गरी अर्कातिर औंला ठड्याउन पनि कोही पछि परेका देखिँदैनन् । चीन या अरू कुनै देशमा नेपालका प्रधानमन्त्रीले पहिलो पाइला टेक्नुलाई अपराध सरह व्याख्या गर्ने गरेको पाइन्छ ।
फेरि भारत गएर आजका मितिसम्म कसैले माखो मारेको छैन भन्दा पनि अत्युक्ति हुँदैन । गण्डकीको पानी नेपालीले उपयोग गर्न पाउने अवस्थामा कसले कति सुधार गरे र ? कोशी नदीको पानीले चाहिने बेलामा काम दिने र आवश्यकता भएतिर पर्याप्त उपयोग गर्न पाउने अवस्था छैन तर वर्षामा नेपालको खेतीयोग्य भूभाग जम्मै डुबाउँछ । यसमा भारतका ज्यादतीका बारेमा बोलेर सुधार कुन प्रधानमन्त्रीले ल्याए र ? महाकाली नदीको पानीको बाँडफाँड हेरियो भने पनि कुन नेपालीको मन रुँदैन र ? सुस्ताको सीमा विवाद भर्खरै उदाएको कुरा हो र ?
लिपुलेक, कालापानीमा भारतले भर्खरै अतिक्रमण गरेको हो र ? दार्चुलाको सीमा हुँदै भारतले बाटो खनेको एकरातमै हो र ? मेचीदेखि महाकालीसम्मका सीमामा भारततर्फबाट गरिएका अतिक्रमणहरू सबै एउटै प्रधानमन्त्रीका कालमा भएका हुन् र ? नेपाली भूभाग डुबान हुने गरी सीमाक्षेत्रमा भारतले संरचनाहरू निर्माण गर्ने कार्य एकदिनमा सम्पन्न गरेर कसैलाई जानकारीमै नआएको हो र ? यस्ता थुप्रै प्रश्नहरू छन् जसको जवाफ नेपाली जनताले शीर्ष भनिएका नेताहरूसँग खोजिरहेका छन् ।
नेपाली कांग्रेसका शेरबहादुर देउवा, एमालेका केपी ओली र माओवादीका प्रचण्ड पटक-पटक प्रधानमन्त्री बने । शेरबहादुर प्रधानमन्त्री हुँदा यी विषयहरूमा के-के कुरा भए ? केपी ओली प्रधानमन्त्री हुँदा के के कुरा चलाउन समर्थ भए ? प्रचण्ड प्रधानमन्त्री हुँदा के-के उपलब्धि हासिल भयो भन्ने कुरामा सबै नै जानकार छन् । यसअघिका गिरिजाप्रसाद, मनमोहन र किसुनजीहरूका बारेमा अहिले चर्चा गर्नु त्यति सान्दर्भिक देखिँदैन तर यी नेताहरूले एकले अर्कोलाई चोर औंला ठड्याएको भने कत्ति पनि सुहाएको देखिँदैन ।
आफ्ना पालामा सिन्को नभाँचेका प्रधानमन्त्रीले अर्काका पालामा १५ वटा राँगा ल्याए भनेर व्यंग्य गर्नु हास्यास्पद छ । जुनसुकै प्रधानमन्त्री भारत गए पनि ल्याएको भन्दा दिएर आएकै बढी भएको अनुभव नेपाली जनताले गरेका छन् ।
आफ्ना पालामा सिन्को नभाँचेका प्रधानमन्त्रीले अर्काका पालामा १५ वटा राँगा ल्याए भनेर व्यंग्य गर्नु त्यत्तिकै हास्यास्पद छ । जुनसुकै प्रधानमन्त्री भारत गए पनि ल्याएको भन्दा दिएर आएकै बढी भएको अनुभव नेपाली जनताले गरेका छन् । भारतबाट आयातीत तरकारीको विषादी परीक्षण गर्ने व्यवस्था लागू गर्न नसक्ने यहीँकै प्रधानमन्त्रीहरू होइनन् र ? यसमा एउटा दलका एउटा प्रधानमन्त्रीमात्रै दोषी छन् र ? त्यसैले लाज पचाएर अरूलाई मात्रै दोष थुपार्न कम्तीमा पनि एकपटक प्रधानमन्त्री भएको व्यक्तिलाई सुहाउला जस्तो लाग्दैन ।
प्रधानमन्त्री प्रचण्ड भारत गएका बेला त्यहाँका प्रधानमन्त्री, विदेशमन्त्रीहरूसँग कुरा गर्दा परराष्ट्रमन्त्री, अरू मन्त्री र राजदूतसँगै नराखेको कुराले ज्यादै चर्चा पाएको छ । यो सरासर गलत पनि हो र यसमा आमनेपाली नागरिकले प्रश्न गर्नु पर्दछ तर विगतमा यस्तै गरेकै व्यक्तिले चर्को स्वरमा विरोध जनाउँदा भने सामान्य नागरिकलाई पच्न गाह्रै हुने रहेछ । भारतीय समकक्षी पनि होइन कि भारतीय गुप्तचर निकायका एक सामान्य कर्मचारीसँग मध्यरातमा भेट गर्दा परराष्ट्र मन्त्रालयको को साक्षी राख्नु भएको थियो भनेर यही प्रश्न सोधे भने के उत्तर दिने हो भनेरसमेत ठूला भनिएका नेताहरू हेक्का राख्न सक्दैनन् । या त मैले गरेको सबै ठीक र अरूले गरेको सबै बेठीक हुनुपर्दछ भन्ने मान्यता नेताहरूले बोक्ने गरेका छन् ।
समग्रमा भन्नु पर्दा नेपाली नेताहरू डबल स्टाण्डर्डका छन् । कतिपय कुराहरू अञ्जानमा बोल्ने गर्दछन् भने कतिपय कुराहरू जानाजान गल्ती गर्न पनि डराउँदैनन् । नेता हुन लाज पचेकै हुनुपर्दछ भन्ने मान्यता स्थापित गर्न राजनीतिक दलका नेताहरू कस्सिएका छन् भन्ने अनुभूति उनै नेताहरूका क्रियाकलापले गराएका छन् । नेपाली आन्तरिक राजनीतिमा जे जसो गर्ने गरेको भए पनि अन्तर्राष्ट्रिय मामिलामा सबै नेताहरूको एउटै विचार, आवाज र क्रियाकलाप हुनुपर्ने हो तर हुने गरेको छैन । हेरौं, कहिले नेताहरू सुध्रिने हुन् ?
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका