अभियुक्तको तर्फबाट आज पूर्वमहान्यायाधिवक्ता श्रेष्ठले बहस गर्दै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि अभियुक्तको तर्फबाट बहस जारी रहनेछ । आज अभियुक्त सानु भण्डारीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्नुहुनेछ ।

बुधबार केशव दुलाल, सानु भण्डारी र टंक गुरुङको पक्षबाट कानुन व्यवसायीहरुले बहस गर्नुभएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बुधबारदेखि अभियुक्तहरूको तर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्नुभएको हो ।

अभियुक्तमध्येका केशव दुलालका तर्फबाट अधिवक्ता विकास भट्टराईले बहस सुरु गर्नुभएको थियो । भट्टराईपछि दुलालको पक्षमा अधिवक्ताहरू विकास थापा, राजन भट्टराई, नरेन्द्र योगी र वरिष्ठ अधिवक्ता विश्वास आचार्यले बहस गर्नुभएको थियो ।

अर्का अभियतुक्त सानु भण्डारी र टंक गुरुङको तर्फबाट संयुक्त रूपमा अधिवक्ताहरू विनोद शर्मा, चुडामणि पोख्रेल, शिवप्रसाद रिजाल, साधुराम सापकोटा, शरदप्रसाद कोइराला, षडानन्द कँडेल र नीरसिंह कुमार खत्रीले बहस गर्नुभएको थियो ।

जिल्ला अदालत काठमाडौंमा जारी थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।

सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल र सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोगपत्र दायर गरिएको छ । जसमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन् । १२ जना अझै फरार छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?