प्रेमकुमारहरूबारे चर्चाको अन्तर्य

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । हल्लै हल्लाको देश भनेर कवि भूपि शेरचनले निकै अगाडि लेख्नुभएको थियो । नेपालीहरू काम भन्दा पनि हल्ला गर्न, कुरा काट्न र धेरै जसो दिउँसै रक्सी पिउन अभ्यस्त छन् । सायद यी तिन कुराहरूमा केही थोरै मात्रै कमी ल्याउन सके यो देश संसारको सबैभन्दा सुन्दर, सुखी र समृद्ध हुने थियो होला ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा गएको समय उहाँमार्फत मुर्रा भैंसीका राँगहरू उपहारमा दिने समाचार आयो । यो समाचार आउनु के थियो नेपालीहरू सक्रिय भए, कुरा काट्न । सामाजिक संजालमा उछित्तो काट्न सुरु भयो । हल्ला जे गरे पनि हुन्छ ।

प्रधानमन्त्रीले सायद त्यति गृहकार्य नगरी वोल्नुभयो : लिम्पियाधुराको विवाद टुंग्याउन विभिन्न विकल्पहरू मध्ये वंगालको खाडीसम्म पुग्ने राधिकापुरको बाटो भारतले दिएमा कतै न कतै सहमति हुनसक्छ । भाषा फरक भए पनि आसय यही नै हो भनेर वुझ्न सकिन्छ ।

स्मरणीय छ यो भन्दा पहिले नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सट्टापट्टा हुनसक्ने वा लिज प्रक्रियामा जान सकिने विकल्प दिनु भएको थियो । संसारमा यस्ता अनेक उदाहरणहरू छन् जसलाई सहमति वा संझौताको टेबुुलमा वसेर समाधान गरिएको छ । तर नेपालमा तत्काल विपक्षमा रहनेहरूको राष्ट्रवाद जुरुक्क मुर्दाघरबाट उठेर हल्ला सुरु गर्छ र भयानक हल्लीखल्ली हुन्छ । तर समाधान के हो कसैले भन्ने आँट गर्दैनन् र भने पनि कार्यान्वयन गर्ने सामथ्र्य हुँदैन ।

यही हललावादी राष्ट्रवादका कारण नेपालको अर्वौ खर्वौं मूल्यको पानी निरन्तर खेर गएको छ । पानीको हल्लाको बाढीमा नेपालीहरू निरन्तर दरिद्र भएको भएकै छन् । तैपनि हल्ला घट्दैन, र हल्लामा विस्वास गर्नेहरू घटेका हुँदैनन् ।

आफू सत्ता बाहिर हुनासाथ हल्लाको कारखाना चालु हुन्छ र भयानक हल्ला निर्यात हुन लाग्छ । सही के हो, गलत के हो ? उचित के हो र अनुचित के हो कसैलाई मतलब हुँदैन । अर्थात् भीडको टाउको हुँदैन भन्ने उखान चरितार्थ भइरहेको हुन्छ ।

अहिले भुटानी शरणार्थी प्रकरणमा पनि भीड हल्ला वेपत्ता छ । अमुक अभियुक्तले अमुक मानिसलाई पोल्यो रे, अमुक व्यक्तिको नाम बयानको अभिलेखबाट हटाइयो रे, अमुकहरू पनि त्यसमा सक्रिय छन् अरे । अनि यही हल्लालाई प्रमाण मानेर अनुसन्धान हुनुपर्ने, रिपोर्ट वन्नु पर्ने, अभियोजन हुनु पर्ने, वहस र फैसला हुनु पर्ने अरे । गजव छ हल्लामा नै रमाउने गरेको यो देशको दशा । कतिपयलाई अमुक व्यक्तिको नाममाथि चर्चा गर्दा निकै सान्त्वना मिल्छ, कसैको चित्त कटक्क हुन्छ होला । अहिले अनेक राजनीतिक र प्रशासनिक नामहरू माथि हल्ला छ ।

अख्तियारका प्रमुख प्रेमकुमार राईदेखि केही नेतापत्नीहरूको समेत नाम निरन्तर चर्चामा आउने गरेको छ । आउन त प्रहरी प्रमुखकोसमेत नाम सार्वजनिक संजालमा आउन भ्याएको छ । यसरी आएका नामहरू सही हुन् वा होइनन् भन्ने अधिकारी अनुसन्धानकर्ता बाहेक अरु कसैलाई थाहा छैन । यदि हल्लामा आएका नामहरू अनुसन्धानको दायरामा आउने हुन्, आएका छन् वा आउनसक्ने हुन् भने नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा संलग्नहरूले नै यसको स्पष्ट जवाफ दिनुपर्छ ।

त्यसमा पनि अख्तियार दुरुपयोग अनुसन्धान जस्तो सर्वाधिक संवेदनशील स्थानमा रहेका प्रमुखबारे यसरी हल्ला चल्नु र वहस हुनुले आयोगको महत्व, गरिमा र कार्यमा कस्तो नकारात्मक प्रभाव पर्ने हो विचारणीय छ ।

राजनीति गर्नेहरू आलोचनामा अभ्यस्त हुन्छन् । तैपनि उनीहरूमाथि गलत अभियोग लगाउन पाइँदैन । सकेसम्म सत्यका नजिक पुगेर चर्चा हुनु आवस्यक छ । यतिखेर नक्कली भुटानी शरणार्थीको विषयले आफ्नो नागरिकतालाई अर्काको दशेसँग साटफेर गर्ने, त्यसवापत पहिले शरणार्थी वनाउन र विदेश पठाउन मूल्य तिर्नेहरूलाई पीडित भनेर परिभाषित गर्दै अनुसन्धान गरिरहेको अवस्था छ ।

तर, ति पीडितहरू यदि नक्कली शरणार्थीको हैसियतमा विदेश जान पाएका भए के सही मानिन्थ्यो ? मानिदैनथ्यो भने तिनीमाथि किन अनुसन्धान र कार्वाही न हुने ? विदेश जान पाएका भए यो प्रकरण यसरी सतहमा आउने थियो ? कि थिएन ? जस्तो विषयलाई गौण रुपमा हेरिएको छ र हल्लाको खेती चलिरहेको छ । यस्तो हल्लाको खेती चलुन्जेल प्रेमकुमार वा अरु धेरै प्रेमकुमारहरूमाथि हल्लाको वागबर्षा भइ नै रहने छ । कमसेकम यस्तो हल्लाको सत्यतथ्यका विषयमा सम्बद्ध विषयका अनुसन्धान अधिकृतहरूले आम नागरिकलाई सही जानकारी दिनु आवस्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?