एकपटक आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था छ : प्रधानमन्त्री

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 11 mins

रुपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकपटक आर्थिक क्रान्ति गर्नुपर्ने अवस्था आएको बताउनु भयो ।

बिहीबार लुम्बिनी केबलकारको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कोरोना महामारीको मारबाट भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति नै गर्नुपर्ने बताउनु भयो ।

देशको अर्थतन्त्र अप्ठेरोमा रहेका बेला निजी क्षेत्रका तर्फबाट पर्यटकीय पूर्वाधारहरू निर्माण भएबाट मुलुकमा आर्थिक क्रियाकलाप थप चलायमान भएको र यसले सकारात्मक सन्देश गएको प्रधानमन्त्रीले बताउनु भयो ।

रुपन्देही र पाल्पा जिल्लालाई जोड्ने गरी निर्माण भएको केबलकारको पर्यटकीय पूर्वाधारले स्थानीयस्तरमा मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो योगदान पुग्ने उहाले बताउनु भयो ।

नेपालमा आउने विदेशी पर्यटकका लागि यस्ता पर्यटकीय संरचनाले सहयोग पुग्ने र यसबाट उनीहरुको नेपाल बसाई पनि लम्ब्याउन सकिने प्रधानमन्त्रीको भनाई छ । पर्यावरणीय महत्वलाई कायमै राखेर स्थानीय नागरिकको पनि साझेदारीमा काम गर्न र उनीहरुको जीवनस्तर उकास्ने खालका काम गर्न प्रधानमन्त्रीले सुझाव दिनुभयो ।

वर्तमान सरकारले देश विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्यका साथ अघि बढ्ने नीति लिएको र देशमा लगानीका सम्भावनाहरूलाई हर समय खुला राख्ने पक्षमा रहेको प्रधानमन्त्रीले उल्लेख गर्नु भयो ।

पर्यटन क्षेत्रको बहुआयमिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, होटललगायत पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवं पर्यटकको बसाइ लम्बाउन आवश्यक पर्ने नीति अवलम्बन गरिने वताउनु भयो । मुलुकभित्रै रोजगारीको अवस्था सिर्जना गर्न आन्तरिक उत्पादन र नवप्रवर्तनको क्षेत्रमा लगानी केन्द्रित गरी अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग–व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारू गर्ने निर्णय गरिसकिएको प्रधानमन्त्रीले वताउनु भयो । पछिल्लो समयमा आर्थिक प्रणालीमा व्यवसायिक चक्रभन्दा सम्पत्तिको मूल्य वृद्धि चक्र हावी हुनु दुःखद भएको उल्लेख गर्दै कृषि, म्यानुफेक्चरिङ, उद्योग एवं वास्तविक सेवा क्षेत्रको वृद्धिदरलाई उच्च बनाएमा मात्र वित्तीय क्षेत्र बलियो र स्थीर हुने प्रधानमन्त्रीले उल्लेख गर्नु भयो । उच्च मुद्रास्फीति र अस्थीर व्याजदरले राज्य एवं सामान्य नागरिकको बजेट प्रणाली, ज्याला, उद्योगको विकास र आम जनसमुदायको जीवनस्तरमा नकारात्मक प्रभाव पार्ने भएकाले यसमा सरकारले उपर्युक्त कदम चाल्ने प्रधानमन्त्री प्रचन्डले बताउनु भयो ।

अहिलेसम्म चल्दै आएको विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक रहेको प्रधानमन्त्रीको भनाई छ । ‘हालसम्मका योजनावद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैंगिक समानता, समावेशीता जस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए तापनि उत्पादन र रोजगारीको क्षेत्रमा हाम्रो प्रगति उत्साहजनक छैन’–प्रधानमन्त्रीले भन्नुभयो ।

पछिल्लो ६ महिनामा दुर्घटनाग्रस्त अर्थतन्त्रले लय समातेको र समष्टिगत आर्थिक परिसूचकहरूमा राम्रो सुधार आउन थालेको प्रधानमन्त्रीको दावी छ ।

वर्तमान सरकारले स्वदेशी तथा वैदेशिक लगानीका लागि सदैव आह्वान गर्ने गरेको वताउनु भयो। भारतको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा भएबाट अब नेपालमा हाइड्रोपावरका क्षेत्रमा लगानीको बाटो खुलेको वताउदै वर्तमान सरकार निजी क्षेत्रसँगको सहकार्य बिना देशमा समृद्धि सम्भव छैन भन्नेमा प्रष्ट रहेको उल्लेख गर्नु भयो ।

पुर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले महत्वपूर्ण संरचना निर्माण गरेर पुरा भएको भन्दै यसबाट पर्यटन विकासमा टेवा मिल्ने बताउनु भयो । पाल्पा र रुपन्देहीलाई जोड्ने काम केबलकारले गरेको पौडेलको भनाई छ । कामाख्या देवि मन्दिरको विशाल, आकर्षक, धार्मिक आस्थाको मन्दिरका कारण यहाँको थप गरिमा बढेको वताउनु भयो । अन्त कहीं पनि निर्माण गर्न नसकिने बुद्ध जन्मस्थल र योसंगै जोडिएका धेरै संरचना प्रदेशमा रहेको भन्दै उहाले यसको ऐतिहासिक सम्पदा, सामाजिक सांस्कृतिक सम्पदालाई प्रचारप्रसार गरेर अघि बढ्न जरुरी रहेको वताउनु भयो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–नारायणगढ सडक बिस्तार जस्ता परियोजनालाई निरन्तरता दिन जरुरी रहेको पौडेलको भनाई छ । लगानी निजी क्षेत्रबाट भएपनि यसबाट सबैको आर्थिक सबलीकरणमा सहयोग मिल्ने पौडेलको भनाई छ ।

लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले संकटग्रस्त अहिलेको अवस्थामा लुम्बिनी केबलकारले महामारीबाट लडेको देशको अर्थतन्त्र धुलो टकटकाउँदै उठेर तंग्रिन खोजेको सन्देश दिएको वताउनु भयो । ढकालले चीन र भारतमा झण्डै पौने तीन अर्ब जनसंख्या रहेकाले दुबै देशका हिन्दु र बौद्ध धर्मावलम्बीलाई मनन् गरेर पर्यटन नीति बनाएमा पर्यटक र समृद्धि खोज्न धेरै तिर भौँतारिनै नपर्ने वताउनु भयो।

रुपन्देही र पाल्पा जिल्ला जोड्ने पर्यटकीय पूर्वाधारले रुपन्देही, पाल्पा, नवपरासी र कपिलवस्तु जिल्ला र समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पु¥याउने ढकालले वताउनु भयो । केबलकार टिकटको आम्दानीको २ प्रतिशत रकम बुटवल र तिनाउ दुई पालिकाको विकासमा लगाइने ढकालले बताउनु भयो।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले निजी क्षेत्रबाट गरिने सबैजसो लगानीमा प्रदेश सरकार स्वागत गर्न चाहेको बताउनु भयो । संघीयतालाई केन्द्रको युनिटका रुपमा नहेर्न उनले सुझाव दिदै संविधानले तोकेका अधिकार प्रदेशलाई विकेन्द्रीकरण गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गर्नु भयो । पुलिस नभएको सरकारको कुनै तुक नभएको भन्दै आवश्यक नीतिमा रहेर आधारलाई टेकेर अधिकार दिन प्रधानमन्त्रीलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले यहाँका पर्यटकीय क्षेत्रमा केबलकार संचालनसंगै थप पर्यटकहरुलाई सुविधा दिने वताउनु भयो । उहाले १४ महिनामा ठूलो आयोजना सम्पन्न गरी देशमा विकास गर्न सकिने सम्भावनालाई उजगार गरेको वताउनु भयो । निजी क्षेत्रबाट छिटो काम हुने तर सरकारी विकासका काम तोकिएको समयमा नहुने समस्यालाई तोड्ने गरी अघि बढ्न सरकारलाई उनले सुझाव दिनुभयो ।

कार्यक्रममा भारत उत्तर प्रदेशका पुर्व मुख्यमन्त्री जगदम्बिका पालले भारतीय पर्यटकलाई भुलाउने सम्भावना देखिएको वताउनु भयो । नेपालको साहसिक, धार्मिक र पर्यटकीय स्थलमा बाह्य पर्यटक ल्याउन र रमणीय स्थलमा घुमाउने थलो रहेको छ । लुम्बिनीसंगै नयाँ गन्तव्यका कारण नेपाल र भारतबिच जनस्तरमा थप भावनात्मक सम्बन्ध स्थापित हुनेछ”–उहाले भन्नु भयोे ।

कार्यक्रममा संघीय सांसद ठाकुर गैरे र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले पर्यटन नै आर्थिक विकासको आधार भएको बताउनु भयो।

कार्यक्रममा पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले यो क्षेत्र ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्र रहेको भन्दै यहाँको विकासमा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?