निजी क्षेत्रको सहकार्य बिना समृद्धि सम्भव छैनः प्रधानमन्त्री

Read Time = 8 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार निजी क्षेत्रसँगको सहकार्यबिना देशमा समृद्धि सम्भव छैन भन्ने कुरामा स्पष्ट रहेको बताउनुभएको छ । मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको निजी क्षेत्रलाई लगानी एवं व्यवसायका क्षेत्रमा आइपर्ने जस्तासुकै समस्या हल गर्न सरकार सदैव तत्पर रहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहालले आज बुटवल हिल्सद्वारा प्रवर्द्धित लुम्बिनी केबलकारको उद्घाटन गर्दै आफू नेतृत्वको सरकारले देश विकास र समृद्धिको यात्रामा निजी क्षेत्रलाई साथ लिएर अघि बढ्न चाहेको बताउनुभयो ।

“म निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीका सम्भावनालाई हरेक समय खुला राख्ने पक्षमा छु”, उहाँले भन्नुभयो, “कोरोना महामारीका कारण प्रभावित अर्थतन्त्रको विकासका लागि आर्थिक क्रान्ति जरुरी भइसकेको छ ।” उहाँले सरकारले यसअघि निजी क्षेत्रका लागि विभिन्न आर्थिक प्याकेज ल्याएको समेत बताउनुभयो ।

उहाँले बुद्धको जन्मस्थल लुम्बिनी जस्तो महत्वपूर्ण स्थानमा केबलकार तथा पाँचतारे होटलसहित पर्यटकीय संरचना निर्माण गर्दा यहाँको स्थानीय मात्र नभएर राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले पर्यटन क्षेत्रको बहुआयामिक विकासका निम्ति भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, होटललगायत पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवं पर्यटकको बसाइ लम्ब्याउन सरकारले आवश्यक नीति अवलम्बन गर्ने जानकारी दिनुभयो ।

उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग–व्यवसायलाई सङ्कटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सञ्चालन गर्ने निर्णय गरिएको र यसले अर्थतन्त्र सुधारका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने बताउनुभयो । उहाँले उच्च मुद्रास्फीति र अस्थीर ब्याजदरले असर पारेको भन्दै यसका लागि सरकारले उपयुक्त कदम चाल्ने विश्वास दिलाउनुभयो ।

उहाँले अब देश विकासको मोडलबारे पुनर्विचार गर्न आवश्यक रहेको धारणा राख्नुभयो । “हालसम्मका योजनाबद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, समावेशीता जस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए पनि उत्पादन र रोजगारीको क्षेत्रमा भएको प्रगति उत्साहजनक छैन”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले साझा सङ्कल्प भए मात्रै विकास र समृद्धिमा गुणात्मक सुधार ल्याउन सकिने स्पष्ट पार्नुभयो । उहाँले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै भारत भ्रमणका क्रममा पनि आफूले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानीका लागि आह्वान गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बुटवल र पाल्पा जोड्ने गरी निर्माण गरिएको केबलकारले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउनेमा विश्वास व्यक्त गर्नुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा पर्यटन विकासका प्रशस्तै सम्भावना भए पनि यसको प्रवर्द्धनमा ध्यान पुग्न नसकेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासमा यस खालको पूर्वाधारको निर्माणले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस क्षेत्रको पर्यटकीय विकासका लागि बुद्ध जन्मस्थल लुम्बिनी महत्वपूर्ण सम्पदा रहेको र यसको गुरुयोजना पूरा गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले लुम्बिनी क्षेत्रको विकास र समृद्धिका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, बुटवल–गैँडाकोट राजमार्ग विस्तार, सिद्धबाबा सुरुङमार्ग निर्माण, अन्तर्राष्ट्रिय सभाहल निर्माणजस्ता विकासका पूर्वाधारसँगै निजी क्षेत्रबाट निर्माण भएका यस खालको पूर्वाधार सहयोगी बन्ने बताउनुभयो ।

त्यस अवसरमा भारत उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेकोले आफ्नो प्रदेशका नागरिकका लागि पनि राम्रो पर्यटकीय गन्तव्य बनेको बताउनुभयो ।

तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले केबलकार सञ्चालनले गाउँपालिकाको विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो । उहाँले तिनाउका स्थानीयलाई यहाँ उत्पादित कृषि उपजको बजार खोज्न अब अन्यत्र पुग्न नपर्ने अवस्था आएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद शर्माले बुटवलबाट पाल्पाको हिलस्टेशन वसन्तपुरमा केबलकार सञ्चालनले रुपन्देहीको व्यापार व्यवसायमा सुधार आउने अपेक्षा रहेको बताउनुभयो । उहाँले यसबाट सिङ्गो निजी क्षेत्रले पर्यटन प्रवर्द्धनका लागि उत्साह जगाएको र यस क्षेत्रको आर्थिक गतिविधि थप उजागर हुने अपेक्ष गरिएको बताउनुभयो ।

लुम्बिनी केबलकार कूल रु साढे तीन अर्ब लगानीमा निर्माण भएको हो । केबलकारको बटम स्टेशन बुटवल–३ बमघाट र टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा छ ।
रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?