एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डः वर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 5 mins

धनगढी । धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको थप दुई विधाको मनोनयन सार्वजनिक भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको वर्ष प्रशिक्षक र वर्ष युवा खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको हो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक विजेता प्रशिक्षक खेलाडीहरूलाई समेटेर मनोनयन सार्वजनिक गरेको हो । यसअघि सुदूरपश्चिम आइकन पुरुष र सुदूरपश्चिम आइकन महिला विधाको मनोनयन सार्वजनिक गरिएको थियो ।

चौथो संस्करणको एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको सारथि अस्पताल वर्ष प्रशिक्षक विधामा कुस्तीका राजेन्द्र चन्द, भारोत्तोलनका जीवन गौतम र क्रिकेटका जगत् टमटा मनोनयनमा पर्नुभएको छ । चन्दको प्रशिक्षणमा सुदूरपश्चिमले नवौँ राष्ट्रिय खेलकुदमा पाँच स्वर्ण पदक जितेको थियो । सुदूरपश्चिमले जितेको १० स्वर्णमध्ये पाँच स्वर्ण जिताउने प्रशिक्षक चन्द हुनुहुन्छ । उहाँकै प्रशिक्षणमा नेपालले १३औँ दक्षिण एसियाली खेलकुदमा संगीता धामीले ३६ वर्षपछि नेपाललाई कुस्तीमा स्वर्ण पदक जिताउनुभएको थियो ।

९औँ राष्ट्रिय खेलकुदमा कुस्तीपछि सबैभन्दा बढी स्वर्ण पदक जिताउने प्रशिक्षक हुनुहुन्छ जीवन गौतम । भारोत्तोलनमा उहाँको प्रशिक्षणमा सुदूरपश्चिमले तीन स्वर्ण पदक जितेको थियो । क्रिकेट प्रशिक्षक टमटाको नेतृत्वमा नेपाल यू-१९ विश्वकपका लागि छनोट भएको छ । उहाँले आठ वर्षपछि नेपाललाई यू-१९ विश्वकपमा पुर्‍याउनुभएको हो । उहाँकै नेतृत्वमा नेपाली महिला क्रिकेट टिमले पनि विभिन्न प्रतियोगिता खेलेको थियो ।

निसर्ग हस्पिटल वर्ष युवा खेलाडीको मनोनयनमा भारोत्तोलनका हेमन्त पाल, क्रिकेटकी अनु कठायत र क्रिकेटकै हेमन्त धामी मनोनयनमा पर्नुभएको छ । पालले ९औँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्नुभएको छ । उहाँले पहिलो सहभागिताको राष्ट्रिय खेलकुदमा १७ वर्षको उमेरमा स्वर्ण पदक जित्नुभएको हो । अनुले उमेर समूहबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनुभएको छ । उहाँले यू-१९ विश्वकप महिला एसिया छनोटमा सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । उहाँले घरेलु उमेर समूहको प्रतियोगितामा पनि सुदूरपश्चिमलाई जिताउन भूमिका खेल्नुभएको छ । क्रिकेटका धामीले नेपाललाई यू-१९ विश्वकपमा नेपाललाई छनोट गराउन उत्कृष्ट प्रदर्शन गर्नुभएको छ । उहाँले बलिङ र ब्याटिङमा सानदार प्रदर्शन गर्नुभएको छ ।

यसअघि नै सुदूरपश्चिम आइकन पुरुष र सुदूरपश्चिम आइकन महिला विधाको मनोनयन सार्वजनिक गरिसकिएको छ । ‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य सह-प्रायोजकमा धनगढीको स्वस्तिक अस्पताल रहेको छ । चौथो संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ मार्फत् वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गरिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?