कृष्णमोहन ब्याडमिन्टनको उपाधि प्रिन्सलाई

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । १६औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुला ब्याडमिन्टन प्रतियोगिता-२०८० को पुरुष एकलतर्फको उपाधि नेपाल एपिएफ क्लबका प्रिन्स दाहालले जित्नुभएको छ । फाइनल खेलमा प्रिन्स दाहालले त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनलाई २१-११ र २१-११ अन्तरले पराजित गर्दै उपाधि जित्नुभएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित प्रतियोगिताको समापन समारोहमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विजयी खेलाडीहरूलाई शिल्ड, पदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रतियोगिता सञ्चालनमा सहयोग पुर्‍याउनुहुने विभिन्न संघसंस्था, रेफ्री तथा अफिसियलहरूलाई समेत प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्नुभयो ।

यसैगरी बिहीबार भएको महिला एकलतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले नेपाल एपिएफ क्लबकी जेसिका गुरुङलाई २१-१९, १५-२१ र २१-१७ ले पराजित गरी उपाधि हात पार्नुभयो ।

यसैगरी १९ वर्षमुनिका केटाअन्तर्गत नेपाल एपिएफ क्लबका क्षितिज खनालले एपिएफ क्लबकै रोशन साउदलाई १३-२१, २१-१७, २१-१८ ले पराजित गरी उपाधि जित्नुभएको छ । अण्डर टुभेल ब्वाइजअन्तर्गतको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबका रिजन मगरले त्रिभुवन आर्मी क्लबकै सुदेश राजकोटीलाई २४-२२, २१-१८ ले पराजित गरी उपाधि जित्नुभएको छ ।

यसैगरी मेन्स डबलतर्फ नेपाल एपिएफ क्लबका प्रिन्स दाहाल र विजित थापा मगरले नेपाल पुलिस क्लबका जीवन आचार्य र विष्णु कटुवाललाई २१-१८, २१-१३ ले पराजित गरी उपाधि जित्न सफल हुनुभएको छ । वुमेन्स डबलतर्फको खेलमा त्रिभुवन आर्मी क्लबका रशिला महर्जन र अनुमाया राईले नेपाल एपिएफ क्लबका जेशिका गुरुङ र सुनैना मुखियालाई २१-१६, २१-१२ ले पराजित गरी उपाधि जित्न सफल हुनुभयो ।

मिक्स डबलतर्फ नेपाल एपिएफ क्लबका प्रिन्स दाहाल र जेसिका गुरुङले नेपाल एपिएफ क्लबकै विजित थापा मगर र शोभा गौचनलाई २३-२१, २२-२० ले पराजित गरी फाइनल खेल जित्न सफल हुनुभयो ।

यसैगरी ५५ वर्षमाथिका भेट्रान्सतर्फ चितवनका बुद्धि चौधरी र धादिङका विष्णुलाल श्रेष्ठले बैतडीका पूर्णचन्द्र जोशी र कीर्तिपुरका राजु महर्जनलाई २३-२१, २२-२० ले पराजित गरी उपाधि जित्नुभएको छ भने ४५ वर्षमाथिका भेट्रान्सतर्फका खेलमा नेपाल एपिएफ क्लबका सञ्जय कपाली र अनिल थाम्सुङ्ले कास्की पोखराका विशाल हिराचन र शम्भुकुमार श्रेष्ठलाई २१-१३, २२-२० ले पराजित गरी उपाधि जित्नुभएको छ ।

इन्टर गभरमेन्ट सर्भिस (सिनियर अधिकृत) तर्फको खेलमा नेपाल टेलिकमका शोभाखर भण्डारी र हरिकृष्ण शर्माले नेपाल एपिएफ क्लबका धिरेन्द्र चन्द र सुधिर सुवेदीलाई २२-२०, २१-१२ ले पराजित गरी उपाधि जित्नुभयो ।

नेपाल एपिएफ क्लबको आयोजनामा उक्त प्रतियोगिता सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपिएफ क्लबको कभर्डहलमा जेठ २१ गतेदेखि सञ्चालन भएको हो ।

कुल पुरस्कार राशि आठ लाख ६५ हजार रुपैयाँ रहेको थियो । प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, १२ वर्षमुनिका केटा, १९ वर्षमुनिका केटा, भेट्रान्स युगल ४५/५५ वर्ष, मिक्स डबल्स र इन्टर गभरमेन्ट सर्भिस (सिनियर अधिकृत) लगायत गरी १० वटा इभेन्ट्सहरू समावेश गरिएको थियो ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले ब्याडमिन्टन प्रतियोगिताले संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठको स्मरण गर्नुका साथै खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेल्ने महत्वपूर्ण अवसरसमेत प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?