५६ लाख सेयर लगानीकर्ताका पक्षमा काम गर्न निर्देशन

Read Time = 4 mins

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवका अवसरमा उहाँले भन्नुभयो, ‘सेयर बजारमा आममानिसको लगानी र आयआर्जनको माध्यमका रूपमा ठूलो आकर्षण छ । त्यसकारण बोर्डको जिम्मेवारी र दायित्व बढेको छ । ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु यसको दायित्व र जिम्मेवारी हो । यो जिम्मेवारीलाई उच्च महत्व दिएर धितोपत्र बोर्डले काम गर्नेछ ।’

बोर्डले नियमन कार्यलाई महत्वसाथ निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउँदै डा. महतले सेयर बजारलाई अझै स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । अर्थमन्त्री महतले भन्नुभयो, ‘आगामी आर्थिक वर्षको आय-व्यय प्रस्तुत गर्दा सेयर बजारको विषयमा जे कुरा त्यहाँ उल्लेख भयो, यसको उद्देश्य आमलगानीकर्ताहरूलाई आय करको दायरामा ल्याउने हुँदै होइन, सम्पूर्ण ५६ लाख लगानीकर्ता आय करको दायरामा आउने भए भनेर सेयर बजारमा जुन हल्ला चल्यो, त्यो गलत हो ।’

सेयर बजारले निश्चित व्यक्तिलाई फाइदा पुर्‍याउने माध्यमका रूपमा धितोपत्र बोर्ड बन्न नहुने पनि उहाँले बताउनुभयो । मन्त्री महतले भन्नुभयो, ‘सेयर बजारमा लगानी गर्दा बढी फाइदा हुन्छ कि भनेर अथवा भोलि केही होला कि भनेर जसले गाँस काटेर लगानी गरेका छन्, उनीहरूको सुरक्षा गर्ने सबैभन्दा ठूलो जिम्मेवारी बोर्डको हो । सेयर बजारलाई प्रतिस्पर्धात्मक बनाएर लैजानुपर्छ । कमोडिटी बजारलाई पनि सेयर बजारमा प्रवेश गराउने चर्चा चलिरहेको छ ।’

बोर्डलाई अटोमेटेट सिस्टममा लैजाने, हरेक क्रियाकलापलाई कागजरहित बनाएर लैजाने, कसैले अनपेक्षित फाइदा लिन नपाउने सुनिश्चितता गर्नेलगायतका कुरामा बोर्डले उच्च सतर्कता अपाउनुपर्नेमा उहाँको जोड थियो ।

‘सेयर बजारलाई स्वस्थ र लगानीकर्ताको लगानी सुरक्षित गर्नका लागि राष्ट्र बैंकले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ । अर्थ मन्त्रालयबाट कहीँकतै दुविधा नरहोस्, कसैले भ्रम सिर्जना गर्ने प्रयास नगरून् । सेयर बजारलाई कमजोर बनाउने, यसप्रतिको विश्वासलाई कम गराउने काम हामीबाट हुँदैन तर सीमित व्यक्तिहरूले मात्रै फाइदा उठाउने, नामचाहिँ ५६ लाख लगानीकर्ताको लिने परम्पराको अन्त्य हुनुपर्छ,’ मन्त्री डा. महतको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?