लुम्बिनी केबलकार उद्घाटन

Read Time = 9 mins

रूपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहालले विकासका मोडलमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताउनुभयो । हालसम्मका योजनाबद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैंगिक समानता, समावेशिताजस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए पनि उत्पादन र रोजगारीको क्षेत्रमा राम्रो प्रगति नरहेको भन्दै उहाँले विकासका मोडलमा परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको हो । बिहीबार लुम्बिनी केबलकार उद्घाटन गर्दै उहाँले कोरोना महामारीबाट भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति नै गर्नुपर्ने बताउनुभयो । देशको अर्थतन्त्र अप्ठ्यारोमा रहेका बेला निजी क्षेत्रतर्फबाट पर्यटकीय पूर्वाधार निर्माण भएबाट मुलुकमा आर्थिक क्रियाकलाप थप चलायमान भएको र सकारात्मक सन्देश गएको उहाँको भनाइ थियो ।

रूपन्देही र पाल्पा जोड्ने गरी निर्माण भएको केबलकारको पर्यटकीय पूर्वाधारले स्थानीयस्तरमा मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो योगदान पुग्ने प्रधानमन्त्रीले बताउनुभयो । नेपालमा आउने विदेशी पर्यटकका लागि यस्ता पर्यटकीय संरचनाले सहयोग पुग्ने र यसबाट उनीहरूको नेपाल बसाइ पनि लम्ब्याउन सकिने उहाँले बताउनुभयो । पर्यावरणीय महत्व कायमै राखेर स्थानीय नागरिकको पनि साझेदारीमा काम गर्न र उनीहरूको जीवनस्तर उकास्ने खालका काम गर्न उहाँले सुझावसमेत दिनुभयो ।

वर्तमान सरकारले देश विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्यसाथ अघि बढ्ने नीति लिएको र देशमा लगानीका सम्भावना हरसमय खुला राख्ने पक्षमा रहेको प्रधानमन्त्रीले बताउनुभयो । पर्यटन क्षेत्रको बहुआयामिक विकासका लागि भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, होटललगायत पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवं पर्यटकको बसाइ लम्ब्याउन आवश्यक पर्ने नीति अवलम्बन गरिने उहाँले बताउनुभयो । देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न आन्तरिक उत्पादन र नवप्रवर्तन क्षेत्रमा लगानी केन्द्रित गरी अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग-व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबार सुचारू गर्ने निर्णय गरिसकिएको उहाँको भनाइ थियो ।

पछिल्लो समय आर्थिक प्रणालीमा व्यावसायिक चक्रभन्दा सम्पत्तिको मूल्यवृद्धि चक्र हावी हुनु दुःखद रहेको भन्दै कृषि, म्यानुफेक्चरिङ, उद्योग एवं वास्तविक सेवा क्षेत्रको वृद्धिदर उच्च बनाएमात्र वित्तीय क्षेत्र बलियो र स्थिर हुने प्रधानमन्त्रीले बताउनुभयो । उच्च मुद्रास्फीति र अस्थिर ब्याजदरले राज्य एवं सामान्य नागरिकको बजेट प्रणाली, ज्याला, उद्योगको विकास र आमजनसमुदायको जीवनस्तरमा नकारात्मक प्रभाव पार्ने भएकाले यसमा सरकारले उपर्युक्त कदम चाल्ने पनि उहाँले बताउनुभयो ।

पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले महत्वपूर्ण संरचना निर्माण गरेर पूरा भएको भन्दै यसबाट पर्यटन विकासमा टेवा मिल्ने बताउनुभयो । पाल्पा र रूपन्देही जोड्ने काम केबलकारले गरेको उहाँको भनाइ थियो । कामाख्यादेवी मन्दिरको विशाल, आकर्षक, धार्मिक आस्थाको थप गरिमा बढेको उहाँले बताउनुभयो । अन्यत्र कहीँ पनि निर्माण गर्न नसकिने बुद्ध जन्मस्थल र यससँगै जोडिएका धेरै संरचना प्रदेशमा रहेका भन्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो ऐतिहासिक सम्पदा, सामाजिक सांस्कृतिक सम्पदा प्रचारप्रसार गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । गौतम बुद्घ अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल-नारायणगढ सडक विस्तारजस्ता परियोजनालाई निरन्तरता दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले संकटग्रस्त अहिलेको अवस्थामा लुम्बिनी केबलकारले महामारीबाट लडेको देशको अर्थतन्त्रको धुलो टकटक्याउँदै उठेर तंग्रिन खोजेको सन्देश दिएको बताउनुभयो । चीन र भारतमा झण्डै पौने तीन अर्ब जनसंख्या रहेकाले दुवै देशका हिन्दू र बौद्ध धर्मावलम्बीलाई मनन् गरेर पर्यटन नीति बनाएमा पर्यटक र समृद्धि खोज्न धेरैतिर भौँतारिनुनपर्ने उहाँको भनाइ थियो ।
रूपन्देही र पाल्पा जिल्ला जोड्ने पर्यटकीय पूर्वाधारले रूपन्देही, पाल्पा, नवलपरासी र कपिलवस्तु जिल्ला र समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रूपान्तरणमा टेवा पुर्‍याउने ढकालले बताउनुभयो । केबलकार टिकटको आम्दानीको दुर्ई प्रतिशत रकम बुटवल र तिनाउ दुर्ई पालिकाको विकासमा लगाइने उहाँले जानकारी गराउनुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले निजी क्षेत्रबाट गरिने सबैजसो लगानीमा प्रदेश सरकारले स्वागत गर्ने बताउनुभयो । संघीयतालाई केन्द्रको युनिटका रूपमा नहेर्न सुझाव दिँदै उहाँले संविधानले तोकेका अधिकार प्रदेशलाई विकेन्द्रीकरण गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । प्रहरी नभएको सरकारको कुनै औचित्य नरहेको भन्दै उहाँले आवश्यक नीतिमा रहेर अधिकार दिन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

लुम्बिनी प्रदेशका प्रदेशप्रमुख अमिक शेरचनले यहाँका पर्यटकीय क्षेत्रमा केबलकार सञ्चालनसँगै थप पर्यटकलाई सुविधा हुने बताउनुभयो । १४ महिनामा ठूलो आयोजना सम्पन्न गरी देशमा विकास गर्न सकिने सम्भावनालाई उजागर गरेको भन्दै उहाँले निजी क्षेत्रबाट छिटो काम हुने तर सरकारी विकासका काम तोकिएको समयमा नहुने समस्यालाई तोड्ने गरी अघि बढ्न सुझाव दिनुभयो ।

भारत उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले भारतीय पर्यटक भुलाउने सम्भावना देखिएको बताउनुभयो । नेपाल साहसिक, धार्मिक र पर्यटकीयस्थलमा बाहृय पर्यटक ल्याउन र रमणीय स्थलमा घुमाउने थलो रहेको उहाँको भनाइ थियो । लुम्बिनीसँगै नयाँ गन्तव्यका कारण नेपाल र भारतबीच जनस्तरमा थप भावनात्मक सम्बन्ध स्थापित हुने पनि पालले बताउनुभयो । कार्यक्रममा संघीय सांसद ठाकुर गैरे, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठलगायतले पनि बोलेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?