‘अखण्ड भारत’को नक्साले नेपालमा तरंग

सदनदेखि सडकसम्म विरोध, सरकार मौन

डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । भारतले नयाँ संसद् भवनमा राखेको ‘अखण्ड भारत’को नक्साले नेपालमा तरंग ल्याएको छ । तरंगको मुख्य कारण हो, नक्सामा समेटिएका नेपाली भूमि लुम्बिनी र कपिलवस्तु । त्यस्तै, नक्सामा विराटनगरसमेत देखाइएको छ । त्यसलाई लिएर नेपालमा व्यापक चर्चा र विवाद भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको पूर्णसन्ध्यामा नक्सा आएकाले पनि यसले अधिक चासो पाएको हो । धेरैले प्रधानमन्त्रीको भारत भ्रमणमा यसबारे कुरा हुनुपर्ने बताएका थिए । तर, प्रधानमन्त्री प्रचण्डले यसबारे भ्रमणमा चर्चा गर्नुभएन । यद्यपि, उहाँले सामान्य कुरा भएको बताउँदै आउनुभएको छ ।

अधिकांशले भारतले राखेको उक्त नक्साको विरोध गरेका छन् । प्रमुख राजनीतिक दलहरूमध्ये प्रतिपक्षीले विरोध गरेका छन् । उनीहरूले सदनदेखि सडकसम्म यसविरुद्ध आवाज उठाउन थालेका छन् । सडकमा विरोध प्रदर्शनसमेत भइरहेको छ । उनीहरूका भ्रातृ संगठन अधिकांश विरोधमा उत्रिएका छन् । विपक्षीहरू विरोधमा उत्रिरहँदा सत्ता पक्ष मौनजस्तै छ । उनीहरूले यसबारे खुलेर बोल्न सकेका छैनन् । तर, सत्तापक्षकै कतिपय नेताहरू भने यसविरुद्ध बोल्न थालेका छन् ।

उसो त भारतले राखेको उक्त नक्सामा नेपाली भूमि मात्रै समेटिएको छैन । पाकिस्तान र बंगलादेशका भूमिसमेत राखिएको छ । तर, नेपालजस्तै उनीहरू मौन भने छैनन् । बंगलादेशले जवाफ मागेको छ । बंगलादेश सरकारले दिल्लीस्थित आफ्नो दूतावासलाई भारतको विदेश मन्त्रालयसँग अखण्ड भारतको विषयमा राखिएको नयाँ नक्साको विषयमा सम्पर्क गर्न निर्देशन दिइसकेको हो ।

यस्तै, पाकिस्तानले पनि नक्साप्रति आपत्ति जनाएको छ । पाकिस्तानले यसलाई भारतको ‘अधिपत्यवादी र विस्तारवादी महत्वाकांक्षा’ र ‘संशोधनवादी र विस्तारवादी मानसिकताको अभिव्यक्ति’ भनेको छ ।

अखण्ड भारतको नक्साविरुद्ध बंगलादेशले जवाफ माग र पाकिस्तानले आपत्ति जनाए पनि नेपाल भने अहिलेसम्म मौन छ । नेपालले यसबारे आधिकारिक रूपमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । बरु भारत भ्रमणकै क्रममा परराष्ट्र मन्त्री एनपी साउदले यसबारे जानकारी नै नभएको प्रतिक्रिया दिनुभएको थियो । साउदले भारतले नयाँ संसद् भवनमा राखेको अखण्ड भारतको भित्तेचित्रबारे सरकारलाई जानकारी नभएको बताउनुभएको थियो । यसबारे जनस्तरमा व्यापक विरोध भएको छ । सदनमा समेत चर्को कुरा उठेको ‘अखण्ड भारत’ को नक्साबारे सरकारले भने मुख खोलेको छैन ।

यो राजनीतिक नक्सा होइन : भारतीय विदेशमन्त्री
भारतीय विदेशमन्त्री एस जयशंकरले देशको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सा राजनीतिक विषय नभएको बताउनुभएको छ । छिमेकी देश नेपालले भारतको वर्णन बुझिसकेको तर, अर्को देश पाकिस्तानले बुझ्ने हैसियत नराख्ने उहाँले टिप्पणी गर्नुभएको छ । नेपाल र बंगलादेशमा अखण्ड भारतको नक्साप्रति भइरहेको विरोधका विषयमा पत्रकारले सोधेको प्रश्नमा जयशंकरले यस्तो टिप्पणी गर्नुभएको हो । ‘मन्त्रालयका प्रवक्ताले यो नक्साले अशोका साम्राज्यको विस्तारलाई झल्काउँछ भनेर वर्णन गरिसक्नु भएको छ’, उहाँले भन्नुभयो । नेपाल र पाकिस्तानका लागि एउटै वर्णन हो ? भन्ने पत्रकारको थप प्रश्नमा उहाँले भन्नुभयो, ‘मलाई लाग्दैन कि यो राजनीतिक मुद्दा हो । मित्र राष्ट्रहरूले बुझिसके । पाकिस्तानले यसलाई बुझ्ने ल्याकत राख्दैन ।’ उहाँले भन्नुभयो, ‘हाम्रा मित्रवत छिमेकीहरूले यसलाई बुझ्नेछन् । मलाई भनिएको छ कि हाम्रो वर्णनलाई उनीहरूले सह्राना गरे । पाकिस्तानको कुरा बिर्सिदिऊँ । पाकिस्तानले बुझ्ने मेरो अपेक्षा छैन र पाकिस्तानमा पनि कुनै आशा छैन ।’

नेपालसँग पनि ‘ग्रेटर नेपाल’को नक्सा जारी गर्ने हक छ : थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि ‘ग्रेटर नेपाल’ को नक्सा निकाल्न सक्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा बिहीबार पत्रकारसँगको छोटो कुराकानीका क्रममा महामन्त्री थापाले कुनै देशले सांस्कृतिक नक्सा बनाएर अघि बढ्दा नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउन सक्ने बताउनुभयो । ‘यदि कुनै देशले सांस्कृतिक नक्सा बनाएर अघि बढाउँदा, नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउने, यसबारे चिन्तन गर्ने, सोच राख्ने हक राख्छ,’ उहाँले भन्नुभयो, ‘नेपालले हक र परिकल्पना प्रयोग गर्दै गर्दा भारतले चिन्ता गर्नु हुँदैन । भारतले सहजतापूर्वक ग्रहण गर्नुपर्छ ।’ उहाँले लिम्पियाधुरा, लिपुलेक नेपालकै भूमि भएको भन्दै यसमा कसैको अधिकार रहेको बताउनुभयो । यसका निम्ति अरू कुनै कुरा, विकल्पबारे नेपालले सोच्न नहुने थापाको भनाइ थियो ।

काठमाडौंका मेयर बालेनको कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुभएको छ । भारतले आफ्नो नयाँ संसद् भवनमा नेपालका भू–भागसमेत समावेश ‘अखण्ड भारत’को नक्सा राखेका बेला साहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुभएको हो । मेयर साह भारतमा रहेको बेला मेयरको कार्यकक्षमा बिहीबार नयाँ नक्सा राखिएको हो । उहाँले भारत जानुअघि नै नक्सा राख्न निर्देशन दिनुभएको थियो । कुनै समय नेपालको भूभाग पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म फैलिएको थियो ।

धरानमा पनि ग्रेटर नेपालको नक्सा राखिनेछ : मेयर साम्पाङ
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि आफ्नो कार्यकक्षमा यसको सिको गर्ने बताउनुभएको छ । मेयर साम्पाङले एक ट्वीट गर्दै आफ्नो कार्यकक्षमा पनि ग्रेटर नेपालको नक्सा राख्ने जानकारी गराउनुभएको हो । साम्पाङले लेख्नुभएको छ, बालेनज्यूले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुभएछ । अब धरानमा पनि ग्रेटर नेपालको नक्सा राखिनेछ ।’ नेपाल कुनै समय पूर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीसम्म फैलिएको थियो । ब्रिटिस भारतसँग सुगौली सन्धिका क्रममा नेपालले ती भूमि गुमाएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?