भ्रष्टाचार निवारणमा चिनियाँ अनुभव

Read Time = 26 mins

✍️ नारायणबहादुर गुरुङ
संघाई, चीन

नेपालमा अहिले नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डबारे छ्याप्छ्याप्ती चर्चा भइरहेको छ । हाम्रोमा भ्रष्टाचारी काण्ड सामान्य जस्तो भइरहेकै थियो । तर, अहिलेको काण्डले अन्तर्राष्ट्रिय जगत्मा नेपालीको शिरमात्रै निहुर्‍याएन नेपालीहरूको विश्वासनीयता र इमानदारीतामाथि नै प्रश्न उठेको छ । भ्रष्टाचार नेपालमा मात्र होइन विश्वमा विभिन्न समाज र देशहरूमा पनि हुने गर्दछ । कुरा के भने कुन समाज, कुन देश के कति भ्रष्ट छ र भ्रष्टाचार रोक्थामका लागि के गरिराखेका छन् र कसरी गरिराखेका छन् अनि कतिको प्रभावकारी छ भन्ने कुराले महत्वपूर्ण अर्थ राख्दछ ।

अहिले भ्रष्टाचारको चर्चा चलिरहँदा मैले संक्षिप्तमा हाम्रो उत्तरतर्फका छिमेकी देश चीनले कसरी भ्रष्टाचारीलाई कारबाही गरेर भ्रष्टाचार रोक्थाम गरेको छ भन्ने बारे सानो चर्चा गर्ने कोसिस गरेको छु । उनीहरूको भ्रष्टाचार निवारण अनुभवबाट हामीले पनि केही सिक्न सक्छौं कि भनेर यो लेख लेखेको छु ।

चिनियाँ सभ्यता संसारका प्रमुख सभ्याताहरूमध्ये एक प्रसिद्ध सभ्यता हो । पाँच हजार वर्षदेखिको अबिरल इतिहास बोकेको चीनको लिखित इतिहास नै दुई हजार वर्ष पुरानो छ । चिनियाँहरूको इतिहास लेख्ने परम्परा हाम्रो दक्षिण एशियाको भन्दा भिन्न छ । समय, स्थान, घटना विवरण वास्ताविकताको निकट हुनेभएकाले अहिलेसम्म कुनै समस्याको समाधनका लागि इतिहासका पाना पल्टाउने गर्छन् चिनियाँहरू । उनीहरूको लेखन कतिको तथ्यपरक छ भनेर उदाहारणको रूपमा सातौं शताब्दीमा बौद्ध दर्शन अध्ययन गर्न आउने बौद्ध यात्री हृवेन साङ लिखित यात्रा विवरणलाई लिन सकिन्छ । त्यस यात्रा विवरणको आधारमै उत्खनन् गरेर नेपालका गौरव सिद्धार्थ गौतमसँग सम्बन्धित स्थानहरू र प्राचीन भारतीय उपमहाद्वीप बारे जानाकारी पाउन सकेका हौं ।

माक्र्स र लेनिनले प्रतिपादन गरेको सिद्धान्तभन्दा फरक चीनको वास्तविक परिस्थिति सुहाउँदो क्रान्तिका लागि माओले ‘गाउँबाट शहर घेर्ने’ नीति लिएर गाउँबाट आफ्नो क्रान्तिकारी कार्यक्रम अगाडि बढाए । उनीहरू गाउँकेन्द्रित थिए भने शहरी इलाकामा भूमिगत थिए ।

इतिहास अनुसार चीनको अन्तिम राजवंश छिङ भ्रष्टाचारका कारणले जरजर भयो, कमजोर भयो र बेलायतसँगै अरू सातवटा देशले हालीमुहाली गरे । यो करिब १५० वर्षजतिको समयलाई चिनियाँहरूको महाशर्मानाक अवधि भन्ने गर्छन् । १९११ मा प्रजातन्त्रिक नेता डाक्टर सुन टुङ सानको नेतृत्वमा छिङ राजवंशको पतन भयो र चीन गणतन्त्र भयो । गणतन्त्र स्थापना भए पनि विदेशीहरूको हालीमुहाली र आन्तरिक युद्ध रोकिएन । भ्रष्टाचार झनै मौलायो । १९४५मा दोस्रो विश्वयुद्धमा चीन- जापानसँगको युद्धमा विजय भयो ।

त्यसलगत्तै च्याङकाई सेक च्याङ चे सरले नेतृत्व गरेको कोमिङताङ पार्टी र माओ च तुङले नेतृत्व गरेको कम्युनिष्ट पार्टीबीच दोस्रो गृहयुद्ध भयो । अमेरिकाको सैनिक सहयोग, अत्याधुनिक हात हतियारबाट सुसज्जित विशाल सेना र राष्ट्रको सम्पूर्ण ढुकुटी हातमा भएर पनि माओका जनमुक्ति सेनाबाट पराजित भयो । १९४९ अक्टोबर १ मा माओले थेन आन मेन गेटमाथिबाट चिनियाँ जनताहरू हामी उभियौं भनेर जनवादी गणतन्त्र स्थापना भएको घोषणा गरे । उता चीनको मुख्य भूमिबाट पराजित भएर च्याङ केही वर्षअघि जापानको उपनिवेशबाट मुक्त भएको दक्षिण चीन सागरस्थित चिनियाँ प्रान्त थाइवान टापुमा भएभरको राष्ट्रिय ढुकुटी बोकेर पलायन भए । माओको विजयमा कोमिङताङ पार्टीभित्र भएको चरम भ्रष्टाचार एउटा कारण हो भनिन्छ ।

माक्र्स र लेनिनले प्रतिपादन गरेको सिद्धान्तभन्दा फरक चीनको वास्तविक परिस्थिति सुहाउँदो क्रान्तिका लागि माओले ‘गाउँबाट शहर घेर्ने’ नीति लिएर गाउँबाट आफ्नो क्रान्तिकारी कार्यक्रम अगाडि बढाए । उनीहरू गाउँ केन्द्रित थिए भने शहरी इलाकामा भूमिगत थिए । बहुसंख्यक कार्यकर्ता, नेता, जनमुक्ति सेनाका सिपाहीदेखि कमाण्डर गाउँमै सर्वसाधरण जस्तै जीवनशैली अपनाउन माओले जोड दिने गरेका थिए । पार्टी र सेनाभित्र भ्रष्टाचार हुन नदिन माओ सदा सचेत रहे र सचेत गरिरहे । दोषीहरू भेटिएमा जतिकै ठूलो पद र जतिकै ठूलो योगदान भए पनि कठोर कारबाही गर्न पछि परेनन् ।

फलस्वरूप कार्यकर्ता, नेता भ्रष्ट हुन पाएनन र अन्त्यमा राज्य शक्ति नै कम्युनिष्ट पार्टीको हातमा पारे । यस्तो कारबाहीलाई सांकेतिक रूपमा प्रष्टाउने एउटा चिनियाँ उखान छ ‘कुखुरा मारेर बाँदर तर्साउने’ अर्थात् केहीलाई कारबाही गरेर अधिकांशलाई सतर्क गराउने गर्थे । शहरी क्षेत्रभन्दा बाहिर युद्ध गरिराखेका नेता कार्यकर्ता, जनमुक्ति सेनाका सिपाही कमाण्डरहरू शहर प्रवेश गरेपछि जितको अहंकारले जथाभावी गर्लान् प्रलोभनमा परेर भ्रष्ट होलान् भनेर त्यसो नगर्न सचेत गराउने र प्रशिक्षण दिने गरिरहे । त्यसको फल पूर्वको पेरिस भनेर कहलिएको तत्कालीन संघाई शहरलाई कब्जा गर्दा देखियो । कम्युनिष्ट सेनाले कब्जा गर्‍यो अब के हुने हो भनेर अतालिएका जनता त्यतिबेला चकित भए जब बिहान उठ्दा जन्मुक्ति सेनाका सिपाहीहरू लहरै सडकमा सुतिरहेका देखे ।

कम्युनिष्ट पार्टीले चीनमा शासन गरेका बेला १९५२ मा सारा देशलाई नै हल्लाउने एउटा ठूलो भ्रष्टाचारको काण्ड उदांगियो । अब हामीले जितेका हौं हाम्रो पालो आयो जे गर्दा पनि हुन्छ भन्ने मनस्थिति केही नेता कार्यकर्तामा विकसित भयो । त्यसभन्दा पहिलेका परिवर्तनहरूमा विजेताहरूले त्यस्तै गर्ने इतिहास थियो । त्यो इतिहास नदोहोरियोस् भन्ने कुरामा माओ सचेत थिए र भनेका थिए हामी उनीहरूभन्दा भिन्न गरिब निमुखाको भलाइका निमित्त क्रान्ति गरेका हौं न कि उनीहरूमाथि राज गर्न । ‘जनताको सेवा गर’ (वेइ रेनमिन फुव) भन्ने त निर्देशन थियो कार्यकर्तालाई ।

पार्टी तथा सरकारको महत्वपूर्ण उच्च पदमा भएका दुईजना व्यक्तिहरूबाट ठूलो धनराशी हिनामिना भएको रहेछ । उनीहरूको ठूलो योगदान पनि भएकाले माफी दिनुपर्ने, कम दण्ड दिनुपर्ने कुरा भइरहेका बेलामा यो कुरा माओ कहाँ पुगेछ । उनले झन् त्यस्तो व्यक्तिहरूलाई कठोर कारबाही गरिनुपर्छ जसले गर्दा भविष्यमा अरू कसैले भ्रष्टाचार गर्ने साहस गर्ने छैनन् र जनताको मनमा कम्युनिष्ट पार्टीप्रति सद्भावना बढ्नेछ, विश्वास बढ्नेछ । तिनीहरूलाई मृत्युदण्ड दिइयो । उनले पार्टीको मान्छे, योगदान भएको मान्छे भनेर ढाकछोप गरेनन् दोषीलाई उन्मुक्ति दिने काम गरेनन् । त्यसपछि उनको जीवनकालमा भ्रष्टाचार हुन पाएन ।

माओले भ्रष्टाचारविरुद्ध भ्रष्टहरूलाई कडा कारबाहीमात्र गरेनन् त्यसको मूलछेदनको काम गरे । शक्तिमा पुगेपछि परिवारवाद, नातावाद, कृपावादका कारण भ्रष्टाचारमा मुछिएका हामीले नेपालमा देखिरहेकै हौं । सदियौंदेखि चलिआएको यो भ्रष्ट परम्परालाई अन्त्य गर्न कटिबद्ध थिए । आफ्नै छोराछोरी नातागोतालाई र अरू नेताहरूको सन्तानलाई पनि बाबुआमाको शक्तिको दुरापयोग नगर्ने शिक्षा दिन्थे र कडाइका साथ पालना पनि गराउँथे । त्यसैले त्यो प्रथम पुस्ताका नेताहरूको छवि स्वच्छ थियो । सांस्कृतिक क्रान्तिताका शहरिया हाइस्कुले छात्रछात्रालाई दूरदराजको विपन्न गाउँमा उनीहरूलाई सहयोग गर्न र गरिब किसानबाट शिक्षा लिन पठाउने चलन थियो ।

त्यसमा केन्द्रीय नेताका सन्तान पनि जानुपथ्र्यो सर्वसाधरण नागरिकका छोराछोरीसरह । हालका चीनका राष्ट्रपति सि चीन फिङ १६ वर्षको उमेरमा एकदम दुर्गम विपन्न गाउँमा पठाइएका थिए । त्यहाँ उनले गरिब किसानसँगै सात वर्ष बिताए । जबकि उनका बुबा माओसँग क्रान्तिमा होमिएका क्रान्तिकारी नेता र उपप्रधानमन्त्री थिए । नेताका सन्तान भनेर विशेषाधिकार दिने चलन रोकेका थिए । यो परिपाटी सबैलाई देशको नियम कानुन समान रूपले लगाउने उदाहरण हो ।

माओपछि तङ श्याओ फिङको पालामा र उनीपछि के भयो होला बारे भन्ने खुल्दुली हुनसक्छ । म अब त्यतापट्टि लाग्दैछु । १९७६ सेप्टेम्बरमा माओको देहान्त भयो । सांस्कृतिक क्रान्तिमा ज्यादती गरेका उग्रवादी चारजना नेताहरूलाई माओका उत्तराधिकारी पार्टी अध्यक्ष, प्रधानमन्त्री तथा सैनिक कमिसनका अध्यक्षसमेत रहेका हृवा क्वोफ्ङले अरू केन्द्रीय नेताहरूसँग मिलेर बन्दी बनाएर उनीहरूमाथि कारबाही चलायो । यसरी पक्राउ पर्ने चारजनामध्ये माओकी पत्नी पनि थिइन् ।

पार्टी र सरकारबाट पाखा लगाइएका पुराना नेता तङ फेरि साविकको पदमा फिर्ता आउने बाटो खुल्यो । उनी पार्टीका उपाध्यक्ष, उपप्रधानमन्त्री र सैनिक कमिसनका उपाध्यक्षमा पुनर्बहाली भए । दोस्रो बरियता भए पनि उनी नै सबैभन्दा शक्तिशाली भए । उनले प्रतिपादन गरेको सुधार र खुला नीति पार्टीको नयाँ कार्यदिशा बन्यो । औपचारिक रूपमा पछि सैनिक कमिसनको अध्यक्ष भए र नयाँ महासचिव तथा राष्ट्रपति नियुक्ति भएको दुई वर्षपछि त्यो पद हस्तान्तरण गरे ।

राजनीतिक, आर्थिक, सामजिक, सैनिक, विज्ञान प्रविधि, कूटनीतिक सम्बन्धमा सुधार गर्दै लगे । हामीजस्ता गरिब पिछिडिएका देशहरूभन्दा विकशित देशहरू अमेरिका, युरोप र जापानसँग कूटनीतिक, आर्थिक प्रविधिक, व्यापरिक सम्बन्धले प्राथमिकता पाउन थाल्यो । नयाँ राम्रो कुराहरू सँगसँगै विकृति भित्रिए । विकृतिबारे कट्टरपन्थीको चिन्तालाई झ्याल खोल्दा स्वच्छ हावा सँगसँगै केही कसिंगर पनि भित्रिन्छन् चिन्ता गर्नु पर्दैन भनेर थामथुम पारे । सुधार र खुला नीतिलाई खोला तर्दा ढुंगामा छामछुम गर्दै तरेजस्तै निरन्तर कमीकमजोरी हटाउँदै, आवश्यक नीति-नियममा संशोधन गर्दैगए ।

पार्टी र सरकारमा बस्नेहरूको अनुशासन खुकुलो हुन थाल्यो । परिवार वाद, नातावाद, कृपावाद, भ्रष्टाचार मौलाउन थाल्यो । महँगी र उच्च मुद्रास्फीतिले नागरिकहरूमा असन्तुष्टि बढ्दै थियो । १९८९ मा भएको विद्यार्थी आन्दोलनको सुरुवात त्यसैको विरुद्धमा भएको थियो । पछि आन्तरिक र बाहृय कारणले ठूलै रूप लियो । तङले आफैंले बनाएका महासचिव तथा प्रधानमन्त्रीलाई पदबाट हटाएर त्यो विद्रोह दबाउने काम गरे । उनको यो कदमबाट पश्चिमा शक्तिहरूले चीनमा तङलाई गोर्वाचोव बनाउने सपना तुहाइदियो ।

उनले गरेको त्यो कठोर कदमलाई चिनियाँहरू र पश्चिमाहरूको भनाइ फरक–फरक छन् तर म एउटा स्वतन्त्र विदेशी नागरिक अवलोकनकर्ताले निष्पक्ष रूपमा भन्नुपर्दा उनले जेगरे ठीकै गरे । नत्र यो मुलुक थुप्रै टुक्रामा विभाजित भएर आपसमा काटमार गरिरहन्थे । देशको नेतृत्व गर्न संघाईका मेयरपछि पार्टी सचिव च्याङ च मिनलाई पार्टीका केन्द्रीय महासचिव तथा राष्ट्रपतिमा ल्याए । विशेष अवस्थामा कठोर तथा सही कदम चाल्नसक्ने व्यक्ति साँचो रूपमा राजनेता हुने रहेछन् भन्ने कुरा माओ र तङमा देखियो । दुःखका साथ भन्नुपर्छ हामी कहाँ त्यस्ता नेता देखिएका छैनन् ।

पैचिङको शक्तिकेन्द्रबाट टाढा रहेका च्याङ देशका लागि अपरिचित थिए । राजनीतिक विश्लेषकहरूले उनी धेरै नटिक्ने भविष्यवाणी गरेको बाबजुद उनले सफलतापूर्वक आफ्नो १० वर्षे कार्यकाल पूरा गरेर शान्तिपूर्वक चौथो पुस्ताका नेता हु चीन थाओलाई सैनिक कमिसनको अध्यक्षबाहेक केन्द्रीय महसचिव र राष्ट्रपतिको पद हस्तानतरण गरे । उनका पालामा चीनले साँचो अर्थमा आधुनिक युगमा प्रवेश ग¥यो । कूटनीतिमा हामीजस्ता गरिब पिछडिएका देशहरू पुनः उनीहरूको आँखामा परे । विद्यार्थी आन्दोलनदेखि खल्बलिएको विकसित देशहरूको सम्बन्ध सुधार भयो । भ्रष्टाचार बढिरहेकै थियो । तंगले सेनालाई बन्द व्यापार गर्ने छुट दिएका थिए ।

त्यसैले त्यहाँभित्र भ्रष्टाचार मौलिएको थियो । उनले भ्रष्टाचार रोक्ने कोसिस गरे पनि थामिएको थिएन । उनले भ्रष्टाचारीलाई गरेको चर्चित कारबाही चाहिँ चीनको संसद् केन्द्रीय जनकांग्रेसका उपाध्यक्षलाई मृत्युदण्ड दिएको हो । आफ्नो १० वर्षे कार्यकाल पूरा गरेको दुई वर्षपछि मात्रा आफ्नो उत्तराधिकारीलाई सैनिक शक्ति हस्तान्तरण गरे ।

चौथौ पुस्ताका नेता हु चीन थावोले आफ्नो १० वर्षे कार्यकाल सफल्तापूर्वक पूरा गरेर आफ्नो उत्तराधिकारी पाँचौं पुस्ताका नेता वर्तमान राष्ट्रपति सि चीन फिङलाई चिनियाँ राज्यको तीनवटै सर्वोच्च शक्ति एकै पटक हस्तानतरण गरे । यिनको पालामा चीनले धेरै विकास ग¥यो भने भ्रष्टाचार बढिरहृयो । नियन्त्रण गर्ने प्रयास सफल नभए पनि भ्रष्टाचार नियन्त्रण गर्न नसकिएमा चिनियाँ कम्युनिष्ट पार्टीको भविष्य नै खतरामा रहेको चेतावनी बारम्बार दिइरहे ।

वर्तमान राष्ट्रपतिले २०१२ सालमा पाँचौं पुस्ताका रूपमा कार्यभार सम्हाल्दा देशलाई पुनरजागणसहित जनताको जीवनस्तर बढाउने, गरिबी उन्मूलन गर्ने, भ्रष्टाचार निर्मूल गर्ने र देशलाई विकसित देशहरूको हाराहारीमा पु¥याउने प्रण गरेका थिए । बाघदेखि झिँगासम्मका जुनसुकै भ्रष्टाचारीलाई नछाड्ने कसम खाएका थिए । त्यसपछि हजारौं साना ठूला भ्रष्टाचारीहरू कारबाहीमा परे । कसैले छुन आँट नगरेको सेनाभित्रका ठूला भ्रष्टाचारीलाई कारबाही गरेर सेनालाई चुस्त र आधुनिकीकरण गरे । सैनिक कमिसनका दुईजना पूर्वउपाध्यक्ष जर्नेलहरू, पूर्वकमाण्डर इन चिफदेखि बहालवाला जर्नेल कर्नेल कोही छुटेनन् । उनीअघि पार्टी, सरकार र सेनाबाट निवृत भइसकेकालाई नछुने अलिखित समझदारीलाई उनले भत्काइदिए । उनको यो काम अत्यन्त प्रभावकारी रहृयो । सबै क्षेत्रमा आशतीत सफलतासँगै दोस्रो अर्थतन्त्रमात्र नभएर महाशक्ति बन्न सफल भएको छ ।

चीनको भ्रष्टाचार नियन्त्रणको इतिहास हेर्दा भ्रष्टाचारको मूल स्रोतलाई थुन्नु र दोषीलाई कडा कारबाही गरिनुपर्ने रहेछ । हामी कहाँ मौलाएको दण्डहीनताले भ्रष्टाचार झाँगिएको रहेछ भनेर प्रष्ट हुन आउँछ । जबसम्म यी दुई रहिरहन्छ भ्रष्टाचार नियन्त्रणको कल्पना पनि गर्न सकिँदैन ।

कसैमाथि भष्टचार गरेको उजुरी परेमा पार्टी सदस्यता र पदबाट निलम्बन गरेर छानविन गरिन्छ । छानविनमा दोषी पाइएमा सर्वप्रथम पार्टी सदस्यताबाट निष्काशन गरेर कानुनी कारबाही अगाडि बढाउने गर्छन् । त्यसपछि अदालतले कसुर हेरी निजको राजनीतिक अधिकार निश्चित कालका लागि खोसिने वा आजीवन खोसिने, व्यक्तिगत सम्पत्ति सर्वस्वहरण गरिने, निश्चितकालको कारावास वा आजीवान कारावास वा मृत्युदण्ड दिने फैसला गर्छ । आजकाल केही जघन्य अपराधमा बाहेक मृत्यु दण्डलाई आजीवन कारावासमा बदलने गरेको देखिन्छ ।

गत दश–बाह्र वर्षयता भ्रष्टाचारीलाई गरिएका थुप्रै कारबाहीमध्ये घतलाग्दो एउटा घटना यस्तो छ । चीनको अति उच्च गतिमा दौडिने चुच्चे रेलको बारेमा । अहिले यो रेल कुदने रेलमार्ग ४० हजार किलोमिटरभन्दा लामो बनिसकेको छ । यो लम्बाइ चीनबाहेक संसारभर उच्चगतिमा कुद्ने रेलमार्गको कुल लम्बाइभन्दा निकै बढी हो । सुन्दा आश्चर्य लाग्न सक्ला यो रेलको परिकल्पना गर्ने, साकार पर्ने व्यक्ति अहिले आजीवन राजनीतिक अधिकारबाट वञ्चित आजीवन कारावासको सजाय भोगिरहेका छन् । हुन त उनलाई मृत्युदण्डको फैसला भएको थियो पछि आजीवन कारावासमा फेरियो ।

चिनियाँ उच्चगति रेलको पिता मानिने लिउ टर च्युन सन् २००३ देखि २०११ सम्म रेल मन्त्रालयका मन्त्री थिए । यहाँका अधिकांश नेताहरू इन्जिनियर भएजस्तै यिनी पनि इन्जिनियर हुन् । यस अवधिभित्र रेल सेवामा अधुनिकीकरण गरे करिब सात हजार द्रुतगतिका रेलमार्ग थपे र त्यसमा गुड्ने रेल बनाउने प्रविधि विकासदेखि निर्माण गर्ने इको सिष्टम बनाए । लण्डनदेखि सिंगापुरसम्म रेलमार्ग जोड्ने अवधारण यिनैले प्रतिपाद सारे । त्यत्रो योगदान भएको मान्छे देशको कानुनबाट बच्न सकेनन् ।

उनले गरेको भ्रष्टाचारको पोल त्यसबेला खुल्यो जब एउटा उच्च द्रुतगतिको रेल दुर्घटनामा पर्‍यो । ४१ जना यात्रीले ज्यान गुमाए । यस दुर्घटनाले चिनियाँ उच्च गति रेलको गुणस्तरमा ठूलो प्रश्न खडा गरिदियो । सुरक्षित यात्रामा प्रश्न खडा गरिदियो । यो रेलको भविष्यमै शंका उब्जाइदियो । चीनको रेल मन्त्रालय आफैंमा एउटा राज्यसरह थियो । नीति नियम निर्माण गर्ने, रेल सञ्चालन गर्ने, रेल बनाउनेसँगै रेलसित सम्बन्धित सबै काम यसै मन्त्रालयअन्तर्गत थियो ।

सो काण्डपछि उनीसँगै थुप्रै मानिस दोषी पाइयो र दण्डित भए । रेल मन्त्रालय नै खारेज गरियो । यसले गर्दै आएको नीतिनियमको काम नयाँ स्थापना भएको सडक मन्त्रालयभित्र एउटा विभागमा खुम्चियो । त्यसबाहेक अरू नयाँ प्राधिकरणमा बाँडियो । त्यति ठूलो योगदान भएको रेलमन्त्रीलाई कारबाही गरेर उच्च द्रुतगति रेलको विकासमा अवरोध आएन बरू मौलायो । मौलाउनुमा चिनियाँहरूले दक्ष जनशक्ति उत्पादनमा जोडदिने र तिनीहरूको सदुपयोग गर्ने निति प्रमुख कारण हो । यो नीति अरू क्षेत्रमा उत्तिकै लाभदायक भएको छ ।

यसरी चीनको भ्रष्टाचार नियन्त्रणको इतिहास हेर्दा भ्रष्टाचारको मूल स्रोतलाई थुन्नु र दोषीहरूलाई कडा कारबाही गरिनुपर्ने रहेछ । हामी कहाँ मौलाएको परिवारवाद, नातावाद्, कृपावाद र दण्डहीनताले भ्रष्टाचार झाँगिएको रहेछ भनेर प्रष्ट हुन आउँछ । जबसम्म यी दुई रहिरहन्छ भ्रष्टाचार नियन्त्रणको कल्पना गर्न सकिँदैन । (गुरुङ इञ्जिनियर हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Dilip Acharya
Dilip Acharya
2023-06-13 3:07 pm

उत्तरको अनुभव अबलम्बन गरे यता पनि काम लाग्थ्यो। तर गर्ने कस्ले? । यत्तिको गर्न आँट हुनलाई गर्न खोज्ने स्वयं स्वच्छ हुनुपर्‍योय। ऐले को हालतमा नेपालमा त खै कोही देखिन्न ! 

रिलेटेड न्युज

छुटाउनुभयो कि ?